काठमाडाैं, २३ असार । रसुवाको टिमुरे खोलाबाट भोटेकोशी बाढीले बेपत्ता बनाएका तीन प्रहरीमध्ये एक जनाको शव फेला परेको छ।
शव फेला पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ निवासी ४२ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ।
श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको हो।शवलाई हाल भरतपुर अस्पतालमा राखिएको छ।
श्रेष्ठसहित तीन जना प्रहरी भन्सार क्षेत्र वरपर रहेका नागरिकको उद्धार कार्यमा खटिएको अवस्थामा बाढीले बगाएको थियो।
उहाँको एउटा गोडामा प्रहरीकाे बुट फेला परेकोले उहाँलाई ड्युटीमै भएको बेला बगाएको पुष्टि भएको छ ।
अहिलेसम्म अन्य दुई जना प्रहरी जवान बेपत्ता नै रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्