मङ्सिर दुई गते राति प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गरेको र चिनियाँ राजदूतले पनि राष्ट्रपतिसँग भेट गरेको भन्ने समाचार व्हाट्सएप र सिग्नलमार्फत नेपालका प्रमुख संचारगृहका सम्पादक तथा पत्रकारलाई रातको करिब ९ बजेतिर प्रवाह भएको तथ्यहरु खुल्न थालेको छ । उक्त नम्बर भारतीय संयन्त्रसँग सम्बन्धित देखिएको छ । चीन, राष्ट्रपति र प्रधानमन्त्रीलाई विवादमा ल्याउन विभिन्न खालका काल्पनिक समाचार लेखाइएको सन्दर्भमा फेक समाचारको कारखाना कता छ र नेपालका धेरैजसो पत्रकारहरू कताबाट संचालित छन भन्ने बुझ्न सकिन्न र ?
डा. प्रशान्त भारद्वाज
अंग्रेजीमा फेकन्युज, नेपालीमा झूटो समाचार । यो शब्द प्रचलनमा आएको धेरै भएको छैन । सामान्यतया के बिश्वास गरिन्छ भने मिडिया अर्थात पत्रपत्रिका, टेलिभिजन र रेडियोमा आएका खबरहरू साँचो हुन्छन र तिनको उद्देश्य जनतालाई सूचना दिनु हो । इन्टरनेटको विस्तारका कारण विगत एक दशकमा डिजिटल पत्रिकाहरु, जसलाई हामी अनलाइन समाचार पोर्टल पनि भन्छौं, ठूलो संख्यामा विस्तार भएका छन । मूलधारको मिडियालाई बलियो बिकल्प दिएको छ अनलाइन सञ्चार माध्यमले । इन्टरनेटकै कारण सामाजिक सञ्जालको उपस्थिति बलियो भएको छ । यसको राम्रो पक्ष मिडियामा कुनै खास वर्गको एकाधिकार रहन असम्भव हुँदै गएको छ । यसको नराम्रो पक्ष पनि यसबीचमा उत्तिकै बलियो गरी प्रकट भएको छ ( झूटा समाचारहरू आउन थालेपछि ।
समाचारको उद्देश्य नागरिकलाई सूचना दिनु मात्र हुँदैन । यसको सबैभन्दा ठूलो र वास्तविक उद्देश्य हुन्छ, कुनै खास एजेन्डाका पक्ष वा विपक्षमा जनमत निर्माण गर्नु । ठूला उद्योग, बहुराष्ट्रिय कम्पनी र व्यापारहरूले आफ्ना उत्पादन लोकप्रिय बनाउन पैसा तिरेर विज्ञापन गर्छन । यस्तो विज्ञापनका प्रमुख पात्रहरू नाम चलेका कलाकार, सिनेमाका ’स्टार’ वा समाजसेवी हुन्छन । धनी देशका राजनीतिज्ञले समेत आफ्नो पक्षमा जनमत निर्माण गर्न ’पब्लिक रिलेसन’ कम्पनीहरूलाई लाखौँ डलर पैसा तिरेर काममा लगाउँछन् । छिमेकी मुलुक भारतमा सन २०१४ को आम निर्वाचनमा नरेन्द्र मोदीको पब्लिक इमेज बनाउने काम प्रशान्त किशोरको टीमले गरेको थियो, जसका लागि उनले १२ लाख डलर पारिश्रमिक लिएको भारतीय जनता पार्टीले बताएको थियो । त्यसपछि उनै प्रशान्त किशोरले बिहारमा नितिश कुमारको पब्लिक रिलेशन व्यवस्थापन गरे । आजको प्रतिस्पर्धी राजनीतिमा टिक्नका लागि यस्ता उपायहरू सामान्य मानिन्छ । यद्यपि राजनीतिलाई नागरिकको सेवामा लाग्ने माध्यम मानिने हुनाले यस्ता उपाय कति जायज वा नैतिक हुन्छन भन्ने प्रश्न भने उत्तिकै छ ।
यति भूमिका मूल प्रश्नको पृष्ठभूमिका लागि आवश्यक थियो । अफवाह, विपक्षीका आक्रमण र गलत समाचारलाई निस्तेज बनाउन तथा आफ्नो पक्षमा जनमत बनाउन आर्थिक स्रोत हुने मुलुकका नेता वा राजनीतिक दलले विशाल र सक्षम मानिसहरूको टीमलाई काममा लगाउँछन । नेपालमा त्यो सम्भव देखिएको छैन । त्यसैकारण नेपालका नेताहरू, राष्ट्रपतिदेखि प्रधानमन्त्री र काठमाडौंस्थित विदेशी कूटनितिज्ञसमेत झूटा समाचारको शिकार हुँदै आएका छन् । देशको राजनीति उथलपुथले भरिएका बेला यस्ता झूटा खबरको बाढी नै आउने गरेको छ । पछिल्लो समय नेपालमा नियतवस यस्ता झुटा समाचारको बाढी नै लाग्ने गरेको छ ।
यस्तो झूटा खबरको ज्वलन्त उदाहरण पछिल्लो पटक मंसीर २ गते भएका राजनीतिक र कूटनीतिक घटना क्रमका वरिपरी प्रकट भए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्सिर ३ गते राखिएको हुनाले त्यस दिनका घटनामा सबैको आँखा जानु स्वाभाविक थियो । तर, हरेक घटनालाई लिएर अवान्छित अड्कलबाजी गर्ने र त्यही अड्कललाई अज्ञात स्रोतको हवाला दिंदै लेख्ने होडबाजी चल्यो । त्यो पनि मुलधार भनिएकै मिडियामा ।
पहिलो घटना थियो, मङ्सिर २ गते बेलुकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटेको विषयसँग सम्बन्धित । कोरोना भाइरसका कारण देशका अधिकांश संचार गृहका पत्रकार घरमा बसेर काम गरिरहेको भनिएको छ । रिपोर्टिंग गर्न फिल्डमा निस्कने अवस्था छैन । यद्यपि धेरै संचारमाध्यमले कथा यसरी लेखे, मानौं उनीहरूले आफ्नै आँखाले राष्ट्रपति र दाहालबीचको संवाद देखेका हुन । कतिपयले राष्ट्रपति कार्यालय स्रोतको हवाला दिएर आफूलाई पायक पर्ने समाचार लेखे, कतिपयले अन्य स्रोतको खबर लेखे । वास्तविकता चाँहि के हो भने राष्ट्रपतिलाई भेट्न दाहाल राष्ट्रपति भवन गए । दुई शीर्ष नेतृत्वबीचको कुराकानी सुन्ने अरु कोही थिएन । राष्ट्रपति कार्यालयले यसबारे बोलेको छैन, अध्यक्ष प्रचण्ड पनि बोल्नुभएको छैन । त्यस्तो अवस्थामा राष्ट्रपतिले दाहाललाई यसो गर्नुस भनेर आग्रह गरेको कुरा बिल्कुलै अनुमान हुन जान्छ ।
अर्कोथरी अनुमान छ, राष्ट्रपतिले नेताहरु भेट गर्नु जायज हुँदैन, दलीय अन्तरद्वन्द्वको बेला झन हुँदैन । खासमा नेपालका पार्टीहरूमा द्वन्द्व नभएको बेला कहिल्यै छैन । राष्ट्रपति राजनीतिक पद भएको हुनाले नेताहरु भेट्नु हुँदैन भन्नु काल्पनिक कुरा हुन जान्छ । देशको शासनबारे निर्णय गर्ने अधिकार र हैसियत भएका दलका नेतालाई राष्ट्रपतिले नियमित रुपमा भेट्नुपर्छ भन्नुचाँहहि ठीक कुरा हुन्छ । हो, राष्ट्रपतिले कुनै दलको पक्ष वा विपक्षमा काम गर्नु वा बोल्नु हुँदैन । राष्ट्रपतिले नेताहरूलाई भेट्नेबित्तिकै अनुमानका आधारमा खबर लेख्ने, मिडियाले समर्थन गरेको नेताका पक्ष लिएर राष्ट्रपति संस्थालाई नै बदनाम हुनेगरी खबर लेख्ने हो भने त्यसले नेपालको राष्ट्रिय क्षमतामा प्रश्न उठ्छ । अरुलाई नैतिकता सिकाउने संचारमाध्यम अनैतिक र भ्रष्ट हुन मिल्दैन ।
मंसीर २ गते नै राती प्रधानमन्त्रीले राष्ट्रपति भेटेको र त्यसैदिन चिनियाँ राजदूतले पनि राष्ट्रपतिलाई भेटेको भन्ने खबर भोलिपल्ट मङ्सिर ३ गते प्रकाशित हुने नयाँ पत्रिका दैनिकले हेडलाइन बनाएर छाप्यो भने बाह्रखरी, देशसंचार जस्ता अनलाइनले पनि लेखे । यथार्थमा दुबै खबरहरू गलत थिए । प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट औपचारिक रुपमा त्यसको खण्डन आएन तर त्यहाँका अधिकारीहरुले पत्रपत्रिका र टेलिभिजनमा समेत स्पष्ट रुपले उक्त खबरहरू झूटा भएको र त्यसदिन राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट नभएको तथा राष्ट्रपतिले चिनियाँ राजदूतलाई पनि नभेटेको बाताएका छन ।
नेकपाको आन्तरिक राजनीति डोलायमान भएका बेला खबर बिकाउन लेखिएका यस्ता झूटले नेपालको आन्तरिक राजनीति र वैदेशिक सम्बन्धमा संकट निम्त्याई रहेका छन् । त्यसदिन जम्मा के भएको रहेछ भने नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री वेई फेङ हे आउने मिति तय गर्न प्रधानमन्त्रीसँग चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी रहिछन । दिउसो हुने भेटको समय सरेर साँझ पुगेको रहेछ प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण ।
चिनियाँ राजदूतको भेटलाई लिएर पत्रिकामा भएका अड्कलबाजी बयान गरेर साध्य छैन । इकागज भन्ने भर्खरै आएको अनलाइन पोर्टलले लेखिहाल्यो, चिनियाँ राजदूतले प्रधानमन्त्रीलाई भनिन अरे, पार्टी नफुटोस तर प्रधानमन्त्री हट्नुपर्ने भयो भने तपाईं हट्नु । यही कुरा पत्याउने पनि नेपालमै रहेछन । विदेशी राजदूतले भेट्दा प्रधानमन्त्रीलाई यसरी भन्न सक्छन ? अहं त्यो सम्भावना छैन । जस्तोसुकै खराब सम्बन्ध भएका बेलासमेत भारतीय राजदूतहरूले कुनैपनि नेपाली प्रधानमन्त्रीसामु यसरी भन्न सक्दैनन । प्रधानमन्त्री वा राष्ट्रपति पदको मर्यादाको दुहाई दिएर नथाक्ने नेपाली पत्रकारहरूको अहिले एकमात्र उद्देश्य नेपाल राष्ट्र र नेपाल सरकारको बदनाम गर्ने देखिन्छ, त्यो पनि झूटा समाचार छापेर ।
यससँगै जोडिएर अर्को प्रश्न आउँछ, कोभिड १९ कारण पत्रिकाका अफिस बन्द छन्, पत्रकारहरू घरमा छन् भने मध्यरातमा यसो र उसो भयो भन्ने खबर यिनलाई दिन्छ कसले ? वा आफैं कल्पना गरेर उब्जाउँछन ? के सत्य हो भने धेरै पत्रकारहरु कुनै न कुनै नेतासँग जोडिएका छन् । धेरैजसो समाचारको स्रोत उनै नेताहरु हुने गर्छन । तर खबरलाई सम्बन्धित नेताको इच्छानुसार र फाइदा पुग्नेगरी घुमाइएको हुन्छ ।
फेक समाचार प्रसारण प्रकाशन गर्नेमा नयाँ खुलेका च्याउ अनलाइन मात्र छैनन, मूलधारका मानिएका दैनिक पत्रिका पनि पछिल्लो पटक आफ्नो प्रकाशन गृहको स्वार्थअनुरुप त्यही तरिका अपनाई रहेका छन । शासन सत्तामा रहने ब्यक्ति आफूलाई श्रोत शक्ति बाँड्ने भए उनीहरु त्यसको पक्षमा खुलेर सहयोग गछन । नभए सरकार वा संस्थापनबिरुद्ध जस्तासुकै गलत तथ्य प्रस्तुत गरेर भएपनि अभियान चलाउँछन भन्ने देखिएको छ । पछिल्लो पटक कान्तिपुर, नयाँपत्रिका र अनलाइन खबर नेकपाका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्यदेखि उहाँको सचिवालयका सदस्यले चलाएका अनलाइन भन्दा पनि तल झरेर यस्तो फेक समाचार प्रकाशनमा तल्लीन छन ।
एउटा ताजा दृष्टान्त दिन सकिन्छ, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक्ला एक्लै भएका भेटवार्ताका समाचार । ती सञ्चार माध्यममा प्रचण्डले आफू अनुकूल प्रधानमन्त्रीको भनाई भनी दिएका सूचनालाई नै सत्य भनेर छापिने गरेका छन । ओलीसँग द्वन्द्व बढेका बेला ओलीले यसो भने भनेर प्रचण्डले आफ्नो दृष्टिकोणबाट दिने संवाद तटस्थ सञ्चार माध्यमका लागि तथ्य हुन सक्छन् ? सञ्चार माध्यमले तथ्यसरी दिइएको भनाईको कोण बिगारेर दिइएको पो छ कि भनेर खोज्नुपर्ने होनि । त्यसरी उनीहरुले खोज्दैनन । किनभने आफ्नो निजी स्वार्थका लागि मिडिया सञ्चालकको स्वार्थ पनि सम्बोधन गर्नुपर्छ भन्ने प्रचण्ड मिडिया सञ्चालकका गैरब्यावसायिक कमाईका लागि साधन बन्नेछन ।
राज्य र मिडिया आ–आफ्नो धर्ममा रहनुपर्छ भन्ने ओली मिडिया सञ्चालकको त्यस्तो कमाईका लागि बाधक छन । त्यसैले नेकपाको पछिल्लो आन्तरिक विवादमा प्रचण्ड समूहको जस्तो रणनैतिक प्रचार गर्नुपर्ने हो, त्यसमा मूलधारका दैनिकको संयुक्त साझेदारी छ भन्नेमा तिनीहरुका एउटै हेडलाइन पर्नुले पनि संकेत गर्दछ । अझ त्यस्ता समाचार एकैठाउँमा ड्राफ्ट गरेर वितरण गरिएको हो कि भन्ने पनि सहजै अनुमान गर्न सकिन्छ । मंसिर ३ गते बसेको नेकपा सचिवालय बैठकमा ओलीले गरेको सम्बोधन जस्ताको तस्तै बाहिर चुहिएपछि भने ओलीका भनाई भन्दै प्रचण्डअनुकूलका खबर बाहिर आएन । त्यसबाट मूलधारका सञ्चार माध्यमका रिपोर्टर मुर्मुरिएको पनि दृश्य देखिन पुग्यो । जस्ताको तस्तै सूचना बाहिर आउनु कर्तब्यशील पत्रकारका लागि खुसीको कुरा हुनसक्थ्यो । तर, प्रचण्डअनुकूल समाचार ड्राफ्ट गरी वितरण गर्ने कारखाना त्यसदिन जिल्ल परेपछि उनीहरु आक्रोशित हुनपुगेका थिए।
प्रधानमन्त्रीले बिपक्षी दलका नेतासँग भेट गरेको बिषयमा पनि यस्तै फेक समाचार उस्तै पाराले आएको छ । सामान्य चेत भएको मानिसले समेत हासोको बिषय बनाउने यथार्थबिपरित प्रधानमन्त्रीले मन्त्रालय नै तोकर सत्ता साझेदारीको बिषयमा कुरा गरेको भन्दै फेक समाचार उत्पादन गरिएको छ । जसलाई मुलधारका मिडियाले आफ्ना मालिकको आदेश पालना गर्दै प्रकाशन गरेको प्रष्टै बुझिन्छ ।
मङ्सिर दुई गते राति प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गरेको र चिनियाँ राजदूतले पनि राष्ट्रपतिसँग भेट गरेको भन्ने समाचार व्हाट्सएप र सिग्नलमार्फत नेपालका प्रमुख संचारगृहका सम्पादक तथा पत्रकारलाई रातको करिब ९ बजेतिर प्रवाह भएको तथ्यहरु खुल्न थालेको छ । उक्त नम्बर भारतीय संयन्त्रसँग सम्बन्धित देखिएको छ । चीन, राष्ट्रपति र प्रधानमन्त्रीलाई विवादमा ल्याउन विभिन्न खालका काल्पनिक समाचार लेखाइएको सन्दर्भमा फेक समाचारको कारखाना कता छ र नेपालका धेरैजसो पत्रकारहरू कताबाट संचालित छन भन्ने बुझ्न सकिन्न र ? तथ्यहरुले पछिल्लो पटक नेपालमा भइरहेको फेक समाचारको कारखानाको पनि उजागर गर्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्