प्रा.डा.ऋषिराम शर्मा
अहिले प्रतिनिधिसभाको विघटन अर्थात् मृत्त्यु भैसकेको छ । मृत्यु भैसकेको कुनै जीवले मुक्ति प्राप्त नगरुन्जेल प्रेतमा रूपान्तर भएझैँ मरिसकेको प्रतिनिधि सभा ब्युँझाएर जगाउँछु र प्रतिनिधिसभा नै बनाउँछु भन्नु कति जायज होला र त्यसरी मानौँ जाग्दै नजाग्ने वस्तुलाई जगाउँदा वा जगाएँ वा जाग्यो भन्दा त्यसले प्रेतसभामा अवतरित भएर डरलाग्दा दारा र नङ्ग्रा पनि फिँजाउने होला । त्यसैले यो प्रतिनिधि सभालाई ताजा जनादेशको स्वस्थ भ्रूणबाट प्रजनन गराउनु मात्र यसको स्वभाविक प्रक्रिया होला, नत्र भने घाटको लाशलाई उठाएर ल्याएर प्रेतहरू भेला पार्नाले त त्रासदी बाहेक अरु के पो लछारपाटो लाउला र ! यदि यो जाग्नै नहुने चिज जाग्यो भने यो प्रेतसभा हुनेछ र यसले महाभियोगको राक्षसी दारा फिँजाउँदै नेपालका संपूर्ण गणतान्त्रिक संस्था, न्यायिक संस्था र संवैधानिक आयोगहरूलाई भूत बनेर निल्न सुरसाको मुख बाउने छ । यस मानेमा यो महाभियोगसभा हुनेछ । यसरी निलिसके पछि मुलुक भद्रगोल युगमा प्रवेश गर्ने छ । यस अर्थमा यो भद्रगोल सभा समेत हुने छ ।
जिउँदै छँदा दुईतिहाईको सरकारका प्रधानमन्त्रीका सपनालाईलाई र जनताले दिएको म्यान्डेटलाई बन्धक बनाउने र अहिले मरेको यो प्रतिनिधिसभा बाँच्यो भने यसले केकस्ता वितण्डा मच्चाउला त्यसको के कल्पना गर्नु ? आफ्नै सरकारको प्रधानमन्त्रीलाई सास फेर्न पनि नदिने धुन्धुकारीहरूको मन्त्रणामा यो प्रतिनिधिसभाले यसरी मानसिकता गुमाउँछ होला भन्ने कसले पो कल्पना गरेको थियो र ?अलिकति पुरानो नजिर पनि हेरौँ । मनमोहन अधिकारीले प्रतिनिधि सभा विघटन गर्नु भो, जनताका लागि र देशका लागि राम्रो र लोकप्रिय काम गर्दागर्दै पनि लोकप्रियतासँग खारिएर प्रतिपक्षले सरकार गिराउन खोज्दा उहाँले उक्त सभा विघटनको सिफारिस गर्नु भो र चुनावको घोषणा गर्नु भो ।
तत्कालीन राजाले संवैधानिक मर्यादाभित्र रहेर उक्त सिफारिस सदर गर्नु भो । राजाको उक्त कदमबारे विवाद भएन तर अहिले संवैधानिक दायराभित्र रहेर राष्ट्रपतिले मन्त्रीपरिषद्को सिफारिस कार्यान्वयन गर्दा उच्च भनाउँदाहरूले उहाँमाथि उहाँमाथि यति तुच्छ शब्दको प्रयोग गरे जसको चर्चा गर्नु पनि लज्जास्पद हुन्छ । त्यसबेलाका न्यायाधीशले आग्रहपूर्वक र वामलोकप्रियताको गतिमा ब्रेक लगाउने दुराग्रहले मरेको प्रेत जगाउनु भो अर्थात् विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरिदिनु भो । हिजो नेपालमा जे जति विकृति र द्व्न्द्वको सुरुवात भो त्यसको जग नै त्यसबेला मरेर जागेको त्यो प्रेतसभा थियो । त्यही प्रेतसभा नजागेको भए न त नेपालमा २०५२ सालमा माओवादी जन्मन्थ्यो न त सांसदहरू थाइलैण्डका कोठीमा वा आधुनिक अन्तःपुरमा रासलीलामा रमेर संविधानको धज्जी उड्थ्यो । त्यतिबेला कुकुरका छाउरा जन्मेझै तीनतीन महिनामा सरकार बदलिए, जम्बो मन्त्रीमण्डल बने, जनतामा चरम आक्रोश र निराशा भो । त्यही आक्रोश र निराशाको मलमा जनयुद्ध मौलायो र आज जनयुद्धका नाइकेहरू पुनः फर्केर त्यसभन्दा पनि घिनलाग्दो खेल खेलिरहेछन् ।
यसरी त्यही प्रेतसभाको भूतमहलभित्र बसेर त्यसबेलाका प्रेतहरू जे जस्ता विकृति र विसङ्गतिको आहालमा डुबेर देशलाई धोद्रो पारे, त्यो नजिरलाई हेरेर पनि यो मृत प्रतिनिधिसभा जगाउनु पुनः अराजकता निम्त्याउनु हो भन्ने बुझ्नु जरुरी छ । त्यसबेला त्यतिबेलाको त्यो विकृति त्यही पुनर्स्थापित प्रतिनिधिसभा नामधारी प्रेतसभाको आहालबाट विष्णुमतीको मूला मौलाए झैँ मौलाएको हो भन्ने दुनियाँलाई थाहा नै छ ।
र त्यतिबेला जुन संसदीय व्यवस्थाका विकृतिका विरुद्ध र नौलो जनवादी व्यवस्थाको ललिपप र मुक्तिको गुलियो नाराका बत्तीमा सोझासाझालाई होमियो । महाविनाश पछि पुनः संसदीय गणतन्त्रमै फर्केर जनयुद्धका धुन्धुकारीहरू पुनः संसदलाई त्यसभन्दा पनि वीभत्स खेल खेल्ने अखाडा बनाए । र देशलाई सयौँ वर्ष पछि धकेलेर आफू सयौँ वर्ष अघि जाने युद्धको नेतृत्वका नाइकेले आज पुनःघुमिफिरी रुम्जाटार भने झैँ प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै छन् ।
जनवाद, समाजवाद , दलाल पूँजीवाद जस्ता फास्टफुडे सुक्खा नारा जनतालाई पस्केर आफू पूजीवादको सिरक ओड्दै नव उदारवादको डसनामा सुतेर अकूत सम्पतिले डकार्दै ढाडिएको भुडी पल्टाई निन्द्रैमा मुलुकलाई पुनः जातीय द्वन्द्वको सपना देख्दै घ्वार्रघ्वार्र घुरिरहेछन् । अब के छर्लङ्ग भैसक्यो भने जनयुद्ध सीमितहरूका लागि धनयुद्ध र असीमितहरूका लागि सर्वस्वहरण युद्ध बन्यो । केहीका लागि अमरावती युद्ध र धेरैका लागि कुम्भीपाक युद्ध बन्यो । आज कतै जनयुद्धमा लागेका सोझा जनताको रगत पिएर रातो अनुहार पारेका कमरेडहरू रातो कार्पेटमा सवार भैरहेछन् । भने कतै तिनै आफ्ना त्यतिबेला आफूले ठानेका तथाकथित मुक्तिदाताले सुकिला लुगा लगाएर खेलेको सत्ताको फोहोरी खेल हेर्दा हेर्दै हत्तुहैरान भै रहेछन् । हिजोका हरितन्नम र रोडपति नेताहरूको जीवन करोडपति अरबपति र खरबपतिमा अग्रगामी छलाङ हानिरहेछ । नेता कामरेडहरूलाई यसरी कलियुगमै स्वर्गको स्वाद चखाउने घाइते कमरेडहरूको भने जमिनमा विचल्ली भइरहेछ । कोही अङ्ग भङ्ग भै भिखारी जीवन व्यतीत गरिरहेछन् त कोही अरबको तातो मरूभूमिमा जनयुद्धमा होम्ने अपराधीहरूले देखाएका सपनाका अधुरा आँसु पोखिरहेछन् ।
आज हिजोको जनयुद्धका नाइकेज्यू संसदमा प्रधानमन्त्रीको खेती गरेँ भनी गर्व गर्दै विकृतिको वान्ता गरिरहनुहुन्छ । यतिजनालाई प्रधानमन्त्री बनाएँ भनेर जुँगा फुरफुर पारिरहनुहुन्छ १ देश र जनताको भाग्य निर्माण गर्ने थलो संसद्लाई प्रधानमन्त्री उत्पादन गर्ने कारखाना र आफूलाई त्यसको बिचौलिया बनाइरहँदा गर्वको अनुभूति गरिरहनुहुन्छ । अर्काको भकारामा बाधेका दाँत फुक्लेका बुढा डिँगा मध्ये कतिपय बिचरालाई राष्ट्रपतिको त कतिपय छिचरालाई प्रधानमन्त्रीको चपाउनै नसक्ने पराल हालेर घस्याइ रहनुहुन्छ । अनि कोहीलाई कालिगढी भाषण गर्न उक्साई बौलाउने पारिरहनुहुन्छ । त कोहीलाई विधि र पद्धतिको धतुरो ख्वाएर लठ्याइ बर्बराउने पारि रहनु भएकै छ । ४० वर्षदेखि सासुशासन गरेका कामरेडहरूलाई मूल घरबाट निकालेर माइतीघर मण्डेलाका आँगनमा विकृतिको देउसीभैलो खेल्न उक्साइरहनु भएकै छ । चर्चित मिडियामा अन्तर्वार्ता दिँदा दक्षिणतर्फ फर्केर हाकाहाकी नमोनमो गर्दै नैतिक समर्थनको महान् अग्रगामी तथाकथित देशभक्तिपूर्ण शब्दहरू खोकिरहनु भएकै छ ।
वास्तवमा प्रधानमन्त्रीलाई विश्वास गरेर जनताले दिएको नासोअनुसार कामै गर्न नदिएर मुलुकलाई ठप्प पार्नेहरूले जनताले केपी ओलीका पक्षमा विश्वास गरेका उत्तरपुस्तिका साटेर होइन, जनताका घरआँगनमा पुगेर परीक्षा दिएर र जनताबाट अनुमोदित भएर मात्र प्रतिनिधिसभा जन्माउनु पर्ने छ, । यसरी जनताले विश्वास गरेका पात्रहरू मात्र प्रतिनिधिसभामा प्रवेश गर्ने वातावरण सिर्जना हुनु जरुरी छ । कार्यपालिकालाई कामै गर्न नदिने प्रतिनिधिसभाका प्रतिनिधिहरूले अब आयन्दा आफ्नै सरकाका विरुद्ध प्रतिपक्ष झैँ जाइ लाग्ने काल पुनः नपल्कोस् भन्ने नजिर स्थापनाका लागि समेत ताजा जनादेश अपरिहार्य देखिन्छ ।
र अन्त्यमा, अब मरेको प्रतिनिधिसभा बाँच्यो भने देश मर्ने छ । नयाँ नयाँ गौरकाण्ड जन्मनेछन् । ईटाभट्टामा मान्छे पोल्नेहरू निरपराध र पोलिनेहरू अपराधी हुनेछन् । राष्ट्रपति, न्यायाधीश र आयुक्तहरूका टाउकामाथि महाभियोगको तरबार तेर्स्याइने छ । मुलुक हुँडारयुगमा प्रवेश गर्ने छ । मुलकमा जातीय द्वन्द्व पुनः चर्काइने छ । जनताले जातीयताका विरुद्ध र राष्ट्रिय अखण्डताका पक्षमा र केपी ओलीको अनुहार हेरेर दिएको मतलाई लुटेर जातीय हिंसा, विखण्डन मच्चाउने नियत बोकेका र जनताले कुरूप ठानेका अनुहारहरू पुनः जनताका आँखामा ठुङ मार्न आइपुग्ने छन् । प्रतिनिधिसभा प्रेतसभा हुने छ । यो महाभियोग सभा हुने छ र यो मुलुकमा भद्रगोल मच्चाउने महाभद्रगोल सभा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्