जनता टाइम्स

५ असार २०७६, बिहीबार ०८:२८

यसरी हुन्छ त्रिवि मै गोल्ड मेडल खरिद विक्री


काठमाडौ ।

त्रिभुवन विश्वविद्यालयमा उत्कृष्ट विद्यार्थीलाई दिइने ‘गोल्ड मेडल’ खरिद–बिक्री हुने गरेको खुलेको छ । गोल्ड मेडल खरिद–बिक्रीमा संलग्न त्रिविका एक कर्मचारी र विद्यार्थीलाई पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइरालालाई आयोगले पक्राउ गरेको हो । पाटन क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत कोइराला पेसाले अधिवक्ता हुन् ।

आफूलाई ‘गोल्ड मेडलिस्ट’ बन्ने रहरमा उनले कर्मचारी कर्माचार्यसँग आर्थिक ‘डिल’ गरेका थिए । परीक्षा नियन्त्रण कार्यालय बल्खुले लिने परीक्षामा चलखेल गर्ने कर्मचारी कर्माचार्यसहित दुईजनालाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । तर, विस्तृत विवरण आफूलाई जानकारी नभएको उनको भनाइ छ । स्रोतका अनुसार गोल्ड मेडल पाउने गरी उच्च अंक थप्न करिब पाँच लाख रुपैयाँ लेनदेन भएको छ । पनिकाका अन्य कर्मचारीमाथि समेत अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनायो ।

‘फेल भएकालाई पास गराउने र कम अंक ल्याएका विद्यार्थीलाई अंक थप्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ अख्तियारका उच्च अधिकारीले भने, ‘यसमा विद्यार्थी नेतादेखि धेरै ठूलो गिरोह सक्रिय छ भन्ने सूचना छ । एक कर्मचारीबाट मात्र अंक हेरफेर गर्ने सम्भावना देखिँदैन ।’ कर्माचार्यलाई अख्तियारले गत साता नै पक्राउ गरेको थियो भने कोइराला बुधबार पक्राउ परेका हुन् । कर्माचार्य पक्राउ परेलगत्तै कोइराला फरार भएका थिए ।

आफूले सजिलै नम्बर हेरफेर गरिदिन सक्ने भन्दै आश्वस्त बनाएर कर्माचार्यले पैसाको डिल गरेका थिए । कर्माचार्यले विगतमा पनि त्यसरी धेरैलाई गोल्ड मेडलिस्ट बनाइदिसकेको दाबी कोइरालासँग गरेका थिए । पनिकाका सबै कर्मचारीसँग आफूले सेटिङ मिलाइदिने भन्दै उनले डिलिङ गरेको अख्तियारले जनाएको छ । उनीहरूबीच डिलिङको सूचना पाएपछि अख्तियार टोलीले पिछा गरेको थियो ।

अधिवक्ता कोइरालाले चार विषयमा स्नातकोत्तर गरिसकेका छन् । आर्थिक चलखेलकै आधारमा उनले कतिपय डिग्री लिएको हुन सक्ने आशंका अख्तियार अधिकारीहरूको छ । अख्तियारको प्रारम्भिक छानबिनअनुसार बिचौलियामार्फत त्रिविका कर्मचारीले फेल भएकालाई पास गराउने र कम नम्बर ल्याएकालाई उच्च नम्बर दिलाउने गर्छन् । एउटा विषय उत्तीर्ण गर्न नै न्यूनतम ५० हजार रुपैयाँ लिने गरेको देखिएको अख्तियारका एक अधिकारीले बताए ।

बिचौलियाको काम गर्नेमा धेरैजसो विद्यार्थी नेता नै छन् । ‘गोप्य शाखामा आफूअनुकूलका कर्मचारीसमेत सरुवा गरेर यस्तो धन्दा गर्दै आएको देखियो,’ अख्तियार अधिकारी भन्छन्, ‘त्यो गिरोहमाथि नै हामीले अनुसन्धान थालेका छौँ ।’ त्रिविमा धेरै विद्यार्थी नेताले आफन्तलाई कर्मचारी नियुक्त गरेका छन् । उनीहरूमार्फत नै यस्तो धन्दा चल्ने गरेको छ ।

एक–दुईजना कर्मचारीको भरमा मात्र नम्बर तलमाथि हुन नसक्ने त्रिविका एक पूर्वपरीक्षानियन्त्रक बताउँछन् । विद्यार्थीको उत्तरपुस्तिका परीक्षकले जाँचेर माक्र्स फाइलमा नम्बर चढाइसकेपछि स्क्रुटिनीले हेर्ने व्यवस्था छ । माक्र्स फाइलमा विद्यार्थीको एउटा सिम्बोल नम्बरको प्राप्तांक दायाँ र बायाँ दुईपटक भरिन्छ । स्क्रुटिनीबाट फाइनल भएपछि दुईवटा कम्प्युटरबाट छुट्टाछुट्टै व्यक्तिले नम्बर इन्ट्री गर्छन् । दुईवटा कम्प्युटरबाट इन्ट्री गरेको नम्बर तेस्रो कम्प्युटरबाट मिल्छ कि मिल्दैन भनेर अर्को व्यक्तिले ट्याली गर्छ । दुई व्यक्तिले इन्ट्री गरेको नम्बरमा फरक परे तेस्रो कम्प्युटरको व्यक्तिले इरर थाहा पाउँछ । अर्थात् कम्प्युटरको सफ्टवेयरले नै गल्ती देखाउँछ । दुई कम्प्युटरबाट भरेको नम्बरमा गल्ती देखाए प्याकेट खोलेर उत्तरपुस्तिका हेरिन्छ । यदि केही त्रुटि स्क्रुटिनीबाट फेला नपरे वा स्क्रुटिनीबाटै त्रुटि भए उनीहरूलाई नै सच्याउन लगाउने व्यवस्था छ । तर, कर्मचारीले नम्बरमा तलमाथि गर्न मिल्दैन ।

‘कर्मचारीले माक्र्स फाइलमा भएको नम्बर कम्प्युटरमा इन्ट्री गर्न सक्छ, तर कलम चोब्न पाउँदैन,’ त्रिविका एक पूर्वपरीक्षानियन्त्रक भन्छन्, ‘यसमा एउटा व्यक्तिले चाहेर मात्र विद्यार्थीको नम्बर तलमाथि गर्न सक्दैन ।’ उनले एउटा मात्र गोप्य शाखाको व्यक्तिले चाहेर विद्यार्थीको नतिजा तलमाथि गर्न नसक्ने बताए । परीक्षामा सबैभन्दा ठूलो प्रश्न कर्मचारीको नैतिकतामा रहेको उनको भनाइ छ । ‘गोप्य शाखाभन्दा माथि अति गोप्य शाखा हुन्छ । अति गोप्य शाखामा एकेडेमिक र प्राविधिक कर्मचारी हुन्छन् । त्यसमा एकेडेमिक व्यक्तिले तलमाथि गर्न सक्दैन । प्राविधिकतर्फको कर्मचारीले नैतिकता गुमाए विद्यार्थीको नतिजा फरक पर्न सक्छ,’ उनले भने । (नया पत्रिका)