जनता टाइम्स

२२ जेष्ठ २०७६, बुधबार १४:०१

७७ ओटै जिल्लाको इञ्चार्ज-सहइञ्चार्ज तोक्दै नेकपा, यस्तो छ प्रस्ताव


काठमाडौं, जेठ २२

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज ७७ ओटै जिल्लाको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने भएको छ । हिजो बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डको सहमतिमा प्रस्तुत गरिएको नामावलीलाई आजको बैठकबाट टुंगो लगाउने भएको हो ।

‘सचिवालयका सवै नेताहरुलाई इञ्चार्ज र आवश्यकताअनुसार सहइञ्चार्ज तोक्ने प्रस्तावसहितको नामावली दिइएको छ, उहाँहरुले अध्ययन गरेर आजको बैठकमा धारणा राख्नेपछि निर्णय हुन्छ, दुवै अध्यक्ष थप ढिलाई गर्ने पक्षमा हुनुहुन्न,’ बैठक सुरुहुनुअघि सचिवालयका एक नेताले जनताटाइम्ससँग भने । जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्न नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । ती नेताका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डले योग्यता, कार्यक्षमता, बरिष्ठता र कार्यकर्तामाझ लोकप्रिय केन्द्रीय सदस्यलाई इञ्चार्जको रुपमा प्रस्ताव गर्नुभएको छ । बरिष्ठता मात्रै आधार बनाउँदा भुगोलमा कार्यकर्तामाझ लोकप्रिय रहेका नेताले जिम्मेवारी नपाउने र पार्टी सशक्त नहुने निश्कर्षसहित अध्यक्षद्वयले कार्यक्षमता र कार्यकर्तामाझ लोकप्रियतालाई पहिलो प्राथमिकतामा राख्नुभएको ती नेताले बताए ।

‘ब्यक्ति हेरेर होइन, कार्यक्षमता र लोकप्रियतालाई आधार बनाउनु पर्छ भन्ने देशभरका कार्यकर्ताको आवाजलाई नेतृत्वले सुनेको छ, त्यहीअनुसार प्रस्ताव आएको हो,’ ती नेताले भने । पार्टीको नेतृत्व लिएदेखि नै सहमतिका आधारमा योग्यलाई जिम्मेवारी दिने अध्यक्ष ओली र प्रचण्डको योजना केन्द्रीय सदस्यको कार्यबिभाजनमा पनि लागू हुने उनको भनाई छ । आजको बैठकले पहिलो चरणमा जिल्ला इञ्चार्ज र सहइञ्चार्जको नाम टुंगो लगाई बाँकी केन्द्रीय सदस्यको कार्यबिभाजन गर्ने योजना छ ।

‘अध्यक्षद्वयले तयार पार्नुभएको ७७ ओटै जिल्ला इञ्चार्ज र सहइञ्चार्जको नामावली हेरफेर हुने संभावना छैन, उहाँहरुको प्रस्तावअनुसार नै निर्णय हुन्छ,’ सचिवालयका अर्का नेताले भने । जिल्ला इञ्चार्ज र सहइञ्चार्जको टुंगो लगाउन अध्यक्षद्वय ओली र प्रचण्डले लामो गृहकार्य गर्नुभएको थियो । अन्तिम नामावली तय गर्नुअघि दुवै अध्यक्षले सचिवालय सदस्य रामबहादुर थापा र मासचिव बिष्णु पौडेलसहित छलफल गर्नुभएको थियो भने बरिष्ठ नेता माधवकुमार नेपालसँगसमेत छलफल गर्नुभएको थियो । ‘सवै नेतासँग परामर्श गरी अध्यक्षद्वयले जिल्ला इञ्चार्जको नाम प्रस्तुत गर्नुभएको हो, आजको बैठकमा नेताहरुबीच मन माझामाझ भई निर्णय हुन्छ,’ ती नेताले भने ।

नेकपामा पार्टी एकता भएको एक बर्ष बितिसक्दा पनि केन्द्रीय सदस्यको कार्यबिभाजन हुन सकेको छैन । शीर्ष नेताबीचको छलफल लम्बिदा यस्तो अवस्था बनेको हो । कार्यबिभाजन नहुँदा आफूहरुले काम नपाएको गुनासो केन्द्रीय सदस्यहरुले गर्दै आएका छन । कतिपय नेता जनसंगठनको समेत नेतृत्व लिएपछि पनि काम नपाएको गुनासो गर्न छाडेका छैनन । यद्यपी एकताले पुर्णता पाउन नसक्दा केन्द्रीय सदस्यदेखि कार्यकर्तासम्म अन्यौलमा रहेका छन । सोही कारण एकता टुंग्याउने गरी कार्यबिभाजनको गृहकार्य भएको हो ।

नेकपामा पोलिटब्युरो गठन समेत हुन सकेको छैन । पोलिटब्युरो गठनअगावै नाम सार्वजनिक भएपछि आकांक्षीको घेरावन्दीमा दुवै अध्यक्ष पर्नुभएको कारण ढिलाई भएको नेकपा स्रोतले बताएको छ । नेकपामा केन्द्रीय निकाय, बिभाग समेत गठन हुन बाँकी रहेको छ । जनसंगठनको एकता टुंगो लगाए पनि कतिपय संगठनमा नाममै बिवाद हुन थालेको छ भने अन्तरपार्टी निर्देशन नआएको कारण जनसंगठनले काममा गति लिन सकेका छैनन । पयस्तै प्रदेश स्तरीय पेशागत जिल्ला कमिटीसमेत गठन हुन सकेको छैन भने प्रवाश कमिटीको एकता पनि टुंगो लागेको छैन ।

नेकपाभित्र केन्द्रीय बिभाग प्रमुखको बिषयमा पनि बिवाद देखिएको छ । सचिवालयमै रहेका नेताहरुले संगठन बिभाग, बिदेश बिभाग र प्रचार बिभागमा अडान लिएपछि सहमति जुटन सकेको छैन । सवैभन्दा महत्वपुर्ण मानिने संगठन बिभागमा महासचिव बिष्णु पौडेल नै प्रमुख रहनु पर्ने भएपनि सचिवालय सदस्यहरु बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा दावेदार देखिनु भएको छ । सचिवालय सदस्यमा सहमति जुटन नसके स्थायी कमिटीबाट संगठन बिभागको नेतृत्व दिने गरी समेत छलफल भइरहेको एक नेताले बताए ।

ब्यक्ति हेरेर होइन, कार्यक्षमता र लोकप्रियतालाई आधार बनाउनु पर्छ भन्ने देशभरका कार्यकर्ताको आवाजलाई नेतृत्वले सुनेको छ, त्यहीअनुसार प्रस्ताव आएको हो

‘दुई अध्यक्षबीच सचिवालयका नेताहरुबीच समति हुन नसकेको अवस्थामा स्थायी कमिटीबाट पनि संगठन र प्रचार बिभागको नेतृत्व दिन सकिन्छ भन्ने कोणबाट पनि छलफल भएको छ,’ सचिवालयका अर्का नेताले जनताटाइम्ससँग भने । एकता टुंग्याउने बिषयमा हिजो अध्यक्षद्वय ओली र प्रचण्डले झण्डै पाँच घण्टा छलफल गर्नुभएको थियो । सो बैठकमा जिल्ला इञ्चार्जको नाममा सहमति भएपछि हिजोको सचिवालय बैठकमा प्रस्ताव प्रस्तुत गरिएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली यही जेठ २५ गते युरोप भ्रमणमा जान लाग्नुभएकोले सो समयभित्र एकताको सवै काम टुंगो लगाउने गरी गृहकार्य अघि बढेको र सोही अनुसार सचिवालयले आवश्यक निर्णय लिने नेताहरुको भनाई छ । आजको बैठकबाट केन्द्रीय सदस्यको कार्यबिभाजनसहित एकताको बाँकी काम पनि टुंग्याउने योजना रहेको छ ।