जनता टाइम्स

४ असार २०७६, बुधबार १४:३६

तीन मन्त्रालयका विभिन्न शीर्षकमा छलफल


काठमाडौँ, ४ असार

विनियोजन विधेयकअन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमा प्रतिनिधिसभाको आजको बैठकमा छलफल जारी छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा छलफल भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी डिला सङ्ग्रौलाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ कायम गरियोस् भन्दै खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभयो ।

सरकारले नयाँ रोजगारीको क्षेत्र पहिल्याउन नसकेको आरोप लगाउँदै उहाँले श्रमका लागि विदेशिएका युवाले सामाजिक सुरक्षा नपाएको र सरकारले स्वदेशभित्र नै रोजगार सिर्जना गर्न नसकेको टिप्पणी गर्नुभयो । सोही पार्टीका सञ्जयकुमार गौतमले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा एक सय रुपैयाँ कायम गरियोस् भन्दै खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभयो ।

भौतिक पूर्वाधारका कार्यक्रम कनिका छरेजस्तो र सपनाको महल बनाउने खालको रहेको चर्चा गर्दै उहाँले जनताको आवश्यकताभन्दा सत्ता पक्षका नेताका पहुँचका आधारमा सडक पूर्वाधारमा रकम विनियोजन गरिएको आरोप लगाउनुभयो । काँग्रेसकै ज्ञानेन्द्रबहादुर कार्कीले ऊर्जा मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ कायम गरियोस् भन्दै खर्च कटौती प्रस्ताव प्रस्तुत गर्नुभयो ।

विद्युत् विकासका क्षेत्रमा नयाँ कार्यक्रम आउन सकेको छैन भन्दै उहाँले प्रसारण लाइन समयमा बन्न नसक्दा निजी क्षेत्र निरास भएको छ भन्नुभयो । सांसद कार्कीले बूढीगण्ढकी जलविद्युत् आयोजना निर्माण अगाडि बढाउनसमेत माग गर्नुभयो । नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले ती तीनवटै मन्त्रालयका विभिन्न शीर्षकको खर्च रकममा एक रुपैयाँ कायम गरियोस् भन्ने खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै हिमाल, पहाड र तराईलाई नयाँ सडक सञ्जालले जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले सरकारले नै सार्वजानिक यातायातको व्यवस्था गर्न, सडक निर्माण गर्न तथा कालोपत्र गर्न स्थानीय निकायमा पठाउनुपर्ने र काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधनको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । यसअघि शून्य समयमा संविधानको भावनाअनुरुप लोकसेवा आयोगको विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन, कञ्चनपुरका सुकुम्वासी समस्या समाधान गर्न, मिडिया काउन्सिलसम्बन्धी विधेयक सच्याउन र भ्रष्टाचार नियन्त्रण गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सरकारी अस्पतालमा बिग्रिएका उपकरण मर्मतमा ध्यान दिन, सडक दुर्घटना हुन नदिन सचेतनाका कार्यक्रम सञ्चालन गर्न र शून्य समयमा उठाइएका समसामयिक विषय के कति पूरा भयो भन्नेबारेमा सरकारले सदनमा जानकारी दिन मागसमेत गरिएको थियो । यसरी शून्य समयमा आफ्नो भनाइ राख्ने सांसदहरूमा पुष्पा भुसाल, पार्वता डिसी चौधरी, पद्म गिरी, निरुदेवी पाल, नवराज सिलवाल, नमिताकुमारी चौधरी, देवप्रसाद तिमल्सिना, देवप्रसाद गुरुङ, दिलेन्द्रप्रसाद बडू, दिव्यमणिराज भण्डारी, तेजुलाल चौधरी, डिला सङग्रैला, टेकबहादुर बस्नेत, प्रेम आले, प्रेम सुवाललगायत हुनुहुन्थ्यो ।