जनता टाइम्स

३ असार २०८२, मंगलवार ०९:४१

झोलुङ्गे पुल निर्माणले पहिरो पीडित बस्तीमा फर्कायो खुसी 


रामेछाप, ३ असार । गत भदौ र असोज महिनाको विनाशकारी बाढी–पहिरोले तहसनहस बनाएको दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवा अहिले बिस्तारै पुनः स्थापनाको बाटोमा अघि बढिरहेको छ।

लामो समयसम्म बाढी, पहिरो र त्यसपछिका कठिनाइसँग जुधेका स्थानीय बासिन्दाले हालै निर्माण सम्पन्न भएका सडक, खानेपानी, झोलुङ्गे पुल लगायतका योजनाले राहतको अनुभूति गर्दै छन् ।

गत वर्षको विपत्तिले डडुवा क्षेत्रमा अपूरणीय क्षति पुर्‍याएको थियो। घर, बारी, सडक र खानेपानी योजना समेत बगाएका पहिरोले गाउँलाई जताततै भिर पहिरो र जोखिमयुक्त बनाएको थियो। थामी र तामाङ समुदायको बसोबास रहेको यो सीमान्तकृत गाउँका धेरै परिवार तत्कालीन सङ्कटपछि घर छाडेर जङ्गलमा पाल टाँगेर बस्न बाध्य भएका थिए।

आज, त्यही गाउँ बिस्तारै जीवनको लयमा फर्किरहेको छ। वडा अध्यक्ष प्रेम लामाका अनुसार गाउँमा पुग्ने सडक मर्मत गरिएको छ भने विभिन्न संघ–संस्थाको सहकार्यमा विस्थापितहरूका लागि एकीकृत आवास निर्माण गरिएको छ । ‘एक घर एक धार’ कार्यक्रममार्फत धेरै घरमा खानेपानी सुविधा पुर्‍याइएको छ, जसले दैनिक जीवन सहज बनाएको छ।

यसै सन्दर्भमा, डडुवा र दोलखाको मेलुङ गाउँपालिका–५ को सिमानामा पर्ने मजुवा कमेरे खोलामा झोलुङ्गे पुल निर्माण कार्य हालै सम्पन्न भएको छ। बेलायतस्थित कादुरी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय उपभोक्ता समितिले ९६ दिनमा निर्माण सम्पन्न गरेको उक्त पुलले अब डडुवासहित वरपरका बस्तीहरूलाई आपसी आवागमन तथा विद्यालय जान सहज बाटो दिएको छ।

पुल उद्घाटन समारोह कादुरी संस्थाका प्रोजेक्ट म्यानेजर अवधनारायण माझी र वडा अध्यक्ष प्रेम लामाले संयुक्त रूपमा गरेका थिए। स्थानीयको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा नाचगान, बाजागाजा सहित रमाइलो गरिएको थियो ।

वडा सदस्य तथा पहिरो प्रभावित मङ्गले थामी भन्नुहुन्छ, ‘सामुदायिक सक्रियता, बाह्य संस्थाको सहयोग र वडाको समन्वयले अहिले गाउँ बाँच्ने आधार बनिरहेको छ।’