जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १०:३२

बाँचुन्जेल नेता : आवश्यकता, रहर कि बाध्यता ?


काठमाडौं, जेठ ३२

कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षको हुनुभयो । यो उमेरमा पन उहाँ यसै साता नेकपा (मसाल) को महासचिव चुनिनुभएको छ । काठमाडौंमा भूमिगत शैलीमा सम्पन्न पार्टीको आठौं महाधिवेशनले उहाँलाई पाँच वर्षका लागि महासचिवमा चयन गरेको हो। सिंह ०३१ सालदेखि निरन्तर पार्टी नेतृत्वमा हुनुहुन्छ । त्यसयताको ४४ वर्ष (एक वर्ष आन्तरिक कारबाही) सिंह निरन्तर शीर्ष नेतृत्व (महासचिव पद) मा हुनुहुन्छ । सिंह ०५७/०५८ सालमा केही समय कारबाहीमा पर्दा मात्र नेतृत्वमा रहनुभएन ।

सिंहलाई महाधिवेशनमा पार्टीभित्र टक्कर दिने नेतै देखिएनन्। अन्य केही नेताले भित्री आकांक्षा देखाए पनि सिंहसामु नेतृत्वको दाबी गर्ने हिम्मत कसैले गरेनन्। जस्को परिणाम सिंह पाँचौंपटक महामन्त्री पदमा रहनुभयो । ‘केन्द्रीय समितिमा नयाँ पुस्ताका पनि चुनिनुभएको छ, हामी पुराना पुस्ताका पनि छौं,’ अन्नपुर्ण दैनिकका पत्रकार रामकृष्ण अधिकारीले सिंहको भनाई उधृत गर्दै लेख्नुभएको छ, ‘नेतृत्वको निर्णय महाधिवेशनले गर्ने हो। आवश्यकताले कसलाई दिँदा उपयुक्त हुन्छ भन्ने ठान्छ, उसैलाई दिने हो, मलाई आवश्यकता ठान्यो अनि आफैंले नेतृत्व लिएँ।’

सिंह २०१४ सालदेखि नै नेकपाको केन्द्रीय समितिमा छन्। वयोवृद्ध सिंहले नेतृत्व नछोड्दा नेताहरू पदमा बस्न निकै लालायित हुँदा रहेछन् भन्ने सन्देश गएको छ। सिंह भने साथीहरूको विश्वास र आफ्नो सक्रियताले नेतृत्वमा रहिरहेको जिकिर गर्नुहुन्छ । ‘लेनिनवादी सिद्धान्त भनेको नेतृत्वमा भरसक निरन्तरता हुनुपर्छ भन्ने हो। आवश्यकताअनुसार परिवर्तन पनि हुन सक्छ। तर साथीहरूको विश्वास र आफ्नै सक्रियताले मैले फेरि नेतृत्व पाएको हुँ,’ सिंहले भन्नुभयो । सिंह उदाहरण मात्र हुन्। नेपालका अन्य राजनीतिक दलभित्र पनि नेतृत्वमै टाँसिरहन चाहने धेरै नेता छन्। कतिपयले एक दशकदेखि चार दशक लामो समयसम्म नेतृत्व हाँकेका छन्।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र माले महासचिव सीपी मैनाली पनि वामपन्थी राजनीतिमा लामै समयदेखि नेतृत्वमा हुनुहुन्छ । यस्तै समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि लामो समयदेखि पार्टीको नेतृत्व सम्हाल्नुभएको छ । सेक्टर काण्डपछि ०४६ भदौमा तत्कालीन नेकपा (मशाल) का महामन्त्री मोहन वैद्य )किरण) ले सुम्पेयता प्रचण्डले नेतृत्व छोड्नुपरेको छैन। पार्टीको नाम पटकपटक फेरियो, तर पार्टी हाँक्ने जिम्मेवारी दाहालकै काँधमा छ।

दाहालले नेतृत्व गरेको नेकपा (मशाल), नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत (माओवादी), माओवादी केन्द्र हुँदै अहिले नेकपा बनेको छ। दाहालले एकल अध्यक्षदेखि सामूहिक नेतृत्वसम्म गरिरहनुभएको छ । उहाँले गत वर्षदेखि हालका प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग सामूहिक नेतृत्वमा पार्टी हाँकिरहनुभएको छ । दाहालले कहिले महामन्त्री त कहिले अध्यक्षका रूपमा निरन्तर पार्टी नेतृत्व हाँकेको तीन दशक बितेको छ। उहाँ अझै नेकपाको एकता महाधिवेशनबाट एकल नेतृत्व गर्ने योजनामा हुनुहुन्छ ।

निरन्तर नेतृत्वमा रहने अर्का नेता हुन् माले महासचिव सीपी मैनाली। उहाँ ०३५ देखि ०३९ सम्म तत्कालीन मालेको महासचिव हुनुहुन्थ्यो । ०५४ मा एमाले छाडेर मैनाली, वामदेव गौतमलगायतले माले पुनर्गठन गर्नुभयो। वामदेव ०५८ मा एमालेमै फर्किनुभयो। तर मैनाली सोही दलमा रहीरहनुभयो । माले ०५८ सालयता मैनालीकै नेतृत्वमा छ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे पनि निरन्तर पार्टी नेतृत्व सम्हाल्ने नेता हुनुहुन्छ। ८२ वर्ष पार गरिसकेका बिजुक्छे नेमकिपाको सुरुदेखि एकछत्र नेतृत्वमा हुनुहुन्छ । ०३१ सालमा नेपाल मजदुर किसान संगठनको नेतृत्वमा रहेका बिजुक्छे ०४६ पछि पार्टी आकारमा आएको नेमकिपा नेतृत्वमा हुनुहुन्छ । उहाँले गत संसद्को चुनावमा नउठेर पुस्ता हस्तान्तरण गर्नुभयो । तर पार्टी नेतृत्व भने छाडनुभएन ।

नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टीमा पनि उस्तै अवस्था छ। उक्त पार्टीको अध्यक्षमा उपेन्द्र यादव हुनुहुन्छ । सुरुमा एनजीओ बनाएका मधेसी जनअधिकार फोरमलाई यादवले ०६३ सालदेखि पार्टी बनाउनु भयो। त्यसयता उहाँले पार्टी नेतृत्व छडनुभएको छैन । उहाँले बेलाबखत अन्य पार्टीसँग एकता गर्नुभएको छ, पार्टी नाम फेरिएको छ तर नेतृत्व भने छाडनु भएको छैन । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकतापछि भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाएर यादवले कार्यकारी अध्यक्ष आफैंले राख्नुभएको छ ।

चालीसको दशकमा नेतृत्व सहज हस्तान्तरण गरेका कम्युनिस्ट नेता मोहन वैद्यको हकमा पनि पछिल्लोपटक नेतृत्व आफैमा सीमित गर्न खाजेको आरोप लाग्न थालेको छ। तत्कालीन माओवादी विभाजनपछि ०६९ सालमा वैद्यकै नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो। त्यसपछि वैद्य पनि निरन्तर पार्टी नेतृत्वमा हुनुहुन्छ । उहाँ अहिले नेकपा (क्रान्तिकारी माओवादी) को महासचिव हुनुहुन्छ। पहिले अध्यक्षात्मक प्रणालीमा रहेको सो पार्टी केही समय अगाडि राष्ट्रिय सम्मेलन गरेर महासचिव प्राणालीमा गएको हो।

राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि नेतृत्व हस्तान्तरण गर्न नचाहने नेतामै गनिनु भएको छ। उहाँले पनि ०६४ सालदेखि पार्टी नेतृत्वमा एकछत्र राज गरिरहनुभएको छ । कांग्रेसमा भने गिरिजाप्रसाद कोइराला छँदासम्म उहाँकै कब्जामा पार्टी थियो। निरन्तर १३ वर्ष सभापति बनेका कोइराला पार्टी सभापति रहेका अवस्थामा दिवंगत हुनुभयो ।