काठमाडौं, मंसिर २६ । सिंगो मुलुकको ध्यान कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा मुलुकको ध्यान गइरहेको बेला पनि भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको तथ्यले देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुसार सरकारले पूर्वाधार विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको कारण उल्लेख्य प्रगति देखिएको हो ।
कोरोना महामारीमा पनि काम अघि बढाउने सरकारी नीतिकै कारण झोलुङ्गे पुल, सडक पुल, खानेपानीका ट्याङ्की, सम्पदा पुनर्निर्माण, एकीकृत बस्ती विकासका योजना भूकम्पपछिको पुनर्निर्माणको कामले कोरोनाको अवधिमा समेत उच्च प्राथमिकता पाएको छ । अहिले गाउँदेखि सहरसम्म कच्ची भएका सडक कालोपत्रे भएको तथा गोरेटो बाटो ग्राभेलयुक्त र पक्की भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार स्थानीय पूर्वाधार विभागबाट गत आर्थिक वर्षमा मात्र ३ सय ४२ वटा झोलुङ्गे पुल निर्माण भएका छन । यस्तै ५२ वटा सडक पुल, २५० किलोमिटर सडक कालोपत्रे, एक सय ५ किलोमिटर ग्राभेल सडक निर्माण, सडक आवधिक मर्मत ५५७ किलोमिटर, सडक नियमित मर्मतसम्भार एक हजार ७१६ किलोमिटर निर्माण भएका छन ।
यसैगरी सडक स्तरोन्नति ३५१ किलोमिटर, १६२ वटा खानेपानी आयोजना, ६२ वटा सिँचाइ तथा बहुउपयोगी आयोजना सम्पन्न भएको, झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) ७६९ वटा तयार भएको छ भने ११६ वटा सडक पुलको विस्तृत परियोजना प्रस्ताव तयार गरिएको र ९८ वटा तटबन्ध तथा बाँध निर्माण भएको छ । कोरोनाको महामारी जारी रहँदा चालूू आर्थिक वर्षभित्र ६ सय झोलुङ्गे पुल निर्माण हुँदैछन् । चार हजार आठ सय हेक्टर क्षेत्रमा साना सिँचाइको सुविधा पुग्नेछ । देशभरकै स्थानीय तहले आवधिक योजना तर्जुमा गर्ने लक्ष्यसहित धमाधम काम अगाडि बढेको संघीय मामिला मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालूू आर्थिक वर्षको पहिलो चौमासिकमा ६० वटा झोलुङ्गे पुल निर्माण भएको, सडक कालोपत्रे १४ किलोमिटर, सडक स्तरोन्नति ३६ किलोमिटर, सिँचाइ तथा बहुउपयोगी ६ वटा योजना सम्पन्न, चार लाख ७२ हजार श्रम दिनको रोजगार सिर्जना भएको, एउटा सडक पुल निर्माण भएको छ । यसका साथै ८१३ किलोमिटर सडक मर्मत गरिएको छ भने तीनवटा खानेपानी आयोजना सम्पन्न भएको, १६५ वटा झोलुङ्गे पुलको विस्तृत परियोजना प्रस्ताव (डीपीआर) निर्माण भएको मन्त्रालयले जनाएको छ । ‘लक्ष्य प्राप्ति गर्ने गरी मन्त्रालयले योजनाबद्ध रूपमा काम अगाडि बढाइरहेको छ, मन्त्रालय अन्तर्गत गर्नुपर्ने भौतिक विकासको कामलाई उच्च प्राथमिकता दिएर हामीले काम गरिरहेका छौं,’ सहसचिव गौतमले भन्नुभयो ।
स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले विभागले लक्ष्य गरेअनुसारका झोलुङ्गे पुल, सिँचाइ, सडक कालोपत्रे लगायतका योजना पूरा गर्ने गरी भौतिक रूपमै काम तीव्र पारिएको जानकारी दिनुभयो । ‘विकासको काम सहरदेखि गाउँसम्म भएका छन् चालूू आर्थिक वर्षका सञ्चालित योजना पूरा हुँदा नागरिकका अपेक्षा अनुसार नै काम हुन्छन,’ मरहठ्ठाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्