जनता टाइम्स

२६ कार्तिक २०७८, शुक्रबार ०८:५४

शासनको मजाक : पीएलाई कार्यवाहक मन्त्री


पोखरा, २६ कार्तिक । गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मनाङका युवाको किस्सा सुनाउनुभयो । भएछ के भने, जिल्लामा बहुउद्देश्यीय कभर्डहल बनाउन बजेट छुट्याइदिन माग गर्दै मनाङका युवाहरू मन्त्री भेट्न पोखरा आएछन् ।

मन्त्रीले उल्टै हप्कार भन्नुभएछ , ‘मनाङजस्तो ठाउँमा के को खेलकुद ? तिमीहरूले जानेको भनेकै तास खेल्न हो । तास खेल्नलाई कभर्डहल चाहिँदैन । २० बाई २० (फिट) को कोठा बनाए हुन्छ ।’त्यतिन्जेलसम्म अरू मन्त्रीले सम्पत्ति विवरण बुझाइसक्दा उहाँले बुझानु भएन । सम्पत्ति विवरणबारे प्रश्न गर्दा उहाँले भन्नुभएको थियो , ‘मसँग कति सम्पत्ति छ मलाई नै थाहा छैन । धेरै पैसा सापटी दिएको छु, जुन मसँग आएको छैन । आउनेवाला छ भनेर कसरी लेख्ने ?’ उहाका यस्तै अभिव्यक्तिले कतिपयले उनलाई ‘स्पष्टवक्ता’ भन्दै आएका छन् भने धेरैले ‘कमजोर’ ।

‘गुन्डा नाइके’ बाट प्रदेश सांसद हुँदै मन्त्री बन्दासम्म गरेका गतिविधिले उहाँ विवादमुक्त हुन सक्नुभएन । सांसदका रूपमा हाजिर भएको केही समयमै कास्की जिल्ला फुटबल संघका अध्यक्षलाई झापड हानेपछि उहाँलाई प्रहरीले पक्रेर हिरासतमा राखेको थियो । पटकपटक उहाँले दिएका अभिव्यक्ति पनि विवादमुक्त हुन सकेनन् । मन्त्रीका रूपमा गरेका पछिल्ला गतिविधिबाट उनले मन्त्री पदलाई नै मजाक बनाएको टिप्पणी हुन थालेको छ ।

मन्त्री गुरुङ तिहारअघि मनाङ जानुभयो । यता उहाँका सहयोगी रोनित गुरुङ मन्त्रीको कार्यकक्षमा छुट्टै टेबल राखेर विराजमान हुनुभएको थियो। टेबलमा नेमप्लेट राखियो, ‘रोनित गुरुङ, कार्यवाहक एवं प्रवक्ता’ । मन्त्रीको कार्यकक्ष पुग्ने जोकोही पनि उक्त दृश्य देखेर अचम्मित हुन्थे । कानुनमा कहीं, कतै उल्लेख नभएको मन्त्रीको कार्यवाहकको पदमा सहयोगी विराजमान भएको देखेपछि मन्त्रालयका कर्मचारीसमेत अचम्ममा परे । गण्डकी प्रदेशमा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनअनुसार मन्त्रीले पाउने भनेको एक जना शाखा अधिकृत, एक नायब सुब्बासरहको स्वकीय सचिव र एक कार्यालय सहयोगी मात्रै हो ।

रोनितले भने मन्त्री गुरुङले हिँड्ने बेलामा मन्त्रालयको काम सम्हाल्न र मन्त्रीका तर्फबाट बोल्न कार्यवाहक र प्रवक्ताको जिम्मेवारी दिएको बताउनुहुन्छ । त्यसबापत कुनै सरकारी सुविधा वा पारिश्रमिक नलिएको दावी गनुभयो । त्यसो त मन्त्री गुरुङ सांसद भएदेखि नै रोनित उहाँसँगै हुनुहुन्छ । अहिले पनि उहाले स्वकीय सचिवका रूपमा सघाउँदै आउनुभएको छ । अधिकृतस्तरको प्रमुख स्वकीय सचिवका रूपमा युनिका गुरुङ र नायब सुब्बासरहको स्वकीय सचिवका रूपमा दिक्छेन डोल्मा लामाले पारिश्रमिक र सुविधा बुझ्छन् । बिहीबार मन्त्री गुरुङ फर्किएर मन्त्रालय सम्हालिसक्नुभएको छ ।

मन्त्रालयका एक कर्मचारीका अनुसार सहयोगी रोनितले कार्यवाहकको नेमप्लेट राखे पनि मन्त्रीको अनुपस्थितिमा कुनै फाइल सदरबदर गर्नुभएन । ‘कार्यकक्ष कुरेर बस्न चाहेको जस्तो देखियो,’ उहाँले भन्नुभयो, ‘मन्त्रीलाई भेट्न आउनेजानेसँग सम्पर्कमा रहने काम गर्नुभयो ।’ मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले नेमप्लेटबारे थाहा पाएपछि हटाउन लगाएको बताउनुभयो। ‘मन्त्रीज्यूले लिखित रूपमा कुनै कार्यवाहक दिनुभएको होइन, दिन मिल्ने कुरा पनि होइन,’ उहाले भन्नुभयो ‘उहाँलाई पनि यसबारे ज्ञान नहुन सक्छ ।’