जनता टाइम्स

२४ असार २०८२, मंगलवार २२:४१

सुनकोसी नदी आसपास सतर्कता अपनाउन जिल्ला प्रशासन रामेछापको आग्रह


रामेछाप, २४ असार ।  लगातारको वर्षाका कारण सुनकोसी नदीमा बाढीको सम्भावना उच्च बनेपछि रामेछाप जिल्लाका साे नदी किनार आसपासका बासिन्दालाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय, रामेछापले मंगलबार सार्वजनिक गरेको सूचना जारी गर्दै चीनको तिब्बत क्षेत्रको न्यालममा भारी वर्षा भएको र आगामी घण्टामा अझै वर्षा हुने सम्भावना रहेकाले सुनकोसी नदीमा बहाव बढ्ने देखिएकाे जानकारी दिएकाे छ। यसले नदी किनार आसपासका बस्तीमा जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो। सूचनामा भनिएको छ, ‘सुनकोसी नदी तटीय क्षेत्रको आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकाले नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानुभावहरूलाई सतर्कता अपनाउन सजग गराइएको छ।’

विशेषगरी सुनापाती गाउँपालिका, खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सुनकोसी नदी किनारमा रहेका बस्तीमा जोखिम देखिएको सूचनामा जनाइएको छ। साथै वर्षा यामको समय भएकाले अन्य नदी तथा खोल्सामा समेत सतर्कता अपनाउन आग्रह गरिएको छ।

नदी किनारमा बसोबास गर्ने सबै नागरिकहरूलाई जोखिमयुक्त स्थानमा नबस्न जिल्ला प्रशासनले अनुरोध गरेको छ। प्रशासनिक अधिकृत प्रकाश प्रधानद्वारा हस्ताक्षरित सूचनामा सजग, सुरक्षित र सतर्क रहन सबै नागरिकहरूलाई आग्रह गरिएको छ।