दुर्वाच्य बोल्ने बानी र आदत परेकालाई तुच्छ बोली बोल्न कुनै आइतवार पर्खिनु पर्दैन । झाँक्रीले पहिले पहिले पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई गरेका पाँडे गाली सुनेर र पढेर वाक्क भएर उनका बारेमा लेख नै पनि लेखेकी थिएँ । अहिले त झन झाँक्रीले आफूलाई फोहोरको नालीमै झारेर बोलेको सुनेपछि उनको नाम रामकुमारी होइन, रावणकुमारी झाँक्री चाहिँ अत्यन्त सुहाउने जस्तो लागेर यो लेख लेखेकी हुँ
मिथिला पोखरेल
मान्छेको नाम त उसको गुण, विशेषता, स्वभाव र आचरण अनुसार हुनुपर्ने हो तर कहिले काँही त्यस्तो हुँदो रहेनछ । मख्खिचुस, चरम लोभी वा किरन्टोकीको नामचाहिँ दानबहादुर राखेको पनि देखिन्छ । ठीक त्यस्तै रामको जस्तो धैर्यवान्, सहनशील, विनम्र स्वभावका मान्छेलाई राम वा रामकुमारी भनेर नाम राख्नु पर्नेमा दुष्ट, दुच्छर, रिसाहा, अशिष्ट र दुर्वचन बोल्ने रावण जस्ता चरित्रलाई रामकुमारी भनेर नाम राखेको पटक्कै सुहाएन । आज हाम्रा घरमा यस्तै विषयमा एकछिन चर्चा भयो । रामकुमारी झाँक्री नामबाट चिनिएकी पुष्पकमल दाहाल र माधव नेपाल (पुमा) गुटकी नेतृले अहिले संम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक सभामा अत्यन्त तल्लो स्तरमा ओर्लिएर आक्षेप मात्रै लगाइनन, चरित्रहत्या नै गरिन । यस्तो तुच्छ बोली मैले अहिलेसम्म सुनेकै रहिनछु ।
यस्तो बोली वचन झाँक्रीले आफ्ना घर परिवारका आमा, दिदी र वहिनीलाई पनि बोल्छिन कि ? शंका भयो । दुर्वाच्य बोल्ने बानी र आदत परेकालाई तुच्छ बोली बोल्न कुनै आइतवार पर्खिनु पर्दैन । झाँक्रीले पहिले पहिले पनि राष्ट्रपति र प्रधानमन्त्रीलाई गरेका पाँडे गाली सुनेर र पढेर वाक्क भएर उनका बारेमा लेख नै पनि लेखेकी थिएँ । अहिले त झन झाँक्रीले आफूलाई फोहोरको नालीमै झारेर बोलेको सुनेपछि उनको नाम रामकुमारी होइन, रावणकुमारी झाँक्री चाहिँ अत्यन्त सुहाउने जस्तो लागेर यो लेख लेखेकी हुँ ।
हाम्रा घरमा नै भएको छलफलमा पनि कुनै मानिससँग तर्क सकिएपछि कुतर्क गर्छ । तर्क, सिद्धान्त र विचार भए पो त्यस खालका कुरा गर्नु । ती सब केही नभएपछि मनपरी बोल्नेबाहेक अरु उपाय छैन । तर कथित पुमा गुटका नेता र कार्यकर्ता कस्ता रहेछन् भन्ने जान्न र बुझ्न आम जनतालाई सजिलो भएको छ । अब रामकुमारी उर्फ रावणकुमारी झाँक्रीसित कुनै तर्क रहेनछन र उनी छिःछिः फाहोेरीमा उत्रन थालिछन । यस्तो घटिया स्तरको बोलीवचन उनले आफ्ना माइतीबाट र आफ्नै घरबाट सिकेको होला भन्न मैलै सकिन । बरु माधव नेपालबाट उनले यस खालका बोलीवचन सिकेको स्पष्ट अनुमान मैले लगाएँ । किनकि डा. भीम रावल नामका माधवका अत्यन्त प्रियपात्रले यसैगरी महिलालाई आधार बनाएर प्रधानमन्त्रीलाई निचखालको आक्षेप लगाइसकेका छन । यस्तै अराजक, अशिष्ट र निकृष्ट बोली वचन र व्यवहार गर्नेलाई माधवकुमार नेपालले काँधमा बोक्ता रहेछन । धेरैजसो यस्तै घटिया चरित्रहरु दाहाल नेपाल गुटमा रहेको देखिन्छ ।
यसभन्दा अघि पनि झाँक्रीले तुच्छ बोली बलेकी थिइन । नेतृ रामकुमारी झाँक्रीले पार्टी स्थायी समिति सदस्यहरु घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनेपछि प्रधानमन्त्री ओलीले नै तपाईंहरुलाई असफल बनाइदिन्छन भन्नेसम्मको अत्यन्त निकृष्ट आरोप लगाइन । प्रधानमन्त्रीलाई चिनियाँ राजदूतसित जोडेर गरेको लज्जास्पद मिडियाबाजी गर्ने भारतीय मिडियाहरुले घोप्टो परी माफ मागिसकेपछि पनि त्यही विषय उछालेर ओलीविरुद्ध झाँक्रीले अत्यन्त भन्दा र तुच्छ स्तरको आरोप आफ्नो फेसबुक सञ्जालमा प्रबाह गरिन ।
मैले झाँक्रीमा जस्तो यस खालका लाज, घिन र सरम नभएका चरित्र आजसम्म देखेको रहेनछु । यस्ता कुराले मलाई साह्रै दुःख लाग्यो । जुन थालमा खायो, त्यही थालमा के गर्ने भनेझैँ हुँदा पनि हाम्रा आदरणीय नेतृहरु चुपचाप हुँदा अर्को दुःख लागेको छ । अपराध गर्ने र अपराध गरेको देखेर चुप्प लाग्ने पनि दोषी हुन । कम्तीमा आफ्ना छोरी र बहिनी सरहका नेतृहरुलाई राम्ररी सम्झाउनु त पर्छ । सम्झाइबुझाइ गर्दा पनि यस खालको व्यवहार गरेको हो भने त कुरा अर्कै हो ।
पार्टीमा र महिलालगायत मोर्चा संगठनमा भुइँ तहदेखि लागेका र माथिल्लो तहको नेतृत्व तहमा पुगेका आमा, दिदी र बहिनीहरु अनेकौँ छन । तल्ला निकायमा पनि हजारौँ महिलाहरु आवद्ध रहेका छन । ०६२,०६३ को आन्दोलनमा आफ्नै सहकर्मीले पुलिससँग मिलेर अरुलाई पक्राउ गराएको रिसमा टाउकोमा ढुंगा हानेपछि प्रहरीले हिर्काएर टाउको फुट्यो भनेकै भरमा मात्र समानुपातिक सभासद मात्र होइन, मन्त्री बन्ने अवसर ओलीले नदिएको भनेर झाँक्रीले सदावहार रोइलो गरेको देखिन्छ ।
पार्टीमा सक्रिय भएवापत जेल, नेल, यातना र अपमान सहेका धेरै महिलाहरु छन । यस वापत पति, पुत्र र घर परिवार गुमाएका आमा र दिदीहरु पनि छन । आजीवन निश्वार्थ रुपमा सक्रिय रहेका दिदीहरु कुन्ता शर्मा, शान्ता मानवी, गोमा देवकोटा, ओनसरी घर्ती, अमृता थापा मगर र भगवती चौधरी आदि अनेक हुनुहुन्छ । उहाँहरु त केही प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । तर झाँक्री जस्तै अत्यन्त अराजक तथा स्वेच्छाचारी गतिविधि उहाँहरुबाट मात्र होइन, कुनै पनि महिला नेता र कार्यकर्ताले गर्दैनन र गर्ने छैनन ।
महिलाहरु आमा हुन । आमा सृजनाका मुहान हुन । माया, ममता र करुणाकी खानी हुन । आमाहरु झाँक्री जस्ता दुच्छर स्वभावका हुँदैनन । झाँक्री आमा पनि हुन तर उनमा आमाको स्वभाव एकरत्ति पनि पाइएन । झाँक्रीबाट उनका सन्तानले के सिक्ने ? घर पहिलो पाठशाला अनि आमा पहिलो गुरु हो भने तिनले के सिकाउँछन ? तिनले जे जस्तो सिकाउँछन, त्यस्तै शिक्षा लाला वालाले सिक्छन । झाँक्रीले बोलेको उनका सन्तान र उनका वरपरकाले पनि सुन्छन र सिक्छन । मैले सुनेकी छु राजनैतिक संस्कार हुन्छ । जथाभावी बोल्नु राजनीतिक संस्कार हो र ? यस्तै बोली बोल्न नेकपाको केन्द्रीय सदस्य बन्नु पर्ने हो र ? यत्ति साह्रो अशिष्ट, असभ्य र अराजक बोली हाम्रा अनपढ दिदी बहिनीहरु पनि बोल्दैनन ।
योग्यता र क्षमताबिना नै लबीको फेर समातेर केन्द्रीय सदस्य, समानुपातिक सभासद वा अरु कुनै ठूलो पदमा पुगेपछि यस खालको बेहोरा हुनु स्वभाविकै होला । हामी पनि लामो समयदेखि राजनीतिमा लागेका हौँ । यस्ता धेरै योग्य महिलाहरु तल हुनुहुन्छ । असन्तुष्टि राख्ने कुरा बेग्लै हो तर झाँक्री खालको सर्वथा अनुचित र अराजक कृत्य कसैले गर्दैनन । यो त आम महिलाको बेइज्जती हो । प्रधानमन्त्री ओलीले भँमराको संगतले फूल र फूलबारीमा पुगिन्छ, झिँगाको संगतले रछ्यानमा पुगिन्छ भनेझैँ भएको पो हो कि झाँक्रीमा पनि ? राति सुतेको समयबाहेक सबै समय पाँडे गाली गर्नमै झाँक्रीले समय बिताएको देखिन्छ ।
झाँक्रीले महिला चेतना, जागरण र सचेतना गर्ने गराउने सिर्जनात्मक र रचनात्मक काम एकरत्ति गरेको देखिन्न, पाइन्न । नेकपाकी केन्द्रीय सदस्य पहिचानकी रामकुमारी झाँक्रीका राष्ट्रपति, पार्टी र सरकार तथा अझ प्रधानमन्त्री ओलीविरुद्ध एक सूत्रीय मिडियाबाजी सुनेर कानै पाक्न थाल्यो । लकडाउनका बेला घर बसीबसी सञ्चार माध्यमबाट देश र विदेशका सबै गतिविधि सुन्नु नै एउटै मात्र काम भएको छ । झाँक्रीका लगातार, तारन्तार र एकोहोरो विरोध अशिष्ट, अराजक अन्तर्वार्ताले कान पाक्यो, अति भयो, अव त हद हुन थाल्यो, यसरी झाँक्रीले दिउँसै रत्यौली खेलेको देखेर रमिते भएर बस्नै नसकेर यो लेख लेखेकी हुँ । हुनत नेकपाका प्रभावशाली नेता प्रदीप नेपालले समेत केही समय अघि झाँक्री चरित्र उजागर गर्नुभएको थियो । उहाँले जहिले पनि पार्टीको सल्लाह सुझाव नमान्ने अराजक स्वभावकी रहेको संक्षेपमा बताउनु भएको थियो ।
पारिवारिक र पार्टीको लबीगत गलत शिक्षा र दीक्षाका कारण पनि कतिपय नेताहरु भौँतारिएको देखिन्छ । नेतृ उर्मिला अर्याल अनेमसंघको महाधिवेशनमा हालका सम्माननीय राष्ट्रपति विद्या भण्डारीविरुद्ध झाँक्रो फिँजाउँदै सम्मेलन स्थलमा परिचालित भएकी थिइन । यत्तिको राजनैतिक, वैचारिक स्तर तथा पदीय हैसियतको नेताले अलिकति विवेक राखेर व्यवहार गर्नुपर्छ । कसैको लौरो, लट्ठी र झट्टी भएर जथाभावी जाइलाग्नु हुँदैन । झाँक्री प्रयोजित बोली बोलरहेकी हुन कि भन्ने लागेको छ ।
मिडियाहरुले अनावश्यक रुपमा फुक्र्याएकै भरमा तथानाम बोलेर आफ्नै धोती खुस्केको पनि थाहा नपाउने झाँक्री राजनीतिक रुपमा मात्र होइन, सामाजिक रुपमा पनि ओरालोतिर लाग्दैछिन । बेलैमा सप्रिए जाती हुन्छ र होला । आखिर हामीले के पो गर्न सक्छौँ र यति गर्दा पनि भीरबाट लड्नेलाई रामराम मात्र भन्न सकिन्छ, काँध हाल्न सकिन्न । आगे रामकुमारीबाट रावणकुमारी बनेकी क्राँक्रीकै मर्जी ।
(लेखक अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य हुनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस्