जनता टाइम्स

४ चैत्र २०७७, बुधबार ०८:३८

अव त्यस्तो संभव छैन : प्रधानमन्त्री ओली


प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग मलेर बितण्डा मच्चाउनु भएका माधवकुमार नेपालसहितका नेताहरुले आफ्नो गल्ती महसुस गरेर पार्टीमा फर्किए कुनै समस्या नहुने प्रष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले गल्ती महसुस गराउनकै लागि आफूले माधव समुहका नेताहरुलाईपार्टी कार्यालयमा बोलाएर छलफल गरेको प्रष्ट पार्नुभएको छ । अध्यक्ष भएको नाताले उहाँहरूलाई मिलाएर लैजाने बढी दायित्व मेरै काँधमा छ, त्यही भएर नै मैले बोलाएर गल्ती महसुस गर्नुस्, पार्टीमा आउनुस्, मिलेर सँगै काम गरौं भनेर निमन्त्रण गरेको हुँ, अन्नपुर्ण पोष्ट दैनिकलाई अन्तवार्ता दिँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।

एमालेको पुनः अध्यक्ष हुनेबित्तिकै माधव नेपाल र उहाँका मान्छेलाई जिम्मेवारीबाट विमुख गराइदिनुभयो। यो निर्णय अलि आवेशमा आएजस्तो देखिएन ?

पुसको पहिलो हप्ताको अन्त्यतिर उहाँहरूले पार्टी छाड्नुभयो। त्यसपछि त्यसलाई प्रचण्ड-माधव (दाहाल-नेपाल) गुट भन्थे। उहाँहरूले नयाँ गुट बनाएपछि झनै पार्टीमा नयाँ जीवनी सुरु भएजस्तो र कार्यकर्तामा नयाँ जोस पलाएजस्तो भयो। फेरि दत्र्ता खारेज भएपछि पार्टी आआफ्नो ठाउँमा फर्किए। तर तत्कालै उहाँहरू पार्टीमा फर्किनुभएन। जब कि अदालतको फैसलालगत्तै उहाँहरू पार्टीमा फर्किनुपथ्र्यो। कार्यालयमा आउनुपथ्र्यो। अध्यक्षसँग सम्पर्क गर्नुपथ्र्यो। हराएको अढाई महिना भएका मान्छे त यहाँ छौं भनेर भन्नुपथ्र्यो। अहिले त कहाँ हुनुहुन्छ भन्ने थाहा नहुने स्थिति छ। पहिला त माइतीघरमा यसो यहाँ छौं भनेर टाँसेर बस्नुहुन्थ्यो। अहिले त टाँस्दा पनि टाँस्नुहुन्न। कहाँ हुनुहुन्छ, कहाँ हुनुहुन्छ ? त्यो स्थितिमा पार्टी त अगाडि बढ्नुपर्‍यो नि। तीन वर्षअगाडिको पार्टी। महाधिवेशनको पनि समय भइसक्यो छ वस्तुतः। यो एकीकरणको कानुनले लम्बिएको थियो। त्यसलाई महाधिवेशन गर्नुपर्ने छ। महाधिवेशन समिति बनाउनुपर्ने छ। महाधिवेशनको आयोजना गर्नुपर्ने छ। र, महाधिवेशन गर्दा उहाँहरूका मात्रै पद गएको होइन नि त। अरूको पनि गएको होला नि पद। आयोजक समिति बनाएपछि संयोजक हुन्छ। बाँकी संगठनात्मक काम गर्न महासचिव राखिएको छ।

उहाँहरूको चित्त दुखाइ यसमै छ, मिलाएर लैजाँदा हुन्न ?

अर्कातिर उहाँहरूले त छाडिएको पार्टी हो। छाडेको पार्टीको पदको कति चिन्ता गरिराख्या ? फेरि महाधिवेशनबाट आए भइहाल्यो नि। उहाँहरूलाई मात्रै हटाइएको होइन नि। अरूका पनि पद गएको छ। स्थायी कमिटीका सदस्य, पोलिटिब्युरोका सदस्य सबै गएका छन्। महाधिवेशन आयोजक कमिटी बनेको छ। उहाँहरूलाई मात्रै ताकेर हानेको त होइन।

तपाईंका निर्णय खारेज गराउन उहाँहरूले निर्वाचन आयोग गुहारिसक्नुभयो नि ?

उहाँहरूमा झगडियाको बानी परिसक्यो। एउटाले कुट्यो कि त्यो केटाकेटी कस्तो हुन्छ भने, सबै केटाकेटीमा हुँदैन। झगडा गर्छ निहुँ खोज्छ अनि हारेपछि कुदेर आमाकहाँ जान्छ अनि आमा मलाई कुट्यो भनेर पोल लगाउँछ। उहाँहरूको बानी नै त्यस्तै हो। कहिले अदालत, कहिले कहाँ पुग्या छ। सरकारविरुद्ध मुद्दा हाल्न सभामुख पुगेको देख्दा त अचम्म लाग्छ।

उहाँहरू आयोग जानुभयो, तपाईंविरुद्ध ११ जनाले विज्ञप्ति निकाल्नुभयो। भोलिपल्टै तपाईंले भेट्नु भयो। यो परिस्थिति कसरी विकास भयो ?

मैले बोलाएर उहाँहरूका कुरा सुन्न खोजेको हो। उहाँहरूलाई सम्झाउन खोजेको हो। उहाँहरूले गल्ती महसुस गर्नुपर्छ। साह्रै बितण्डा गर्नुभएको छ। एकीकरणलाई भंग गर्ने अवस्थासम्म उहाँहरूले पुर्‍याउनुभयो। दुईतिहाइको सरकार चुप लागेर चल्न दिएको भए त चलिरहेकै थियो नि। एउटै पार्टी एकताका साथ गएको भए नामको कुरा ठूलो थिएन। उहाँहरूले शत्रुतापूर्ण सम्बन्धको स्थिति सिर्जना गरिदिनुभयो। कुटाकुट गराएर कार्यकर्ता मराउनुभयो। घृणा फैलाउने कामसम्म गर्नुभयो। अदालतले फैसला गर्नेबित्तिकै पार्टी अलग भएकै थियो। अलग भएकोलाई पनि फेरि टुक्राइदियो।

नेपाल समूहसँगको भेटघाटले अवस्था केही सकारात्मक बनेको हो ? पार्टी एक ढिक्का हुन सक्छ अब ?

उहाँहरूले आफ्ना कमीकमजोरी नस्वीकारेको देख्दा अचम्म लाग्छ। यत्रायत्रा ठूला गल्ती गरेर, पार्टी धुलो पार्न खोजेर, अपराध गरेर, विध्वंस मच्चाएर फेरि पनि उहाँहरूले ठूला कुरा गरेको देख्दा झनै अचम्म लाग्छ। उल्टो मैले पो गल्ती महसुस गरिदिनुपर्ने। मैले केन्द्रीय कमिटीको बैठकको निर्णय फिर्ता लिनुपर्ने। उहाँहरूका पगरी लगेर फेरि टाउका-टाउकामा थपक्क राखिदिनुपर्ने। उहाँहरूलाई यथोचित मानसम्मान दिनुपर्ने। मैले मसिनो स्वरमा बोल्नुपर्ने। उहाँहरूले चर्का स्वरमा बोल्न पाउनुपर्ने। उहाँहरूले जे भन्यो त्यही निर्णय हुनुपर्ने। बहुमतले निर्णय गर्न नपाउने। यस्तो पनि हुन्छ ? पहिले त उहाँहरू नै बहुमतको धाक लगाउनु हुन्थ्यो। आज फेरि उहाँहरू नै बहुमतले निर्णय गर्न पाइँदैन भनेर भन्नुहुन्छ। यो कहाँको पद्धति हो ? मैले बुझ्न सकेको छैन।

भेटमा तपाईंले के भन्नुभयो ?

तपाईंहरू गल्ती महसुस गर्नुस् र अब गल्ती नगर्ने प्रतिबद्धतासहित काममा लाग्नुस्, पार्टीलाई एकताबद्ध बनाएर लैजाऔं, हामी सबै आआफ्ना थान्कामा बसौं भनेर प्रस्ताव राखें। तर, उहाँहरूको काम गर्न पार्टीमा आउने मनसाय देखिनँ। फेरि आएर पार्टी कब्जा गर्ने मनसाय उहाँहरूको देखियो। बुटवलको भाषण र हिजोअस्तिको पार्टी कब्जा गर्ने भाषणजस्तै अहिले पनि उहाँहरूको दिमागमा त्यही सपनाको रिल चलेजस्तो देखिन्छ। मेरो विचारमा त्यो सम्भव छैन।

पार्टी विधानअनुसार पनि केही प्रक्रिया होला नि ? कारबाही गर्नुहुन्छ कि ?

मैले अहिलेसम्म कसैलाई कारबाही गरेको छु ? कारबाही गर्नुपरेको छ ? आफैं ठेगान लाग्छ भने बिनासित्तिमा म अगाडि बढेर अबगाल किन बेहोर्छु !

अध्यक्ष भएको नाताले पनि उहाँहरूलाई मिलाएर लैजाने बढी दायित्व तपाईंकै काँधमा होइन र ?

हो नि। त्यही भएर मैले आजै बोलाएर गल्ती महसुस गर्नुस्, पार्टीमा आउनुस्, मिलेर सँगै काम गरौं भनेर निमन्त्रण गरेको हुँ। यो पहल मैले नै गरेको होइन त ?