जनता टाइम्स

२ श्रावण २०७६, बिहीबार ०५:४०

दिदी मारेर भिनाजुसँग घरजम गर्न खोज्दा…


पोखरा, असार २ । गोरखाको गण्डकी गाउँपालिका–७ घ्यालचोक निवासी १९ वर्षीया अनु परियार यतिबेला प्रहरीको हिरासतमा छिन । उनीसँगै अन्य चार अभियुक्त पनि पक्राउ परेका छन । नातामा भिनाजु पर्ने रमेश नेपालीसँगको प्रेम सम्बन्धलाई पत्नीको रुप दिन २७ वर्षीया दिदी लक्ष्मी नेपालीको हत्यामा संलग्न भएको कारण अनुसहित मृतकका श्रीमान रमेश, भोजपुर नगरपालिका–५ बैंकरोड घर भई हाल पोखरा–९ महेन्द्रपुल बस्दै आएका ३२ वर्षका सञ्जय शर्मा, सर्लाहीको ईश्वरपुर नगरपालिका–३ घर भई हाल पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जन कुमार साह पक्राउ परेका छन । उनीहरु सवैलाई आजै कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

दिदीको हत्या गरेर भिनाजुको जोई बन्ने चाहनाको कारण यतिबेला उनी भिनाजुसँगै हिरासतमा पुगेकी हुन । पोखरा महानगरपालिका–१५ कान्तिपुर चोकमा बस्दै आएका दिदी लक्ष्मीलाई मार्न भिनाजु रमेशलाई अनुले नै उक्साएको र हत्या योजना बनाइएको तथ्य प्रहरीले बाहिर ल्याएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीका अनुसार एक वर्षदेखि साली अनुसँग प्रेम सम्बन्धमा रहेका रमेशले आफ्ना साथीसहित भारतीय नागरिक प्रयोग गरी पत्नी लक्ष्मीको हत्या गरेको र सो काममा अनुसमेत संलग्न रहेको पाइएको छ । लक्ष्मी हराएको २५ दिनपछि उनको कंकाल पोखरा महानगरपालिका–२२ स्थित कर्कलेको जंगलमा भेटिएको थियो । साली भित्र्याउन लक्ष्मीका श्रीमान रमेशले नै खुट्टाको एलर्जीको जडिबुटी जंगलमा पाइने बताएर कर्कले जंगलमा पुर्याई हत्या गरेका थिए ।

रमेशले लामो योजना र तयारीका साथ पोखरामै मोवाइल व्यवसाय गर्ने आफ्ना साथीहरुको सल्लाहमा एउटा कार र स्कुटर भाडामा लिएर श्रीमती लक्ष्मीको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार लक्ष्मीको हत्या गरेको दुईदिनपछि श्रीमान रमेशले नै प्रहरीमा उजुरी गरेका थिए । गत असार १ गते लक्ष्मीको हत्या भएपछि रमेशले भोलिपल्टै पत्नीको खोजी गरिदिन भन्दै वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका हुन । श्रीमती लक्ष्मीले १ लाख ५० हजार लिएर घरबाट हिँडेको जनार्य रमेशले उजुरी दिएका थिए ।

रमेशले प्रहरीमा उजुरी मात्रै दिएनन । मिडियामा समेतरुँदै श्रीमती बेपत्ता भएकोले परिवार र छोराछोरी बिचल्लीमा परेको प्रचार गराए । प्रहरीको अनुसन्धान अन्तै मोडन उनले यस्तो नाटक गरेका थिए । तर प्रहरीको नजरबाट बच्न सकेनन् । रमेशको क्रियाकलापलाई लिएर सशंकित बनेको प्रहरीले उनकै घरबाट अनुसन्धान थाल्यो । घर खानतलासी गर्दा लक्ष्मीले प्रयोग गरेको मोबाइल फोन, सिक्रीलगायत सामग्री घरमै भेट्यो । श्रीमतीको मोवाइल, गरगहना रमेशका क्रियाकलाप नियालेको प्रहरीले उनीमाथि नै अनुसन्धान बढाएपछि भने घट्नाको सबै बेलीविस्तार लगाए । त्यसपछि खुल्यो दिदी मारेर भिनाजुसंग घरजम गर्ने अनुको बास्तविकता ।

रमेशले पैसा खर्चेर श्रीमतीको योजनाबद्धरुपमा हत्या गरेको स्वीकार गरेपछि प्रहरीले हत्यामा संलग्न अन्यको खोजी तीव्र पार्यो । यसैअनुसार अन्य तीन जनालाई पक्राउ गर्न सफल भयो । प्रहरीका अनुसार लामो समयदेखि साली पर्ने युवतीसँग उनको प्रेम झागिँदै गएको थियो । आफ्नो प्रेम सफल बनाउन श्रीमती तगारो बनेको महशुस गरी रमेशले श्रीमतीको हत्या योजना बनाए । अनि साथीसंगीको सहयोगमा हत्या गरे । लामो समयदेखि खुट्टामा समस्या भएकी श्रीमती लक्ष्मीलाई जडिबुटी खोज्ने भन्दै रमेशले असार १ गते पुम्दीभुम्दीस्थित कर्कले जंगलमा लगे ।

आफू जंगलतिर छिरेपछि पूर्वयोजनाअनुसार सहयोगीले लक्ष्मीको हत्या गरे । १० लाख रुपैयाँ दिने सर्तमा मान्छे लगाएर श्रीमतीको हत्या गरेको बयान रमेशले प्रहरी समक्ष दिएका छन । चिप्लेढुङ्गामा मोवाइल पसल सञ्चालन गर्ने सञ्जय शर्मालाई एक महिलाको हत्या गर्नुपर्ने भन्दै रमेशले सहयोग मागेका थिए । त्यसपछि शर्माले पृथ्वीचोकमा मोवाइल पसल सञ्चालन गर्ने चितरन्जन साहमार्फत १० लाखमा भारतबाट मान्छे झिकाएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मीको हत्याका लागि जेठ ३० गते नै ३ जना भारतीय नागरिक पोखराको पृथ्वीचोकमा रहेको एक होटलमा बसेका थिए । उनीहरुलाई होटलमा बस्ने व्यवस्था सञ्जय र चितरन्जनले मिलाए । त्यस्को भोलिपल्टै रमेशले १ लाख रुपैया अग्रिम बैना दिए । त्यसपछि उनले ५ लाख हत्या गरेलगत्तै दिएको र बाँकी ४ लाख दिन बाँकी रहेको बयान प्रहरीलाई दिएका छन ।

हत्या योजनासँगै जीवन बीमा

रमेशले श्रीमती लक्ष्मीको हत्याको योजना बनाएसँगै जीवन बीमासमेत गरिदिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बिमाबाट मृत्यु दाबी भुक्तानी वापतको ठूलो रकम बुझ्ने उद्देश्यले ४ महिनाअघि युनियन लाइफ इन्स्योरेन्समा १ करोडको जीवन बीमा गराएका थिए । एसपी कार्कीका अनुसार बिमावापतको मोटो रकम र सालीसँग घरजम गर्ने योजनाअनुसार नै रमेशले श्रीमतीको हत्या गर्ने योजना एक वर्ष अघिदेखि बनाएका थिए ।