जनता टाइम्स

२९ जेष्ठ २०७९, आईतवार १०:४५

कुवेतविरूद्ध खेलिरहदा नेपाली प्रशिक्षक अलमुताइरी अचानक ढलेपछि..


कुवेत, जेठ २९ । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालले शनिबार राति आफ्नो दोस्रो खेल खेल्यो। कुवेत सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम कुवेतले ४-१ गोलले पराजित गर्यो। पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफ सुरू भएको तेस्रो मिनेटमै दोस्रो गोल खाएको थियो।

त्यतिबेला नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने टचलाइनमा ढल्नुभयो । बेहोस हुनुभएका उहाँलाई मैदानमै अक्सिजन दिएको टेलिभिजन लाइभमा देखिएको थियो। अचेत अवस्थामा रहेका अलमुताइरीलाई तत्काल अस्पताल लगिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

एन्फाका अनुसार अलमुताइरीको अवस्था अहिले सामान्य अवस्थामा फर्किएको छ। उहाँ अहिले अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । खेलपछि उहाँले नेपालको पराजयका लागि माफी माग्नुभएको छ । ‘आजको हारका लागि माफी चाहन्छु। हामी योजनामा अघि बढ्नेछौं र आजदेखि नियमित तालिकाअनुसार काम गर्नेछौं,’ अलमुताइरीको भनाइ छ, ‘छनोटपछि मेरो स्वास्थ्यको थप परीक्षणका लागि अस्पताल जानेछु।’