नेपालगन्ज, ३० फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्टाचार र बिदेशी हस्तक्षेपको अन्त्य, सनातन धर्म संस्कृतिको रक्षा र राजनीतिमा कायम सिन्डिकेट तन्त्रको अन्त्यका निमित्त सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिन आह्वान गर्नुभएको छ ।
आज नेपालगन्जमा आयोजित पार्टीका अगुवा कार्यकर्ता भेटघाट एबं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भन्नुभयो, ‘राजनीतिक दलका नेता र विभिन्न शक्तिकेन्द्रहरूलाई म विनम्रतापूर्वक सम्झाउन चाहन्छु कि जनता तपाईहरुको कमारा वा दास होइनन्,अहिले जनतालाई तन्त्रमन्त्र वा वादविवाद होइन शान्ति र स्थिरता चहिएको छ, विकास चाहिएको छ, रोजगारी चाहिएको छ, गरी खाने वातावरण चाहिएको छ ।’
उहाँले गणतन्त्रले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेन भने जनता विकल्प खोज्न बाध्य हुने समेत बताउनुभयो । राप्रपा नेपालले आगामी दिनमा संगठन निर्माण र जनसंघर्षलाई सँगसँगै लैजाने योजना रहेको भन्दै थापाले देशको प्रत्येक वडा तहसम्म संगठन विस्तार गर्ने तथा २०८०साल फागुन ७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन गर्ने लक्ष्यका साथ राप्रपा नेपाल अघि बढिरहेको स्पष्ट पार्नुभयो ।
सर्वसाधारण जनताले सामान्य रोगको उपचार पाउन सकेका छैनन् तर नेताहरुले औषधोपचारको नाउँमा करोडौं रुपैयाँ राज्य कोषबाट पैसा लुटिरहेकामा आक्रोश व्यक्त गर्दै थापाले एनसेल कर छरी प्रकरण, सार्वजनिक जग्गा अतिक्रमण काण्ड, वाइडबडि हवाई जहाज काण्ड, ३८ क्वीन्टल सुन तस्करी काण्ड, नेपाल ट्रष्टको जग्गा ठगी काण्ड, लडाकुहरूको भत्ता चोरि कान्ड, कोभिडको बेला भएको औषधि खरिद र खोप वेपत्ता काण्डहरुको छानविन गरि दोषीलाई कडा कारबाही गर्न समेत उहाँले माग गर्नुभयो ।
संक्रमणकालिन न्यायको नाममा गंभीर अपराधमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिन नमिल्ने भन्दै उहाँले चाहे माओवादीबाट होस् वा राज्यपक्षबाट होस् निर्दोष र निहत्था जनताको हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिने गरी कानुन नबनाउन राजनीतिक दल र सांसदहरुलाई आग्रह समेत गर्नुभयो । अगुवा कार्यकर्ता भेलामा पार्टीका सह–महामन्त्री हिक्मत ढकाल, केन्द्रीय सदस्य लक्ष्मी हमाल, जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर सिंह, उपाध्यक्षहरु आशा बिष्ट र यज्ञराज घिमिरेले पनि आफ्नो भनाई राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्