जनता टाइम्स

२७ आश्विन २०७७, मंगलवार १०:११

लुम्बिनी प्रदेश बिकाशका आधारहरु


दिल्ली भन्दा मुम्बई र वासिङ्टन डिसी भदा न्यूयोर्कको विकास आर्थिक गतिबिधीकै कारण भएको हो स्थानका कारण होइन भन्ने कहिले भुल्नु हुँदैन। आउनुहोस अब नामको नाममा न अलमलिएर ठाउँको विकासमा लागौँ। निश्चित क्षेत्रको होइन, समग्र प्रदेशको विकास तथा संवृद्धि तिर जागौँ। यो नै यस क्षेत्रका जनताको चाहना प्रदेशको आवश्यकता तथा जनमतको उचित सम्मान हुनेछ

विनोद पोखेल

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी राष्ट्रले मात्र होइन, विश्वले गौरव गर्ने नाम हो । आज हामी ५ नं प्रदेशबासी एउटा अंकको नामबाट पवित्र नाम ूलुम्बिनीू प्रदेशवासी भएका छौं । हामीले विगतमा एउटा अञ्चलको छ जिल्लामा सीमित रहेको नाम १२ वटा जिल्ला समेटेर बनेको सिङ्गो प्रदेशमा विस्तार गरेको कुरा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले यसअघि नै बताईसक्नु भएको छ। यो तथ्यलाई प्रदेशले मात्र होइन, सिङ्गो राष्ट्रले गौरव गरिरहेको हामीले महसुस गरिरहेका छौं।

त्यसैगरी लामो समय धैर्यता गरेर समस्त प्रदेशवासीको भावना तथा समष्टिगत रूपमा प्रदेशको भौगोलिक अवस्थाको वस्तुस्थिति अध्ययन गरी प्रदेशकै दिगो विकास र सन्तुलित विकासको अवधारणालाई आत्मसात गर्दै प्रदेशकै मध्य विन्दु तथा दाङ, अर्घाखाँची र कपिलवस्तु जिल्लाको संगम स्थल रहेको राप्ती गाउँपालिकालाई प्रदेश राजधानी चयन गरिनु उचित मात्र होइन, एउटा दूरदर्शी निर्णय हो भन्ने मैले ठानेको छु। यस्तो निर्णयमा संलग्न त्यस प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल, प्रदेश मन्त्रीपरिषद्, प्रदेशसभा सांसद सिङ्गो नेकपा पार्टी, यस प्रस्तावलाई समर्थन गर्ने अन्य दलका सांसद तथा संपूर्ण बुद्धिजिवि बधाईका पात्र हुनुहुन्छ।

कुनै पनि राष्ट्र वा त्यसका निकाय बाट गरिने राम्रा आकर्षक, दीर्घकालीन सोच अनुकुल जनहितकारी कानुन, नीति नियम निर्णय ले मात्र विकास हुन सक्दैन । त्यसको कार्यान्वयन पक्ष महत्त्वपूर्ण रहन्छ तर दूरदर्शी सोच र योजना बिना विकास सम्भव हुँदैन भन्ने सत्यलाई पनि भुल्नू हुँदैन। प्रदेशको नामले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा महत्त्व राख्ला, प्रदेशका जनताको भावनालाई प्रतिविम्बित गर्ला तर प्रदेशको राजधानीको निर्णयले विकासको आधार तय गरेको छ र एउटा जग निर्माण गरेकोछ। जबसम्म विकास तथा शासन सत्ताका पुर्वाधारहरु सहर केन्द्रित हुन्छन, परिणाममुखी भन्दा चुनावमुखी हुन्छन, वास्तविक दिगो विकास हुन सक्दैन । नयाँ नयाँ सहरहरूको परिकल्पना र त्यहाँको पूर्वाधारको विकास आजको आवश्यकता हो। यसै दृष्टिकोणलाई मध्यनजर राख्दै पाँच नं प्रदेशले आफ्नो प्रदेशको राजधानी प्रदेशकै मध्यविन्दु दाङको राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र जुन कपिलवस्तु र अर्धाखाँचीको संगम रहेको छ, लाई तोकेको छ। जहाँवाट प्युठान हुँदै रोल्पा र रुकुमसम्म पुग्न सकिन्छ भने मध्य पहाडी राजमार्गवाट गुल्मी अर्घाखाँचीलाई प्युठानहुँदै भालुवाङ बजारमा सहजै जोडन सकिन्छ । त्यसैगरी दाङ, बाँके र बर्दियाका जनतालाई पनि केही सहज देखिछ। साथै अहिले विकासको केन्द्रविन्दु रहेको भैरहवा, बुटवल बजारका नजिक रहेका पाल्पा, नवलपरासी, रुपन्देही आफैमा सुगम स्थानमा रहेका छन।

अहिलेको विषय प्रदेशको नाम र राजधानी बन्ला तर दिर्घकालिन रूपमा त्यस क्षेत्रको विकासका योजनाहरू के के छन ? कसरी कार्यान्वयन हुँदैछन भन्ने विषयले महत्त्व राख्ने देखिन्छ। लुम्बिनी प्रदेश राष्ट्रकै पर्यटकीय क्षेत्रको महत्त्वपूर्ण स्थान हो भने राष्ट्रकै औद्योगिक तथा आर्थिक विकासको आधारको रूपमा विकास हुँदै गइरहेको छ । समग्र प्रदेशको आर्थिक, पर्यटकीय, औद्योगिक, स्वास्थ्य, शिक्षा, कृषि सामाजिक तथा प्रशासनिक क्षेत्रमा भइरहेको विकास तथा नयाँ विकासका रणनितीहरुको योजना अनुसार अहिले बुटवल तथा सोको आसपासको क्षेत्रलाई प्रदेशको आर्थिक तथा पर्यटकीय राजधानी घोषणा गरी नयाँ प्रशासनिक राजधानी घोषणा गरिनु आफैमा अर्थपूर्ण निर्णय मानिन्छ।

प्रदेशको पश्चिमी क्षेत्र नेपालगन्ज औद्योगिक रूपमा विकास हुँदै गईरहेको छ भने देशकै पश्चिम क्षेत्रकै हबको रूपमा बाँके र बर्दिया जिल्लाको विकास भइरहेको तथ्य लुकाउन सकिदैन। त्यस्तै एसियाकै ठुलो उपत्यकाको रूपमा रहेको दाङ भ्यालीको आफ्नै राजनैतिक ऐतिहासिक महत्त्व रहेको छ भने स्वर्गद्वारी जस्तो पवित्र स्थान रहेको जिल्ला प्युठान तथा जनयुद्धको उद्गम स्थलको रूपमा रहेका रुकुम, रोल्पा जिल्लाको आफ्नै राजनैतिक महत्त्व रहेका छ। सुपादेउराली तथा धेरै धार्मिक तथा पर्यटकीय गन्तव्य का साथै कृषि पशुपालन व्यवसायमा उल्लेखनीय प्रगति गर्दै गएको अर्घाखाँची र गुल्मी राजनैतिक बौद्धिक क्षेत्रको विकासमा अगाडि मानिन्छ भने पाल्पा राजनैतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको रूपमा यसै अगाडि रहेको छ।त्यसैगरी ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको कपिलवस्तु प्रदेशकै आर्थिक, पर्यटकीय तथा प्रशासनिक राजधानीको आधार नै रहेको छ।

हाम्रो शासकीय स्वरूप केदार, प्रदेश र स्थानीय गरी तिन तहको रहेको छ । जनताका प्रत्यक्ष सरोकार राख्ने सेवा प्रवाहहरू सोझै स्थानीय सरकार मातहत गईसकेका छन्। प्रदेश संरचनाको मुख्य कार्य समग्र प्रदेशको विकास निर्माणका योजनाहरू निर्माण, कार्यान्वयन तथा अनुगमन गर्ने र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन प्रत्याभूति दिनुका साथै स्थानीय तहबीच समन्वयकारी भूमिका र प्रदेशका जनताका समस्या तथा सरोकारका विषयमा अभिभावकत्वको भूमिका निर्वाह गर्नु हो।यसको लागि प्रशासकीय स्थानको चयन मात्र अहिले भएको हो ।

यसलाई कदापी अन्यथा लिइनु हुँदैन। हरेक जिल्लाको विकास प्रति जुन प्रतिबद्धता प्रदेश सरकारको गरेको छ, त्यो यथावत छ । रुपन्देहीको भैरहवा बुटवल, दाङको घोराही तुल्सिपुर तथा बाँकेको नेपालगन्ज कोहलपुरलाई महानगर बनाउने योजना महत्त्वपूर्ण छ भने प्रदेशको समथर क्षेत्रमा रेल मात्र तथा पहाडी क्षेत्रमा सुरुङ तथा केबलकारको विकास आजको आवश्यकता हो । साथै निकट भविष्यमै सञ्चालन हुने गौतम बुद्ध अन्तराष्ट्रिय एयरपोर्टको सञ्चालन भए पश्चात् प्रदेशकै आर्थिक गतिविधिले ऐतिहासिक फट्को मार्नेछ भन्नुमा अतिसयोक्ति नहोला । यद्यपी वर्तमान महामारीको रूपमा रहेको कोभिड १९ नियन्त्रण भने आउनै पर्नहुन्छ।

यसरी अहिले भएको प्रदेश तथा राजधानीको नामकरणको निर्णय कसैको हार जीतको रूपमा नलिई प्रदेशका जनताको भावनाको सम्मान तथा लुम्बिनी क्षेत्रकै विस्तारको रूपमा लिनु आजको आवश्यकता हो। कहीँ पनि विकास ठुला ठुला बिल्डिङ बनाएर मात्र भन्दा आर्थिक गतिविधिले हुने गर्छ भन्ने कुरा कहिले भुल्नु हुँदैन। प्रशासनिक कार्यको सहजताको लागि केन्द्र जहाँ पनि बनाउन सकिएला तर आर्थिक केन्द्र बनाउन कुनै पनि वस्तु तथा सेवाको उत्पादन, विक्री तथा जनतामा सेवा र सुविधा बढाउँदै विकासका पूर्वाधारहरू तयार गर्दै जानु पर्ने हुन्छ। दिल्ली भन्दा मुम्बई र वासिङ्टन डिसी भदा न्यूयोर्कको विकास आर्थिक गतिबिधीकै कारण भएको हो स्थानका कारण होइन भन्ने कहिले भुल्नु हुँदैन। आउनुहोस अब नामको नाममा न अलमलिएर ठाउँको विकासमा लागौँ। निश्चित क्षेत्रको होइन, समग्र प्रदेशको विकास तथा संवृद्धि तिर जागौँ। यो नै यस क्षेत्रका जनताको चाहना प्रदेशको आवश्यकता तथा जनमतको उचित सम्मान हुनेछ।

(दाङ निवासी लेखक पोखरल हाल अमेरिकाको टेक्सासमा बसोवास गर्दै आउनुभएको छ ।)