जनता टाइम्स

२१ बैशाख २०७८, मंगलवार १७:२३

निषेधज्ञामा एनटीसीले ल्यायो आकर्षक डाटा र भ्वाइस प्याक


काठमाडौं, बैशाख २१

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट देखिएसँगै लगाइएको निषेधाज्ञालाई लक्षित गरेर नेपाल टेलिकम (एनटीसी) ले विभिन्न आकर्षक मूल्यका डाटा तथा भ्वाइस प्याकको सुविधा ल्याएको छ । भाइरसको संक्रमण तीव्र बन्दै गएपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको निषेधाज्ञाको समयलाई लक्षित गरी एनटीसीले आकर्षक प्याकेजहरू घोषणा गरेको हो ।

निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकका लागि नेपाल टेलिकमले प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने विभिन्न सुविधाहरू प्रदान गरेको छ । कम्पनीले वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक, ७ दिनका लागि १.५ जीबी प्याक, २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक, ५०० एमबी पर डे डाटा प्याकलगायत सुविधा ल्याएको छ । मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिने कम्पनीले जनाएको छ ।

वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक : २८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक ६४९ रूपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय रहेको टेलिकमले जनाएको छ ।

७ दिनका लागि १.५ जीबी प्याक : ७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रूपमा यो प्याक जम्मा ९५ रूपैयँमा उपलब्ध गराइरहेको छ ।

२ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक : २ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ । यो डाटा प्याक ३० रूपैयाँमा उपलब्ध छ ।

५०० एमबी पर डे डाटा प्याक : २९९ रूपैयाँमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ ।

ग्राहकले *1415# डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् ।