जनता टाइम्स

३ असार २०७६, मंगलवार २३:२६

कांग्रेसलाई प्रधानमन्त्री ओलीको जवाफ : लोकतन्त्रबिरोधी हर्कत कदापि क्षम्य हुन सक्दैन


काठमाडौं, असार ३

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ससदमा प्रधानमन्त्रीलाई बोल्नसमेत अवरोध गरेपछि प्रधानमन्त्री ओलीले लोकतान्त्रिक अभ्याश यसरी जान नसक्ने बताउनु भएको हो ।

“लोकतन्त्रका नाममा गलत संस्कार र प्रवृत्तिलाई बढावा दिन लागिएको छ । त्यो कदापि क्षम्य हुन सक्दैन । आज जुन प्रवृत्ति देखा परेको छ, यसले लोकतािन्त्रक अभ्यास अगाडि जान सक्दैन । यो गम्भीर अवस्था हो”, प्रधानमन्त्रीले भन्नुभयो । लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, जनताको शासन, सार्वभौसत्ता, राष्ट्रियहित, जनअधिकारलाई खण्डित बनाउन केही तत्व लागिपरेको प्रधानमन्त्रीको भनाइ थियो ।

“घोर दक्षिणपन्थी र घोर वामपन्थी शक्ति एकजुट भएका छन् । यस्तो अवस्थामा लोकतान्त्रिक शक्तिका बीचमा सहकार्य र एकता हुनुपर्नेमा जुन स्तरको व्यवहार देखाउन खोजिएको छ । त्यसले कोही कसैको हित गर्न सक्दैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा देखा परेको प्रवृत्तिले लोकतान्त्रिक अभ्यास चल्न नसक्ने स्पष्ट पार्नुभयो ।

अहिले गणतन्त्र, सङ्घीयता, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दी भएको उहाँले बताउनुभयो । यसप्रति सजक हुनुपर्ने लोकतान्त्रिक शक्तिको एकता विथोल्न काङ्ग्रेस नै अग्रसर भएको देख्दा आश्चर्य लागेको प्रधानमन्त्रीको भनाइ छ । प्रगतिशील शक्तिमाथि प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिसँग मिल्ने नीतिकै कारण विसं २०१७ को घटना भएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “अरुले सत्तामा जाने नहुने, आफू मात्रै हुनुपर्ने, अरु सबै प्रताडित हुनुपर्ने भन्ने जुन व्यवहार देखा परेको छ । त्यसले कोही कसैको हित गर्दैन ।”

जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको लोकतन्त्र, गणतन्त्रको रक्षाका लागि लोकतान्त्रिक शक्तिबीचको एकता र सहकार्य आवश्यक भए पनि प्रमुख प्रतिपक्षी दल नै असंसदीय र अलोकतान्त्रिक व्यवहार प्रदर्शन गर्न लागिपरेको उहाँको टिप्पणी थियो । आफ्नो पार्टी र वर्तमान सरकार अरु कसैले फुत्त दिएको लोकतान्त्रिक व्यवस्थामा नआएको भन्दै प्रधानमन्त्रीले बलिदान, त्याग र शहादत गरेर, लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर सङ्घर्ष गरेर आएको प्रधानमन्त्रीको भनाइ थियो । वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको भन्दै प्रधानमन्त्रीले त्यसलाई कसरी विथोल्न सकिन्छ कि भनेर पनि केही तत्व लागिपरेको भन्दै उहाँले आवेग र उत्तेजनाले काम नगर्ने उल्लेख गर्नुभयो ।

वर्तमान सरकार जनताको सरकार भएकाले जनताको जायज मागलाई अक्षरशः पूरा गर्ने र कार्यान्वयन गर्नेसमेत प्रधानमन्त्री ओलीले बताउनु भयो । लोकतान्त्रिक मूल्यमान्यतामा असन्तुष्टि र गुनासालाई सम्बोधन गर्ने नाममा आन्दोलन नै गर्नु नपर्ने उहाँको भनाइ थियो । “वर्तमान सरकार लोकतन्त्रको मूल्यमान्यतालाई अक्षरशः पालना गर्छ, प्रेस स्वतन्त्रता, मानव अधिकार, विधिको शासनलाई सम्मान गर्छ । यो जनताको सरकार हो । केही व्यक्ति वा समूहले विरोधका लागि विरोध गर्ने प्रवृत्ति बोकेर जनतालाई भ्रम दिन खोजेका छन् । त्यो कदापि पूरा हुँदैन ।” प्रधानमन्त्री ओलीले सङ्घीयताविरुद्ध अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दीप्रति खेद व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक शक्तिले आफूबाहेक अरु पनि सत्तामा आए भने स्वीकार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यत्रो बलिदानबाट प्राप्त गरेको उपलब्धिको रक्षा गर्नु सबैको दायित्व हो भन्नुभयो । जनपक्षीय शक्तिलाई देखी नसहने कारणले विसं २०१७ आएको प्रधानमन्त्रीले स्मरण गराउनुभयो ।

प्रधानमन्त्रीले राष्ट्रिय अखण्डता र राष्ट्रियहितप्रति सरकार अत्यन्तै सजग भएको बताउनुभयो । “वर्तमान सरकार अरुले ल्याइदिएको लोकतन्त्र स्वीकारेर आएको होइन । लोकतन्त्रका लागि अग्रभागमा सङ्घर्ष गरेर आएको हो”, उहाँले भन्नुभयो, “अहिले जुन पार्टी सरकारमा छ । यो अचानक नारा लिएर सरकारमा पुगेको होइन ।” सरकार शान्ति, स्थायित्व र समृद्धिका लागि क्रियाशील रहेको बताउँदै प्रधानमन्त्रीले जो आत्तिए पनि सरकारको समृद्धिको यात्रा नरोकिने स्पष्ट पार्नुभयो ।

गुठीको संरक्षणमा सरकार क्रियाशील

प्रधानमन्त्री ओलीले गुठी संस्थानलाई पुनःगठन र व्यवस्थित गर्न खोज्दा उल्टो भ्रमपूर्ण कुरा प्रचारमा लगेर एक साता बाहिर हुँदा देशभित्र तनाव बढाउने काम भएको बताउनुभयो । “अहिले ल्याउन खोजेको विधेयक गुठी संरक्षण गर्नका लागि हो । तिनीहरु हिनामिना नभई सञ्चालन हुन् भन्नका लागि हो तर यसविरुद्धको आन्दोलनमा कस्ता कस्ता मान्छे छन् भन्ने कुरा म सम्झिरहेको छु”, उहाँले भन्नुभयो, “यहाँ त एउटा हरियो स्याउलोभित्र हजार वटा हरेउ देखापरे । यिनीहरु लोकतन्त्रको जरा काट्न हजार वटा कैँची लिएर बसेका छन् ।”

भूमि व्यवस्था तथा सहकारी मन्त्रीले गुठी विधेयक फिर्ता लिएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “यसको म दृढ समर्थन गर्दछु ।” आजै साँझ पत्रकार सम्मेलन गरेर भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले राष्ट्रियसभामा पेश गरिएको गुठीसम्बन्धी विधेयक फिर्ता लिनुभएको थियो ।

नेपाली भाषा बिग्रेकामा चिन्ता 

प्रधानमन्त्रीले केही सञ्चारमाध्यमले नेपाली भाषा बिगारेकामा चिन्ता लागेको बताउनुभयो । नेपाली समाज शिष्ट, सभ्य र मर्यादित समाज भएकाले यसको भाषा बिग्रनु आफैँमा चिन्ताको विषय भएको उहाँको जोड थियो । “हाम्रो टेलिभिजनले कसैलाई तपाईं भन्न जान्दैन, तपाईं भन्ने शब्द नै हराइसक्यो”, प्रधानमन्त्रीको भनाइ थियो ।

अहिले ल्याउन खोजेको विधेयक गुठी संरक्षण गर्नका लागि हो । तिनीहरु हिनामिना नभई सञ्चालन हुन् भन्नका लागि हो तर यसविरुद्धको आन्दोलनमा कस्ता कस्ता मान्छे छन् भन्ने कुरा म सम्झिरहेको छु”, उहाँले भन्नुभयो, “यहाँ त एउटा हरियो स्याउलोभित्र हजार वटा हरेउ देखापरे । यिनीहरु लोकतन्त्रको जरा काट्न हजार वटा कैँची लिएर बसेका छन्

सामाजिक सञ्जाललाई गुरु थापेर हाम्रा स्थापित सञ्चारमाध्यम पनि त्यतै बरालिएकामा प्रधानमन्त्रीले गुनासो गर्नुभयो । नेपाली भाषामा आदरार्थी शब्द पनि भएको भन्दै उहाँले भाषा बिगारेकामा असन्तुष्टिसमेत जनाउनुभयो ।

सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री ओलीले सञ्चार जगतलाई पनि मर्यादित र जिम्मेवार हुन आग्रह गर्नुभयो । “सञ्चार जगत लोकतन्त्रको खम्बा हो तर आज हामी सञ्चारका क्षेत्रमा सङ्क्रमणकालीन अवस्थामा छौँ, हाम्रो सामाजिक मूल्यमान्यता हराइसक्यो”, प्रधानमन्त्रीले भन्नुभयो, “हरेक भाषाको आ–आफ्नो मर्म हुन्छ तर हाम्रा सञ्चारमाध्यममा मर्म हराउँदै आएको छ । नेपाली सञ्चारमाध्यमले बाबुलाई पनि तिमी, आमालाई पनि तिमी भन्न सिकाएका छन् । यहाँबाट आदरार्थी शब्द हराइसक्यो ।”