जनता टाइम्स

२२ जेष्ठ २०७९, आईतवार १३:०८

कामना सम्मिलित पुलिसको चौथो जित


काठमाडौं, २२ जेठ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी ओपन स्पाइकर कामना विष्टसम्मिलित माल्दिभ्स पुलिसले भलिबल एसोसिएसन कप २०२२ मा आफ्नो अपराजित यात्रा चौथो खेलमा पुर्‍याएको छ । गएराति भएको खेल माल्दिभ्स पुलिसले योङ न्यु जेनेरेसन क्लबलाई ३–१ को सेटमा पराजित गर्यो ।

पहिलो सेट पुलिसले २५–१८ ले जित्दा दोस्रो सेट १८–२५ ले गुमायो । तेस्रो सेट २५–१४ ले जित्दा चौथो सेट २५–६ ले आफ्नो पक्षमा पार्यो । यसअघि माल्दिभ्स पुलिसले पहिलो खेल क्लब इगल्स, दोस्रो खेलमा धिवेही सिफान्जी क्लब र तेस्रो खेलमा क्लब हाल्फलाईन लिंकेजलाई पराजित गरेको थियो ।

हाल माल्दिभ्समा जारी प्रतियोगितामा नेपालका अर्की स्पाइकर उषा भण्डारीसमेत खेलिरहेकी छिन् । उषा सिफान्जी क्लबमा अनुबन्धित छिन् । दुबै खेलाडी पहिलो पटक विदेशी लिग खेल्दैछन् । हिजै भएको खेलमा उषाको टिम सिफान्जी क्लब इगल्ससँग ३–२ को सेटमा पराजित भयो ।