जनता टाइम्स

१६ फाल्गुन २०७९, मंगलवार १९:५३

चार दिनदेखि सम्पर्कविहीन युवक मृत फेला


तनहुँ, १६ फागुन । आबुखैरेनी गाउँपालिका–३ घर भएका ३६ वर्षीय मदन घिमिरे सम्पर्कविहीन भएको चार दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ । फागुन १२ गतेदेखि सम्पर्कविहीन घिमिरे मङ्गलबार मस्र्याङ्दी नदीमा मृत फेला पर्नुभएको हो । सशस्त्र प्रहरीको गोताखोरले उनको शव नदीबाट निकालेको छ ।

मृतकको स्कुटर आबुखैरेनी गाउँपालिका डम्पिङस्थित मस्र्याङ्दीको किनारमा भेटिएको थियो । घिमिरेको खोजतलासका लागि तालिमप्राप्त ट्रयाकर डग पनि परिचालन गरिएपछि मृतावस्थामा भेटिएको तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयबाट खटिएको गोताखोर र नेपाल प्रहरी टोली र स्थानीयवासीको संयुक्त प्रयासमा खोजतलास गरिएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले जनाएको छ ।