रामेछाप, ७ चैत । प्रेस चौतारी नेपाल रामेछापले चौतारीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको छ । चौतारीले जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
प्रेस चौतारी नेपाल रामेछापका अध्यक्ष नवराज श्रेष्ठको अध्यक्षता तथा नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा चौतारीमा रामेछापबाट निर्वाचित केन्द्रीय सदस्यद्धय नवराज पथिक, यसिमा महत र वाग्मती प्रदेश सदस्य लेखबहादुर विक, पार्वती पाठक र विन्दिरा रसाइलीलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै एमाले अध्यक्ष श्रेष्ठले राजनीतिक तथा सामाजिक क्षेत्रमा देखिएको विकृति अन्त्यको लागि पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रेस चौतारी नेपाल व्यवासायिक पत्रकारिताको अब्बल संगठन भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘पत्रकार महासंघमा अहिले चौतारीको नेतृत्व छैन, तर प्रेस चौतारी नेपाल भनेको व्यवसायिक पत्रकारिताको नजरमा कहिल्यै पनि कमजोर छैन, पत्रकार महासंघ भन्दा बलियो छ ।’
नेकपा एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्कीले प्रेस चौतारीको संस्थागत विकासको लागि एमाले रामेछापको नयाँ निर्वाचित जिल्ला कमिटीबाट थप सहयोग गरिने बताउँदै पत्रकारको पेशागत हित र मर्यादित पत्रकारिताका लागि चौतारीले निरन्तर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम नेकपा एमाले मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरे, नेकपा एमाले रामेछापका जिल्ला कमिटी सदस्य युनिक विफा घिसिङ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्