जनता टाइम्स

३२ जेष्ठ २०७६, शनिबार १८:२५

अर्थमन्त्री खतिवडाले सुनाए केरुङ–काठमाडौं सडक बिस्तारदेखि चीनबाट रेल ल्याउने योजनाको प्रगति


रसुवा, जेठ ३२

अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त बिनियोजन गरिएको जानकारी दिनुभएको छ । धुञ्चेमा आज आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले सो जानकारी दिनुभएको हो ।

अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने जानकारी पनि दिनुभयो । ‘रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव हुन्न, पर्याप्त बजेट बिनियोजन गरिएको छ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

बेत्रावती मैलुङ र धुञ्चेतर्फका दुवै राजमार्ग सुधार, स्याफ्रुवेशी, बेत्रावती शुरूङ मार्ग र चीनबाट रेल ल्याउनेजस्ता विषय सरकारको उच्च प्राथमिकतामा रहेको प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले कार्यान्वयनमा सहयोग गर्न स्थानीयबासीलाई आग्रह गर्नुभयो । दुई दिने भ्रमणका लागि शुक्रवार रसुवा आइपुग्नुभएका अर्थमन्त्री खतिवडाले नेकपा रसुवाको मागबमोजिम नौकुण्ड खानेपानी आयोजना संघीय सरकारले बनाउने घोषणा पनि गर्नुभयो ।

‘रसुवागढी नाका देशकै आर्थिक मेरुदण्ड हो । गल्छी–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक आयोजना समयमा नै सम्पन्न भएपछि केरुङ–काठमाडौं व्यापारमा बृद्धि हुनेछ,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । बेत्रावती–स्याफ्रुबेंशी सुरुङमार्गको सम्भाव्यता अध्ययन आउँदो आर्थिक वर्षबाट सुरु गरिने बताएका मन्त्री खतिवडाले रसुवाको अर्को सम्भावना जलविद्युत रहेको छ भन्दै प्रारम्भिक शेयर आवदेन गर्दा विपन्न वर्ग कर्जा लिन मिल्ले राष्ट्र बैंकको नियमको भरपुर सदुपयोग गरी समृद्ध हुन सकिने बताउनु भयो ।

रसुवागढी नाका देशकै आर्थिक मेरुदण्ड हो । गल्छी–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक आयोजना समयमा नै सम्पन्न भएपछि केरुङ–काठमाडौं व्यापारमा बृद्धि हुनेछ

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टको अध्यक्षतामा आज भएको जनप्रतिनिधि र कार्यालय प्रमखहरुको बैठकमा मन्त्री खतिवडाले रसुवामा सत्तरी प्रतिशत जनतामा खानेपानी समस्या भएको भन्दै नेकपा रसुवाले अर्थमन्त्रालयसँग गरेको मागलाई सम्बोधन गर्न मन्त्रालयले नौकुण्ड खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताउनु भयो । यस वर्ष यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको छ । आगामी वर्षको लागि केही बजेट विनियोजन गरिएको छ भने क्रमागत रुपमा दुई वर्षभित्र यो आयोजना सम्पन्न गरिनेछ ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिले धुञ्चे–गोसाइँकुण्ड केवुलकार निर्माणमा सहज वातावरण बनाई कार्यान्वयनमा लैजान, विकट स्थान रहेको आमाछोदिङ्मो गाउँपालिकालाई विकासको अनुदान बजेट थप गर्न, कालिका गाउँपालिकामा औद्योगिक ग्राम स्थापना, थुमनमा दृश्यावलोकन स्तम्भ निर्माण गर्न अर्थमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जिल्ला समन्वय समितिको भूमिका स्पष्ट नहुँदा कहाँ कसरी समन्वय गर्ने स्पस्ट परिदिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडा, संविधानसभाका पूर्वसदस्य छोवाङ तेन्जीङ तामाङ, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसमेतको सहभागिता रहेको थियो ।