जनता टाइम्स

१५ असार २०७८, मंगलवार ०७:४०

आफ्नै अहंकारले यसरी पतन भए माधव नेपाल


वास्तवमा भन्ने हो भने त्यो दिन एमाले माथि प्रचण्डका आँखा लागेका थिए । एमालेको त्यो महाशक्ति देखेर प्रचण्ड जस्तो आफ्नो लागि अतिरिक्त चलाकी गर्नमा माहिर खेलाडीलाई आफ्नो शान सौकत ‘चार दिनको चाँदनी फेरि अँधेरी रात’ हुने भय पैदा भयो । समयले आज प्रष्ट पनि पारिसकेको छ कि पाण्डवहरुको उत्थानमा आफ्नो भविष्य नदेख्ने दुर्योधनमाझै एमालेको प्रत्येक जयमा आफ्नो क्षय देख्नमै प्रचण्डको जुनी बितेको छ । एमालेको पुनरोदय भएरै छाड्ने संकेत बुटवलमा देखापरेपछि माओवादीले हिसाबकिताव सहित प्रचण्डमान थैबको हत्या गर्यो

दयालबहादुर शाही

रुसका तीँ गद्दार र एमालेका यीँ गद्दार !
वास्तवमा महानिर्वाचनहरु रक्तहीन महाभारत युद्ध हुन् । जुन् एमालेले २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधान सभा निर्वाचनमा माधवकुमार नेपाललाई सेनापति मानेर नेपाली कांग्रेससँग प्रतिद्वन्द्विता गर्दै पंगा लियो थियो, आज त्यही एमालेमाथि कृतघ्न बनेर माधव नेपालले कांग्रेसको लागि नूनको सोझो गर्दैछन् । माधवको रोजाईमा अहिले कांग्रेस परेको छ । चामल थिएँ, कनिका भएँ, भात खाने थिएँ, लात खाने भएँ भनेझै कुनै बेला कांग्रेसको ओठमुख सुकाउने एमालेका महानायकको भूमिकामा थुपारिएका माधव नेपाल जिउँदै नर्कमा खसेर ‘कांग्रेसको दैलो र दयाको भैलो’ माग्नमा खुम्चिएका छन् ।

स्वाभिमानी र इज्जत भएका सत्पात्रका लागि जोरिपारीको दया र छाँया भन्दा मृत्यु प्यारो हुन्छ । जुन एमालेले उठायो, त्यही एमालेलाई घात गर्ने र भएभरका पराहीहरुसँग मिली एमाले सिध्याउने तहमा गिरेर पनि माधव नेपालको जीवनप्रतिको मोह कायमै छ । माधव नेपालको गद्दारीको यो तह आफै महासचिव रहेको सोभियत संघको कम्युनिष्ट पार्टी प्रतिबन्ध लगाउने र आफै राष्ट्रप्रमुख रहेको तत्कालीन सोभियत संघ विघटन गरी १५ वटा देशमा देश विभाजन गर्ने मिखाइल गोर्बाचोभले गरेको गद्दारीको हाराहारीमा छ ।

बर्लिन पर्खाल ढल्नुमा, युरोपबाट समाजवादी व्यवस्था धरासयी हुनुमा र शीत युद्ध समाप्त हुनुमा गोर्वाचोभको ठूलो भूमिका थियो । उनको आत्मघाती कदमलाई हौसला दिदै सन् १९९० को नोबेल शान्ति पुरस्कार उनैलाई प्रदान गरेर थप गद्दारीका लागि प्रेरित गरिएको थियो, जसरी अहिले एमालेको घरमा आगो झोसेकोमा देउबा र दाहालले माधवलाई धाप मारिरहेका छन्, क्यावात् र स्याबास् भनिरहेका छन् । मानव जातिको समानताको यात्रा र अभ्यासमा अक्टुबर क्रान्ति एक युगान्तकारी घटना थियो । त्यो क्रान्तिपछि अविछिन्न ७२ वर्षसम्म लामो गौरवमय इतिहास बोकेको सोभियत संघको पतनका अन्य थुप्रै कारण भए पनि गोर्वाचोभको गद्दारी प्रमुख कारण थियो । कम्युनिष्ट विचारका आलोचकहरु पनि उक्त समाजवादी व्यवस्था धरासयी हुनुमा तानाशाही र केन्द्रीकृत शासन, नारकीय नोकरशाही, नकाम अर्थव्यवस्था, गुणस्तरहीन शिक्षा जस्ता बलिया कारणहरु दर्शाउँदा दर्शाउँदै पनि गोर्बाचोभको भूमिकालाई ती सबै कारणहरु भन्दा बढी र माथि राख्ने गर्दछन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक आर्ची ब्राउन भन्छन्– ‘जुन ढंगले सोभियत संघ विघटन भयो, त्यो पनि एकै रातमा, त्यो सबैको लागि चकित पार्ने घटना थियो । सोभियत संघको पतनका अनेकौं कारणहरु थिए, तर सबैभन्दा महत्वपूर्ण कारण बने गोर्बाचोभ स्वयं ।’

सोभियत संघ एक मिथक जस्तै लाग्ने महाशक्ति राष्ट्र थियो, जसको उदय मार्क्सवादी दर्शनबाट प्ररित रहेर सन् १९१७ को अक्टोबरमा भएको क्रान्तिबाट भएको थियो । सोभियत संघ यस्तो देश थियो, जसले जर्मनीसँग विश्व युद्ध र अमेरिकासँग शीत युद्ध लड्यो । त्यो यस्तो देश थियो, जसले हिटलरलाई परास्त गरेको थियो भने अमेरिकासँग परमाणु होडमा भाग लिएको थियो । अन्तरिक्षमा पहिलो पटक भू–उपग्रह पठाउने देश पनि त्यही थियो । सन् १९५६ मा सोभियत संघले हंगेरीको विद्रोहलाई दमन गरेर आफ्नो औकात देखाएको थियो । त्यसले १९६० मा अमेरिकाको जासुसी जहाज खसालेको थियो र त्यही वर्ष क्युबामा मिसाएल हानेको थियो । सोभियत संघले भियतनाम र क्युवाली क्रान्तिमा सहयोग पुगाएको थियो । खेल, नृत्य, सिनेमा, साहित्य, कला र विज्ञानमा सोभियत संघ अग्रणी स्थानमा थियो । उसको महाभूल र महाशक्तिले राख्नुपर्ने मर्यादाको ख्याल गर्ननेर खाएकोको चिप्लेटी सन् १९७९ मा अफगानिस्तानमा फौज पठाउनु थियो । सन् १९८९ लक्ष्यभेदन नगरी रुसी सेना अफगानिस्तानबाट स्वदेश फर्कियो ।

अग्रजका कमजोरी सच्याएर देशको मनोवल उच्च राख्ननेर चुके । अझ उनले नियतवश नै देशको उद्धार गर्न चाहेनन् । करिब करिब युद्ध हारेको सेना र आर्थिक असन्तुलनमाथि गोर्बाचोभको गद्दारी थपिएपछि महाशक्ति राष्ट्रको समेत आन्तरिक जीवन माकुरी माऊको जस्तै अस्तव्यस्त र संकटग्रस्त भयो । भ्लादिमिर लेनिन, जोसेफ स्तालिन, जर्र्जी मेलेन्कोभ, निकिता खुश्चेभ, लियोनिड ब्रझनेभ, युरी आन्द्रोपोभ, कोन्सटंटिन चेरनेंकोभको लामो विरासतका रुपमा रहेको सोभियत संघ अन्ततः गोर्वाचोचको पालामा विघटन भयो । उनले २८ वटा महाधिवेशन सम्पन्न गरी सकेको सोभियत संघको कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाए । गोर्बाचोभका कारण २ करोड २४ लाख वर्ग कि. मी.मा फैलिएको सोभियत संघ १५ वटा देशमा विभाजन भयो । क्रमशः (१) रुस (२) जर्जिया (३) युक्रेन (४) माल्दोवा (५) बेलारुस (६) आर्मेनियाँ (७) अजरबैजान (८) कजाकस्थान (९) उज्वेकिस्तान (१०) तुर्कमेनिस्तान (११) किर्गिजस्तान (१२) ताजिकिस्थान (१३) एस्टोनिया (१४) लाटभिया (१५) लिथुवानियाँ अस्तित्वमा आए । अन्तर्राष्ट्रिय सन्धिअनुसार १ करोड ७१ लाख ३० हजार बर्ग कि. मि. क्षेत्रफल रहेको रुसलाई सोभियत संघको उत्तराधिकारी मानियो ।

यसरी आफ्नो देश र पार्टीको माकुरे भु्रण साबित भएका मिखाइल गोर्बाचोभको नाम विभिन्न उपमा र किस्साहरु बनेका छन् । ‘एउटा मान्छे जसले एक महान् साम्राज्य गुमायो भनेर गोर्वाचोभलाई उडाउने गरिन्छ । बीसौ शताब्दिका सर्वश्रेष्ठ गद्दार पनि उनैलाई घोषणा गरिएको छ । गद्दारहरुका हकर्तहरुमा कीर्तिमान कायम गर्ने गोर्बाचोभको जन्म २ मार्च १९३१ मा भएको थियो । उनले सन् १९६१ को २२ औं पार्टी महाधिवेशनमा भाग लिए । यसै महाधिवेशनमा खुश्चेभले २० वर्षभित्र सोभियत संघको प्रतिव्यक्ति आम्दानी अमेरिकाको भन्दा बढी बनाउने घोषणा गरेका थिए । गोर्बाचोभ सन् १९६३ मा स्टाभरोपोल क्षत्रिय समितीमा ओगिन्स विभाग प्रमुखमा पदोन्नति भए । उनी सन् १९८५ मा सोभियत संघको कम्युनिष्ट पार्टीको महासचिव चुनिए । यस पदमा उनी सन् १९९१ सम्म कायम रहे । सन् १९८८ मा उनी सोभियत संघको राष्ट्रपति भए । १९८९ मा उनी सर्वोच्च सोभियत संघको अध्यक्ष भए । शक्तिमा आउना साथ उनले सोभियत संघ आश्रित पूर्वी युरोपका अन्य समाजवादी देशमा आएको संकटमाथि उदासिनता देखाए । देशभित्र कम्युनिष्ट विचार, दर्शन र व्यवस्था विरोधी किताव माथिको प्रतिबन्ध हटाए । राजबन्दीहरुलाई रिहा गरे । सरकारी नीतिको आलोचना गर्न प्रेसलाई प्रोत्साहित गरे । मजदुरहरुलाई हडताल गर्ने अधिकार दिए ।

नःसंरचना र खुलापनका नाममा आत्मसमर्पणकारी नीति अवलम्वन गरे । अन्ततः कुनै बेला क्युबादेखि भियतनामसम्म हंगेरीदेखि अफगानिस्तानसम्म शक्ति देखाउने सोभियत संघलाई गोर्वाचोभले नाकै मुनी बर्लिन पर्खाल ढल्दा समेत रमिते बनाए । यसबाट हौसिएका सोभियत संघभित्रकै ११ वटा राज्यहरुले सन् १९९१ को २१ डिसेम्बरमा ‘स्वतन्त्र गणतन्त्रहरुको मण्डल’ घोषणा गर्दा पनि सोभियत संघले प्रतिक्रिया जनाउन सकेन । सोभियत संधको उत्तराधिकारका रुपमा रुस आयो र रुसी राष्ट्रपति बोरिश यल्तसिनले २५ डिसेम्बरमा सत्ता समाले । यता गोर्वाचोभ सोभियत संधको राष्ट्रपतिको कुर्सीमा रहिरहे । बिना देशको राष्ट्रपतिको बेइजती उनले तीन दिन भन्दा बढी खप्न सकेनन् । चार वर्ष अघि शानका साथ क्रेमलिन प्रवेश गरेका गोर्बाचोभ अन्ततः रुजेको बिरालो जसरी लुरुलुरु घर फर्के, जसरी माधव नेपाल बिना दलको वरिष्ठ नेता भएर दशथरिको दैलो चहारिरहेका छन् ।

एमाले पंत्तिले कहिलै पनि मनमोहन अधिकारी र मदन भण्डारीले कांग्रेस वा अन्य कुनै वामपन्थीको दैलो चहारेको देख्नु परेन । अधिकारी र भण्डारीले एमाले पंत्तिलाई सिकाएको शिक्षा जनतामा माझ रहने, जनतामै घुलमिल हुने हो । जनताको घरदैलो र जनता जनाद्र्धनको न्यानो काखमा रहनबस्न एमाले पंत्तिलाई उत्प्रेरित गर्ने मदन भण्डारीको जोडबल जनताको राजनीतिमा स्वाभिमान र इज्जत उच्च रहनुपर्छ भन्ने थियो । मदनको सहकर्मी हुँ भनेर आफ्नो विज्ञापन आफै गर्न धक नमान्ने माधव नेपालको अचेल साँझ बिहान लज्जाहीन उठबस र स्वाभिमानहीन आउजाऊ देउबा र दाहालको दैलोमा चलेको छ । देउबा र दाहालले नबोलाउँदा पनि नेपालले नक्कली बुढानीलकण्ठधामहरु दर्जनौं पटक चहारेपछि एमालेलाई भाउन्न भैरहेको छ ।

धार्मिक हिसाबले पनि स्वस्थानीबाट च्युत भएर होली वाइनका प्रमुख प्रायोजक परस्थानी माधवको पछिल्लो उठनबसनबाट एमालेमा ठूलो पहिरो ल्याउने कांग्रेस-माओवादीको अभीष्ठमा धक्का पुगेको छ । त्यसैले रणनीति एकाएक बदलिएको छ । नाङ्गिएका माधव नेपालका पछि स्वाभिमानी एमालेजन नलाग्ने र लागेकाले पनि कोर्स करेक्सन गर्ने लहर चलेपछि विपक्षी मोर्चाले भ्रमजालको अर्काे संस्करणको आवश्यकता महशुस गरेको छ । एमाले पत्तिमा व्याप्त माधवप्रतिको घृणा कम गर्न एमाले विरोधी निर्दलीय गठबन्धनले हिसाबकिताब सहित ‘भक्तको कुटीमा प्रभूको पाउकष्ट’को नीति प्रयोग गर्दै दर्जनौं तारिख लगाईको बदलामा माधव निवासमा देउबा र दाहालको पाउकष्टको नाटक मञ्चन गरेको छ ।

रतन्धो लागेका भेडाका अगुवाको पछि लाग्दा बथान नै भिरबाट खसेर सकिन्छ भन्ने चेतना नभएको माधव मण्डलीले आफ्नो कुरुप स्वाभिमानहीन अनुहार लुकाउन कुतर्कको खेती गर्दे भन्दैछ– ‘पहिला देउबा निवास धाउने त ओली हुन् ।’ ओलीको प्रयास आफ्नो नेतृत्वको सरकारमा कांग्रेसलाई ल्याउने थियो । दुलही ल्याउन दुलाहा ससुरालीमा बाजागाजा सहित जानु लाजघिनको विषय होइन बरु शान सौकतको प्रदर्शन हो । ओलीका हरेक पहलकदमीमा स्वाभिमानको सुगन्ध हुन्छ तर देउबा र दाहालको दैलोमा माधवको लज्जाजनक आउजाऊको मक्सत उनीहरुको पुच्छर बन्नु हो र एमालेका विरुद्ध रणनीतिक दास बन्नु हो ।

पार्टीको ह्वीप नमानेर, संविधान, कानुन र दलीय अनुशासन कुल्चिएर, दलीय आचरण र मर्यादा नाघेर अनैतिक, असंवैधानिक, अलोकतान्त्रिक, असंसदीय अभ्यास सहित आफ्नो पार्टीको सरकार ढालेर कांग्रेस पोस्न थालेको यो घटना एमाले संस्कारको विपरीत छ । एमाले जस्तो काँध थाप्ने महानायक शक्ति नपाउँदा वीपी र पुष्पलालको जीवन दुःखान्तमै बित्यो । एमाले जस्तो जिँउदो शक्तिको साथ पाउँदा निरसतामा बित्न थालेको गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाको जीवन रसिलो, पोसिलो र रंगिलो बन्यो । अग्रजलाई सम्मानल जनतालाई श्रद्धा, शत्रुलाई दमन र युवापुस्तालाई प्रेरणाको भाषा बोल्नु एमाले संस्कारको चिनारी हो । माधव नेपालको यो शत्रु पूजा एमाले संस्कारको घोर अपमान हो । एमालेधर्मबाट यसरी च्यूत भएकाले माधव नेपाल यो शताब्दिका सबैभन्दा ठूलो गद्दार भएको पुष्टि हुन्छ ।

घेराबन्दीमा एमाले
विश्वमा आक्रामक अवस्थामा रहेका पूँजीवादी प्रजातन्त्रवादीहरु नेपालमा एमालेले जनताको विश्वास जित्दै अघि बढ्दै गरेर चुनावमा पूँजीवादी पार्टीहरुलाई नै उल्टै पराजयको स्वाद चखाएकोमा मदन–मनमोहनको पालादेखि नै बेखुसी थिए र छन् पनि । राजा, कांग्रेस वा माओवादीको घानमा पारेर एमालेलाई समाप्त पार्नकै निम्ति धेरै चलखेलहरु भए । जनयुद्धदेखि प्रतिगमनसम्मका सबै गलत र अलोकतान्त्रिक शक्ति अभ्यासहरु मूलतः एमालेको उदय र संभावनाहरुप्रतिका जलनका उपज थिए । २०६५ साल चैत्र १३ गते बुटवलमा माओवादीले प्रचण्डमान थैबको हत्या कुनै भवितब्य वा फौजी गल्तीका कारण भएको थिएन । किनभने त्यसको एक महिना अघि २०६५ साल फागुन ५ गते एमालेको आठौं महाधिवेशनको उद्घाटन सभामा उर्लिएको जनसागर देखेर प्रचण्ड मन जलेको थियो । नेतृत्व तहमा आफूप्रति बफादार पामरहरु भए पनि बुटवलमा ओइरिएको जनताको समुन्द्र र एमाले कार्यकर्ता पंत्तिको उत्साह देखेर प्रचण्डमा बेचैनी, जलन र ईश्र्या पैदा भएको थियो ।

वास्तवमा भन्ने हो भने त्यो दिन एमाले माथि प्रचण्डका आँखा लागेका थिए । एमालेको त्यो महाशक्ति देखेर प्रचण्ड जस्तो आफ्नो लागि अतिरिक्त चलाकी गर्नमा माहिर खेलाडीलाई आफ्नो शान सौकत ‘चार दिनको चाँदनी फेरि अँधेरी रात’ हुने भय पैदा भयो । समयले आज प्रष्ट पनि पारिसकेको छ कि पाण्डवहरुको उत्थानमा आफ्नो भविष्य नदेख्ने दुर्योधनमाझै एमालेको प्रत्येक जयमा आफ्नो क्षय देख्नमै प्रचण्डको जुनी बितेको छ । एमालेको पुनरोदय भएरै छाड्ने संकेत बुटवलमा देखापरेपछि माओवादीले हिसाबकिताव सहित प्रचण्डमान थैबको हत्या गर्यो । ताकि देशभर सन्देश जावस् कि एमालेले शक्ति प्रदर्शन गरेको थलोमै चिलले कुखुरा उठाए जस्तै गरी माओवादीले आक्रामक कार्यबाही गर्ने सामथ्र्य राख्छ । घटनाप्रति दुःख व्यक्त गर्नु र क्षमा माग्नु त कता हो कता वाईसीएलको एक कार्यक्रमलाई प्रधानमन्त्रीमा बहाल रहेकै बेला एमालेमाथिको फतवालाई थप हौसला दिदै प्रचण्डको दम्भी र असहिष्णु भाषण आयो– ‘यहाँहरुको बीचमा उभिदै गर्दा मलाई पनि पेस्तोल उठाऊँ उठाऊँ जस्तो भएको छ ।’ पछि यही अभिव्यक्तिलाई पक्रिएर संसद्मा कांग्रेस नेता लक्ष्मण घिमिरेले विरोध जनाएपछि प्रचण्डले संसदमा मनदेखि नभए पनि भनिटोपल्नलाई माफी माग्नुपरेको थियो ।

‘पृथ्वी भन्दा गरौं के छ भार ?
बाबुको काँधमा छोराको काठ ।’

प्रचण्डको प्रेरित उद्दण्डताका कारण पुराना कम्युनिष्ट नेता अम्विकाप्रसाद थैबले यस्तै निर्मम नियति भोग्नु पर्यो । अरुको घरको खुशी र खुशियाली अनाहकमा खोस्ने प्रचण्डले पनि कालान्तरमा बुढेशकालको एक मात्र सहारा गुमाउनु पर्यो । आफुलाई नपर्दासम्म यस्ता कृत्यप्रति पश्चाताप र नियन्त्रणको आवश्यकतावोध प्रचण्डलाई कहिलै भएन । अधिनायकवाद र विस्तारवादले अपूरनीय क्षति भोगेको घटना पनि सेनापति काण्ड नै थियो । त्यस यता ओलीले कहिलै पनि पिठ फर्काउनु परेको छैन । सिक्कमको संसदलाई भारतको स्वार्थ अनुसार कठपुतलीझै नचाएको इतिहास नेपालमा प्रयोग गर्ने र प्रतिरोध गर्ने शक्ति बीचको टक्करको परिणाम हो । एमाले–माओवादी एकीकरणमा प्रचण्डको मक्सत र भारतीय रुचि ओलीको कमजोर स्वास्थ्यतिर परिलक्षित रहेको यथेष्ट आधार र प्रमाणहरु जुटिसकेका छन् । सकभर सिंगो देशमाथि, त्यो नभए एमालेमाथि पन्जाबको अंग्रेज परस्त भारदारी सभाको इतिहास दोहोर्याउनको लागि तत्कालि न नेकपाका माथिल्ला संयन्त्रहरु जस्तो कि सचिवालय, स्थायी कमिटी र संसदीय दललाई नियोजित रुपले निरन्तरको षडयन्त्रको प्रयोगभूमि बनाइको थियो ।

एमाले पुनस्र्थापित भएपछि ओलीप्रेरित कार्यकर्ता र युवापुस्ताप्रतिको जलनले देउबा शरणम् गच्छामी र मोदी गच्छामीको भाषा बोल्ने र वामपन्थी कित्ताको भेदरेखा भुल्ने प्रचण्ड, माधवको कृतघ्नताले युद्ध संचालक आफ्नै सेनामाथि गरेको कृतघ्नतालाई माथ गरेको छ । यही चक्रलाई तोड्दै प्रगतिशील, देशभक्त र लोकतन्त्रवादीहरुले सकारात्मक विरासतहरुको रक्षा गर्नु आजको राष्ट्रिय अविभारा र लक्ष्य बनेको छ ।

कम्युनिष्ट पार्टी र शासकीय गुण
लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टीका प्रायः सबै घटकहरु बिद्रोही र प्रतिपक्षी भूमिकामा रहे । फलतः सत्ताको केन्द्र भाग र राजनीतिको मूलधारमा पुगेर पनि वामपन्थी घटक र वामपन्थी नेतामा शासकीय गुण, सुझबुझ र परिपक्वताको अभाव देखिने गरेको छ । जनताको सेवा गर्न, विश्वास जित्न, आशिर्वाद पाउन, साथ र समर्थन जुटाउनका लागि जनताको मनखुश राख्न कम्युनिष्ट सरकार भगिरथ प्रयत्नका साथ लाग्नुपर्ने बेला पुनः सत्ता प्राप्तीको दाउ हेरिरहेका अस्थिर राजनीतिका भाइरस भूपूप्रधानमन्त्रीहरु एउटा सानो क्लबको मनखुश पार्नमै ठिक्क हुनुपर्ने अवस्था आयो । दुःखीजनको मन बुझाउन खोलिएका दल केही थान दुःखीमनका लागि सम्पूर्णढंगले केन्द्रित हुनुपर्ने स्थिति रहेसम्म लोकतन्त्रले सम्पूर्ण सुवाससहित निखरित हुन पाउने छैन । राष्ट्र एक वृहत परिवार हो, जहाँ सानो परिवारमा बाक्लो दाल खान खोज्ने संकीर्ण सोच काम लाग्दैन । पार्टी र देशलाई लैनो भैँसी ठान्ने र यसका निम्ति जे पनि गर्न सरम नमान्ने प्रचण्ड–माधवका मिल्दा स्वभावले गर्दा राजा, कांग्रेसको असफलता पछि नेपालको वामपन्थी आन्दोलनले नेपालको मियो बन्न पाएको दुर्लभ अवसर सदुपयोग नहुने खतरा बढेको छ ।

अधिनायकवादीहरुले एक पटक सत्ता हत्याएपछि कहिलै सत्ता हस्तान्तरण गर्दैनन् । पूँजीवादी प्रजातन्त्रवादीहरुले कम्तीमा एक कार्यकालसम्म पार्टीमा पार्टी प्रमुखलाई र सरकारमा सरकार प्रमुखलाई निर्धक्कसँग काम गर्न दिने सुझबुझ र त्यही मुताबिकको राजनीतिक संस्कार (Political culture) बिकास गरेका छन् । पार्टीसत्ता र राज्यसत्तालाई आफ्नो हकमा आजीवन एक जना मात्र सर्वेसर्वा हुने अधिनायकवादी बिकल्पमा गैहाल्ने र अर्काको हकमा एक कार्यकाल पालो पर्खन समेत धैर्य नगर्ने प्रचण्ड–माधवको संकीर्णतामा मुखमा बहुदलीय जनवादी राम राम बगलीमा अधिनायकवादी र अवसरवादी छुराको बांगो नियत पढ्न सकिन्छ । यस्तै लोभिपापी पात्र र प्रवृत्तिका कारण नेपालको वामपन्थी आन्दोलन झिँगे चित्तका अक्कड नेता उत्पादन गर्ने कारखाना बन्ने खतरा छ । जबकि आवश्यकता चौडा छात्ती र दूरदृष्टिको छ । यो देश अलोकतान्त्रिक व्यवस्था, निरन्तरको वाह्य हस्तक्षेप, भ्रष्टाचार र राजनीतिक अस्थिरताले थला परेको देश हो । देशलाई उठाउन लोकतन्त्र, देशभक्ति, स्वाभिमान र राष्ट्रिय एकता, समानता र सामाजिक न्याय, सुशासन र पारदर्शिता, बिकास र समृद्धि जरुरी छ । राजनीतिक स्थिरतामा मात्र यी सबै कुरा संभव हुन्छन् ।

जागेका जनता र इशारा बुझ्ने युवापुस्ता
राष्ट्रको साह्रो गाह्रोको वास्ता नगरी आफ्नो महत्वाकांक्षाको रोटी सेक्न जे पनि गर्ने प्रवृत्तिलाई युवा पुस्ताले धुलो चटाउँदै आएको सिलसिला पनि छ । २०५४ सालको वामदेव गौतमको फुटवादी हुँकारलाई साम्य पार्नु, राजाको प्रतिगामी कदमको बिरुद्धमा लोटा फुटाल्नेको गाग्री फुटाल्ने नीति लिनु, माओवादी अधिनायकवादको नसबन्दी गरिदिनु र नाकाबन्दी कार्डलाई उल्टै भारतलाई नै चेत बाबाकाशी बनाउन सक्नु यो शताब्दिमा नेपाली जातिले प्राप्त गरेका महानतम् उपलब्धि र विजयश्रीहरु हुन् । युवाहरुको हरेक पुस्ताको नसा नसामा सल्बलाएको राष्ट्रवाद र देशभक्तिको रगतले नेपालमाथिका कुनै पनि षडयन्त्रहरु खारेज गर्र्ने सामथ्र्य राख्दछ । हाम्रा पुर्खाले हामीलाई दिएको चेतनाको अखण्डज्योति ‘सत्यमेव जयते’ हो र ‘सिंहमेव जयते’ होइन । जोरीपारीलाई सत्यको विजय हुन्छ र सिंहको विजय हुँदैन भन्ने सबक सिकाउने औकात नेपाली जातिसँग थियो, छ र रहने छ ।

चुनौती माथि हाबी हुने गरी चेतको आपूर्ति गर्न सक्ने जनता जनाद्र्धन भएको देशले मात्र अस्तित्वको परिचय पत्र बारम्बार नवीकरण गर्न सक्छ । कुनै बेला पन्जाव र नेपाल शक्तिमा बराबरी थिए । अझ १८६६ साल असार २४ गते भएको एक सन्धि अनुसार तीन वर्ष लामो काँगडा किल्ला घेराउ अभियानबाट नेपाल पछि हटेर सतलज नदीवारि फर्कनु परेको थियो । यति भएर पनि नेपालले चन्द्रसूर्य ध्वजा फहराइरहेको छ तर पन्जावले अंग्रेजसामु अस्तित्वबाट हात धुनु प¥यो । आजसम्म पनि भारत र पाकिस्तानको तानातानमा परिरहेको छ । नेपालले एशियाकै जेठो राष्ट्रको ख्याति युगदेखि युगसम्म कमाउँदै र बचाउँदै आएको छ ।

बाठो ब्वाँसो र निर्धा अर्ना
“राष्ट्रपति तपाईँ हो, तपाईँ नै हो” भन्दै एकैसाथ गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, साहना प्रधान र रामराजाप्रसाद सिंहका कानमा चिनी हाल्ने ठग शिरोमणिको अवतरण नै अहिलेको नेपालले भोग्नु परेको मूल समस्याको नाभीस्थल हो । सके अधिनायकवादी नसके अवसरवादीको हाकाहाकी ठगीलाई जनताले सँधै क्षमा दिने अवस्था रहेन अब । पुष्पकमल दाहाल प्रचण्डको इमान्दारिताको अभावको अलिखित खातामाथि जनताको अदालतले कार्यबाही प्रव्रिmया सुरु गरिसकेको छ । २०५० को दशकको कांग्रेसको ईश्याले दरवार र दिल्लीसँग, एमालेको गति, लय र संभावनामा क्षति पु¥याउन गिरिजाप्रसाद कोइरालासँग, गिरिजाप्रसाद कोइराला र कांग्रेस रोक्न एमाले र फोरमसँग, माधवकुमार नेपालको सरकार ढाल्न झलनाथ खनालसँग, एमाले–कांग्रेस गठबन्धन तोड्न तथा सुशील कोइरालामाथि प्रतिशोध साँध्न ओलीसँग, ओली र एमाले ताछ्न देउबासँग, ओलीको लोकप्रियताप्रतिको जलनले माधव, झलनाथसँगको हिमचिम, निकटता, साँठगाँठ प्रचण्डको उपयोगितावादी एबं अवसरवादी राजनीतिको सिलसिला हो ।

एकका बिरुद्ध अर्कालाई उपयोग र काखैमा रहेर पनि छुरी धस्ने र सुम्सुम्यार सिध्याउने प्रचण्डको चर्तिकला देखेर वनका ब्वाँसाहरु पनि छक्क पर्ने अवस्था छ । प्रचण्डको प्रयोग गरी एमालेको बेग रोक्न खोज्ने गिरिजाप्रसाद कोइरालाको निष्कर्ष ब्वाँसोले आफ्नो शरीरको लुतो हटाइदेला ठान्ने सोझो अर्नाको जुम्स्याइँ जस्तै थियो । आज पनि ब्वाँसोको फन्दाको चाल नपाउने सोझो अर्ना प्रवृत्ति जब्बर छ । गुटगत स्वार्थ र दलगत स्वार्थलाई शिरान हालेर प्रचण्डको शरण पर्ने माधव नेपाल, वामदेव गौतम, शेरबहादुर देउबा, रामचन्द्र पौडेलहरुको जुम्स्याई राष्ट्र रक्षा र समृद्धिको प्रमुख तगारोको रुपमा रहेको छ । केपी ओली पे्ररित एमालेको आँट, अठोट र औकातदेखि डाह गरेर प्रचण्डबाटको पीडा बिर्सने होडबाजी नै प्रचण्डको बेइमान राजनीतिको बजार हो ।

नेपाली जनताको चेतनाको दियो भने भिन्नै छ । प्रचण्डले पारेको देश ऐठनप्रतिको जनताको जागरण, हस्तक्षेप र जनदण्ड सराहनीय छ । मिल्नेसँग नौनीको डल्लो र चिल्नेसँग बिच्छीको चल्लो हुँदै २०३० को दशकदेखि नेपालको राजनीतिमा प्रभाव जमाउँदै आएका जनताको बहुदलीय जनवादीहरु मात्र प्रचण्डको आँखाको चाल बुझ्न सक्छन् र प्रकट वा छद्म दुबै अवस्थाको अधिनायकवादका लागि निदहरामका विषय बनेका छन् । एमाले पार्टीको शक्ति ऐठन र देशको शक्ति ऐठन गराउने तत्वलाई जनदण्डको भागेदार बनाउन सक्ने गरी जनमतको निर्माण र जनपरिचालन गर्न सक्ने कला नै बहुदलीय जनवादीहरुको उदयको आधार हो । आफ्नो उत्कर्षकालमा कांगे्रसले ‘खोपडी भएको तर खुट्टा नभएको नेता’का रुपमा कृष्णप्रसाद भट्टराई र ‘खुट्टा भएको तर खोपडी नभएको नेता’का रुपमा गिरिजाप्रसाद कोइरालालाई पायो ।

आजको कांग्रेस त खोपडी र खुट्टा दुबै नभएका नेताहरु थन्काइएको कन्टेनर मात्र हो । फलतः कांग्रेस चुनौतीलाई चिन्न र चिर्न असफल भयो र अझै सुध्रने छाँटकाँट छैन । एमालेले इतिहासको निर्णायक मोडमा जननेता मदन भण्डारी र राजनेता केपी ओली जस्ता तेजकरार महानायकहरु पायो । जनताको सचेतना, जनताको एकता, जनताको शक्ति र जनताको आशिर्वाद नै चुनौतीहरुसँग जुध्ने सबैभन्दा भरपर्दाे हतियार हो । जनताको एकीकृत पहल र हस्तक्षेपप्रतिको निष्ठा, कला र संस्कारले युवाहरुको हरेक पुस्तालाई युक्त पार्नमा जनताको बहुदलीय जनवादी स्कुलिङका महागुरु भण्डारी र ओलीको जोडबल रहने गर्यो ।

सचेत, संंगठित र आन्दोलित जनता, इशारा बुझ्ने गतिशील र अनुशासित युवा पुस्ता र समय चेत बोकेको सुविचारित विचार सिद्धान्त भएको राजनीतिक दल कसैले चोर औंलो ठड्याउदैमा कुहेर जाने फर्सी कुभिण्डो होइन । ‘मोदीमय भारत’को लागि बेचैनीको विषय ‘ओलीमय नेपाल’ बन्नुको आधार नै नेपाली जनताको असली औकात हो र हिमालयजस्तै उचो, मजबुत, शान्त र स्निग्ध स्वाभिमान हो । ओली प्रेरित युवा पुस्ता नै एमालेको शक्ति ऐठन पार्ने माधव–झलनाथ प्रवृत्तिको लागि आँखाको कसिंगर हो र नेपालको शक्ति ऐठन पारेर भारतीय हस्तक्षेपलाई सघाउने प्रचण्डहरुदेखि नेपालीको स्वाभिमानप्रति ईश्या गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मकाको साझा टाउको दुःखाईको विषय हो । प्रचण्ड र माधव नेपालहरुलाई गुजारा चलाउन ओलीको टेबल उल्टा नपारिभएको छैन र भारतका लागि कम्फरटेबल नबनिभएको छैन तर बहुदलीय जनवादीहरुले जनताको एकता मजबुत पार्दै, विश्वास जित्दै, आशिर्वाद थाप्दी मोदी भक्तहरुलाई हप्काउने हैसियत हासिल गर्नु छ र कायम राख्नु छ ।

तमासा र जागेका जनता
नेपालको राजनीतिमा तमासा देखिनुमा प्रमुखरुपमा तीन पक्षले काम पाएको छ । एकातिर जागेका जनता र भारतीय वक्रदृष्टि बीच टक्कर छ । अर्कोतिर भारतद्वारा पालित, पोसित, प्रशिक्षित र परिचालित एजेन्ट र कठपुतलीहरुको जगजगी तेश्रो पक्षको रुपमा रहेको छ । कमजोर लोकतन्त्र र विभाजित जनमतमा अधिनायवाद र हस्तक्षेपलाई समान लाभ रहँदै आएको लामो सिलसिला छ । प्रकट अधिनायकवाद नखप्ने भएपछि प्रचण्डको छद्म अधिनायकवादी चलखेल जारी छ । नेपाल माथिको हस्तक्षेप मह्रंगो साबित भएपछि भारत पनि रन्थनिएको छ । पछिल्लो कम्फरटेबल साहित्य जुन रचिएको छ, नवीनतम षडयन्त्र र चोमोमोचोको अभिन्न र नवीकृत हिस्सा हो । प्रचण्ड र भारतका छक्कापन्जाका अगाडि लोभी, अदूरदर्शी, पामर र निर्देशित नेताहरु मैनझै पग्लिए पनि ओली नगल्नुमा देशभक्ति र दूरदृष्टिको रसायनले काम पाएको छ ।

भूकम्पले ढालेको धरहरा, माधवले ढालेको एमाले, प्रचण्डले गालेको सेना र गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई सुम्पिएको लोकतन्त्र फेरि उठ्नुको एक्लौटी श्रेय ओलीलाई जान्छ । सन्तसँग सरल, शालीनसँग नरम, विद्धतसँग विद्धत र घामडसँग महाघामड बन्न सक्ने ओलीको बहुआयामिक ब्यक्तित्व संकटग्रस्त नेपालका लागि झाडापखालका बिरामीलाई जीवनजल सरह साबित भएको छ । प्रचण्ड ईच्छा नहुँदा नहुँदै पनि हिंसा त्याग्न बाध्य हुनुमा, अधिनायकवादी अभिष्ट लुकाउन बाध्य हुनुमा, जनसमुदाय र विश्व समुदायको आँखामा छारो हाल्नका निमित्त सही शक्ति पृथकीकरणको लोकतान्त्रिक जनै लगाउनुमा, प्रकट अधिनायकवादलाई छद्म अधिनायकवादको स्वरुप दिनमा, चुनाबी तालमेल र एकताको नाटक मञ्चन गर्नुमा बहुदलीय जनवादी विचारधाराले पारेको चेपानको महत्वपूर्ण भूमिका रहेको छ । राज्य र सेनाको सिप नचलेको अधिनायकवाद र उग्रवामपन्थ जुम्ल्याहा ठगलाई लोकतन्त्रको परेड खेलाउनु जनताको बहुदलीय जनवादीहरुले पाएका सफलता मध्ये महान्तम र सर्वश्रेष्ठ सफलता हो ।

मरेको बाघको जुँगा उखेल्नु र ढलेको रुखको टुप्पो चढ्नु सजिलो ठान्ने मानवीय कमजोरी राजनीतिमा यदाकादा दोहरिने खतरा रहन्छ । तर राजनीतिमा हासिल गरेका सफलता वा चिर्न सकेका चुनौतीलाई सानो सम्झने मानवीय कमजोरी नै कालान्तरमा गएर राजनीतिमा भयावहपूर्ण संकटको आधार हुने खतरा हुन्छ । यसर्थ हमेशा सक्रिय राजनीतिको अर्जुनदृष्टिमा युवाहरुको हरेक पुस्तालाई जनताको संघर्षले स्थापित गरेका उपलब्धिहरु माथि अपनत्ववोध गराउने हुनुपर्दछ । जनताको राजनीतिले चेतना स्तरको क्षयीकरण र विचारको विस्मृतिको खतरा दोहरिन दिनु हुँदैन । जनयुद्धको उठानदेखि नै नेपाल राष्ट्र खारेजीको ठूलै षडयन्त्र भएको संकेत विभिन्न गतिविधि, चलखेल, साँठगाँठ र हर्कतहरुको समष्ठी अध्ययनबाट थाह पाउन सकिन्छ । राप्ती, भेरी र कर्णालीमा शहिद खेती र मानव ढाल उद्योग चलाएर प्रचण्ड र डा. बाबुरामलाई नोयडाको मानव तबेलामा भारतीय संस्थापनले थुनेर बिद्रोहको लगाम नै नियन्त्रणमा राख्नुको अभीष्ट के थियो ? संविधान घोषणा जस्तो राष्ट्रिय अठोट र महोत्सवबाट नेपाललाई पछि हटाउन एस जयशंकरलाई विशेष दूतका रुपमा किन पठाइयो ? प्रदीप गिरीले ख्याती र गगन थापाले संभावनासँग संझौता गरेर नेपाली कांग्रेसलाई संविधानको घोषणा जस्तो राष्ट्रिय संकल्पबाट बिमुख गराउन कम्मर कसेर लाग्नुको कारण के थियो ? एकाएक टिकापुरमा रचिएको जातीय विद्वेष, नाकाबन्दी, सीमा घेराऊको कारण के थियो ?

जनताको सराहनीय साथ, धाप र आशिर्वाद पाएर चुनाबी संग्रामबाट विजेता बनेको विश्वको एक मात्र कम्युनिष्ट पार्टीको सफलता रुपी प्रताप सूर्यलाई नेपाली राजनीतिका आग्रही लाटोकोसेराहरुले हिसाबकिताब सहित हेर्न चाहिरहेका छैनन् । ओलीको लोकप्रियताप्रतिको जलनले नक्कली बुढानीलकण्ठ र नक्कली काशी तीर्थको शरण र चरण ओली बिरोधीहरुको दैनिकी बनेको छ । भारतीय हस्तक्षेप र दादागिरीमा भन्दा ओलीमा समस्या देख्ने, ओलीप्रतिको जनलहरदेखि जल्ने र ओलीमाथि नै खनिने प्रचण्ड–माधवको सौतेनी चिन्तन वलिबुड फिल्म पद्मावतीकी नागमतीको सौतेनी प्रवृत्ति जस्तै रहेको छ

संसदले लिम्पियाधुरामाथि गरेको हकदाबी पछि नेपालको लागि जंघारको लौरो बनेको दुईहिाई बहुमत नजिकको सत्तारुढ दलको बिभाजन गर्न एकाएक ओलीबिरुद्ध प्रचण्ड, माधवहरुलाई किन उतारियो ? यी सवालहरु यस्ता आँखी झ्यालहरु हुन्, जहाँबाट हामी अधिनायवादको लोकतन्त्र प्रतिको नियत र विस्तारवादको नेपालप्रतिको हकर्तलाई चियाउन सक्छौं । प्रचण्डलाई भारतले किन घरज्वाइँलाई जस्तै पाल्यो, पोस्यो त ? यसबारेमा दरबार र काँग्रेस किन तै चुप मै चुप भए त ? आगामी दिनमा हुने त्यस प्रकारको मर्यादाको उलंघनमाथि प्रश्न उठाउने हिम्मत नेपालले देखाउन सक्ला ? यी यस्ता सवालहरु हुन्, जसले नेपालको लागि स्वाभिमानको मजबुत मेरुदण्डको आवश्यकता औंल्याउँछन् । राष्ट्र निर्माण र रक्षा एक निष्ठा, कला र विज्ञान हो । राष्ट्र रक्षा एक कठोर तपस्या पनि हो ।

निष्ठाको बारीमा विचरण गर्ने धमिरा, छेपारा र चमेरा धपाउनकै लागि हो– देशभक्तहरुको जीवन । जुन देशको, जुन पुस्ताले आफ्नो समयमा यसप्रकारको संवेग फैलाएर जनउभार ल्याउन सक्छ, त्यो देशले, त्यो देशका जनताले बर्बादी र असफलता भोग्नु पर्दैन । देशको उभोगति र अधोगति समकालीन जनताको चेतना, एकता, त्याग, जुझारुपन, तीक्ष्ण राजनीतिक सुझबुझ, देशको आफ्नो शस्त्र बल र शास्त्र बल जस्ता सामथ्र्यहरुले निर्धारण गर्दछन् । मातृभूमि नेपाल पूर्खाहरुको ठूलो त्याग, तपस्या, सुझबुझ, मेहनतले बनेको मुलुक हो । चीन र भारत जस्ता विशाल भूगोल, ठूलो जनसंख्या र विराट अर्थतन्त्र भएका देशले सिप नचलेर जुन अंग्रेज साम्राज्यसँग शिर झुकाएका थिए, त्यही अंग्रेजसँग शानदार युद्ध लडेर नेपालले संझौता र दौत्य समन्ध स्थापित गरेको थियो । नेपाल दक्षिण एशियाको जेठो राष्ट्र हो ।

जनताको सराहनीय साथ, धाप र आशिर्वाद पाएर चुनाबी संग्रामबाट विजेता बनेको विश्वको एक मात्र कम्युनिष्ट पार्टीको सफलता रुपी प्रताप सूर्यलाई नेपाली राजनीतिका आग्रही लाटोकोसेराहरुले हिसाबकिताब सहित हेर्न चाहिरहेका छैनन् । ओलीको लोकप्रियताप्रतिको जलनले नक्कली बुढानीलकण्ठ र नक्कली काशी तीर्थको शरण र चरण ओली बिरोधीहरुको दैनिकी बनेको छ । भारतीय हस्तक्षेप र दादागिरीमा भन्दा ओलीमा समस्या देख्ने, ओलीप्रतिको जनलहरदेखि जल्ने र ओलीमाथि नै खनिने प्रचण्ड–माधवको सौतेनी चिन्तन वलिबुड फिल्म पद्मावतीकी नागमतीको सौतेनी प्रवृत्ति जस्तै रहेको छ । दिल्लीका सुल्तान उलाउद्धिन खिल्जी(रणवीर सिंह)ले पद्मावती(दीपिका पादुकोण)को सुन्दरताबाट लोभिएर उनलाई पाउनको लागि चितौरमाथि आक्रमण गर्छन् । चितौरमाथिको संकटको दोष रानी पद्मावतीकी सौता रानी नागमती (अनुप्रिया गोयन्का)ले ‘पद्मावतीको सुन्दरता’ रहेको औंल्याउछिन् । यसको प्रतिवाद गर्दै पद्मावती भन्छिन्– “दोष मेरो सुन्दरतामा छैन । उलाउद्धिनको ‘खराब नजर’ र ‘खराब नियत’मा छ ।”

प्रचण्ड पथ र दिपक मनाङ्गेपथको फ्युजन
पञ्चायती व्यवस्था एक जनविरोधी व्यवस्था थियो र मरिचमानसिंह राजाको निरंकुशतालाई झन् सुदृढ पार्न एक बफादार तावेदार थिए, आफ्नो ठाउँमा छ तर आफुसामु नझुक्ने नेपाली शासकलाई नाकाबन्दी लगाएर जनताबाट घेराउन लगाउने भारतीय शासक बर्गको तरिका ज्यान बन्धकमा राखेर फिरौती असुल्ने अपहरणकारीको जस्तै थियो । यसप्रकारको धम्कीको सामना गर्न ‘हिम्मतिलो प्रधानमन्त्री’ र ‘जनताको साथ’ इतिहासको आवश्यकता थियो । किनभने एक्लै हिड्ने सबैलाई निल्ने राजा वीरेन्द्र र मरिचमान सिंहलाई गाह्रो परेकै बेला साह्रो थपेर २०४६ सालमा जनताले आन्दोलन गर्नु बाध्यता थियो । भारतले भने यसलाई गलत हिसाबले बुझेको थियो । आफ्नो रुचिमा बाधक बन्ने, आफ्नो इशारामा नचल्ने नेपालका शासकको हालत मरिचमान सिंहको जस्तो र व्यवस्थाको हालत पञ्चायती व्यवस्थाको जस्तो पार्न सकिने छ भन्ने भ्रममा भारत परिरह्यो । नाकाबन्दीको धामस दिदै प्रकट अप्रकट रुपमा भारतले नेपालका शासकलाई धम्काउने, सास्ती दिने र गलाउने गर्दथ्यो । केपी ओलीको देशभक्ति र चुनावको माध्यमबाट विजयी हुने विश्वको एक मात्र कम्युनिष्ट पार्टीका रुपमा एमाले र नेकपालाई स्थापित गर्ने हुटहुटी सुरुदेखि नै भारतलाई रुचेको थिएन ।

ओलीमा समस्या छ भन्दै मोदीको ताबेदारी गर्ने प्रचण्ड, माधव र वामदेवहरुको नागमती प्रवृत्ति आजको नेपालको राजनीतिक समस्याको चुरो हो । नाकाबन्दीको बेला नेपाली जनताले कति कष्ट उठाए नागमती प्रवृत्तिलाई मतलब छैन । आपूर्ति व्यवस्था सहज नपारेको झोकले युवापुस्ताले ढुंगामुडा गरेर ओली सरकार विस्थापित गर्ला ठानेर नाकाबन्दीको चव्रmब्यूह रचिएको थियो । यति हुँदाहुँदै पनि एमालेभित्र, वामपन्थी आन्दोलनभित्र र नेपालभित्रका ओलीबिरोधीहरुको अनुमान विपरीत ‘ओलीको निम्ति होइन हाम्रो भोलिको निम्ति’ भन्दै नाकाबन्दीको समाना गरेर नेपाली जनताले भारतको सातो उडाए । युवापुस्ताले इतिहासको एक निर्णायक मोडमा विवेक र साहस देखाएर देशलाई विजयी बनाए । हिजो खुकुरीको बलमा अंग्रेजसँग बकाइदाको युद्ध लडेका वीर पुर्खाहरुका जीवित उत्तराधिकारीको यस्तो चेत, एकता र हिम्मत देखेर विश्व समुदाय छक्क प¥यो । भारत स्वयं जिल्लियो र लज्जित भयो । यसकाप्रति स्याबासी दिनु छैन, आजतक पनि जिँउदोजाग्दो युवापुस्तालाई ‘ओलीका दास’ भन्दै जुनढंगले अपमानित गरिदै छ, यो हर्कत विनाशकाले विपरीत बुद्धिको दृष्टान्त हो । रुसले क्रिमियाँ समस्यामा आफ्नो मतलब पूरा गरे जस्तै नेपालको द्वन्द्वबाट लाभ उठाउने सपना ध्वस्त पारेको रिसले भारत खाँबो चिथोर्ने बिरालो जुनीमा अवतरित भएर ओलीका बिरुद्ध नागमती प्रवृत्तिका पात्रहरु गठजोड गर्न निरन्तर लागिपरेको छ ।

२०७७ साल जेठ २८ गते प्रतिनिधि सभाले एकमतले लिम्पियाधुरा समेटिएको नक्शा छाप्ने संकल्प प्रस्ताव पारित गरेको ठीक एक बर्ष नबित्दै तत्कालीन सत्तारुढ दल नेकपा तीन टुक्रामा विभाजित भएर ती मध्येकै प्रचण्ड खेमा र माधव खेमा देउबाको दैलोमा पुग्नु र कांग्रेस नेतृत्वमा सरकार गठन गर्न लागि परेर लिम्पियाधुरा माथि न्यायिक हकदाबी गर्ने प्रधानमन्त्री ओलीलाई सत्ताच्युत गर्न कम्मर कसेर लाग्नु देशभक्त विरुद्धको चक्रब्यूह हो । लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई प्रचण्ड सुधार केन्द्र र दिपक मनाङ्गे सुधारगृह बनाउने आँट भएरै एमालेले द्वन्द्व व्यवस्थापनमा हात हालेको थियो । आज शेरबहादुर देउबा र माधव नेपालहरुको स्वाँठ कल्ब एमाले र कांग्रेसको कोइराला–केपीकालीन चेत, आँट र स्वाभिमान बिर्सिएर प्रतिशोध र सत्तालिप्सामा उत्रिएर प्रचण्डपथ–दिपक मनाङ्गेपथ अवलम्वन गरिरहेको छ । अझ त्यसप्रतिको माधव नेपालको भक्तिभाव बिछट्टको छ । देउबालाई धोका नदिने माधवको उद्घोष छ । यो उनको कुरुप स्वाभिमानहीन अनुहार छोप्ने असफल प्रयास हो । आफ्नालाई घात र शत्रुलाई साथको अर्को नाम नै धोका हो । देउबालाई धोका नदिने भाकामा बजेको थोत्रो मादल निस्ठा नभएर एमालेप्रतिको धोकाको अर्काे किस्ता हो ।