जनता टाइम्स

३ असार २०७६, मंगलवार १३:२७

मह सङ्कलन केन्द्र निर्माण


चितवन, असार ३

चितवनका तीन स्थानीय तहमा मह सङ्कलन केन्द्र निर्माण गरिएको छ । नेपाली महको बजारीकरण र बाह्य महसँग प्रतिस्पर्धा गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मौरी जोन) चितवनको अनुदान सहयोगमा केन्द्र स्थापना गरिएको हो ।

खैरहनी, राप्ती र कालिका नगरपालिकामा एक/एक सङ्कलन केन्द्र निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (मौरी जोन) चितवनका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमिल्सेनाले जानकारी दिनुभयो । केन्द्र निर्माणका लागि कार्यालयले तीन स्थानीय तहमा ३४ लाख अनुदान सहयोग गरेको छ ।

मौरी किसान समिति र समूहको कम्तीमा १५ प्रतिशत सहभागिता रहने गरी केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो ।“उत्पादन गरिएको महको लटअनुसार प्रशोधन गरेर नेपाल गुणस्तरको लोगो लगाई बजारमा मह उपलब्ध गराउनु केन्द्रको मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो, “यसले सहज बजारीकण र बाह्य प्रतिस्पर्धामा सहयोग पुर्याउँछ ।”

शुरुआतको चरणमा केन्द्रमार्फत तीन स्थानीय तहका करीब डेढ सय किसान लाभान्वित हुने तिमिल्सेनाले जानकारी दिनुभयो । सङ्कलन केन्द्रको प्रभावकारिता हेरेर मौरी जोनमार्फत आगामी वर्ष योभन्दा ठूला मह सङ्कलन केन्द्र स्थापना गरिने उहाँको भनाइ थियो ।

सङ्कलन केन्द्र स्थापनासँगै कार्यालयले मह सङ्कलन हुने क्षेत्रका किसानलाई मेशिनरी औजार वितरण, तालीमलगायतका कार्यक्रम सञ्चालन गरेको छ । मौरी जोनअन्तर्गत पाँच समूहका ५५ कृषि फार्म र २१० जना व्यावसायिक मौरीपालक किसान आबद्ध छन् । आर्थिक वर्ष २०७५/७६ बाट चितवनलाई नेपालकै पहिलो मौरी जोन घोषणा गरिएको हो ।

चितवनका चार स्थानीय तह र मकवानपुरको राक्सिराङ गाउँपालिकामा मौरी जोनअन्तर्गतका कार्यक्रम सञ्चालनमा छन् । मौरी जोन सञ्चालनका लागि किसानहरुको नौ सदस्यीय सञ्चालक समिति गठन गरेर कार्यक्रम सञ्चालन गरिएको छ । चितवनमा वार्षिक ८०० मेट्रिक टन मह उत्पादन हुन्छ ।