काठमाडौं, १९ असार । मोरङको उर्लाबारी नगरपालिका–६ मा अब टर्मिनल भवनसहितको अत्याधुनिक बसपार्क निर्माण हुने भएको छ। नगरपालिकाले निर्माण कम्पनीसँग औपचारिक सम्झौता गरी ११ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण प्रक्रिया प्रारम्भ गरेको हो।
उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता र निर्माण व्यवसायी नवीन गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । निर्माण कार्य हेटौँडास्थित अभी डिजाइनर्स एण्ड डेभलपर्स प्रालिले गर्नेछ।
परियोजना लागत ११ करोड ३ लाख ८५ हजार ८ सय ८० रुपैयाँ २५ पैसा रहेको छ। निर्माण कार्य १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सम्झौता अनुसार नगरपालिकाले कुल लागतको ३० प्रतिशत व्यहोर्नेछ भने १० प्रतिशत रकम नगर विकास कोषको अनुदानबाट प्राप्त हुनेछ। बाँकी ६० प्रतिशत रकम नगर विकास कोषकै ऋणबाट व्यवस्थापन गरिनेछ।
सम्झौता कार्यक्रममा नगरप्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीनाकुमारी खतिवडा, इञ्जिनियर पोखराज साह, इञ्जिनियर रोशन उदास, योजना तथा अनुगमन शाखाका प्रमुख विकाश दाहाललगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति थियो।
योजना तथा अनुगमन शाखा प्रमुख विकाश दाहालका अनुसार यो परियोजनाले उर्लाबारीको यातायात प्रणालीलाई व्यवस्थित गर्न मात्र नभई नगरको व्यापार, पर्यटन तथा समग्र सहरी विकासमा सकारात्मक प्रभाव पार्नेछ।
निर्माण कम्पनीले तयार पारेको प्रारम्भिक विवरण अनुसार बसपार्कमा टिकट काउन्टर, प्रतीक्षालय, सार्वजनिक शौचालय, खानेपानी, सिसी क्यामेरा, पार्किङ स्थल, व्यापारिक कक्षहरू, हरित क्षेत्र र सूचना केन्द्रसहितका पूर्वाधारहरू रहनेछन्। दैनिक कम्तीमा २सय सवारी साधनको आगमन–प्रस्थान सहज हुने गरी संरचना तयार गरिने बताइएको छ।
उक्त बसपार्कबाट विशेष गरी इलाम, पाँचथर, ताप्लेजुङ लगायत पहाडी जिल्लाबाट विराटनगर, काठमाडौं, पोखरा र भारततर्फ जाने सवारीहरू सञ्चालन हुने अनुमान गरिएको छ। परियोजनाले यातायात प्रणाली मात्र नभई यात्रु सेवा र बजार प्रवाह पनि सुदृढ गर्ने अपेक्षा गरिएको छ।
सम्झौता कार्यक्रममा नगरप्रमुख खरेलले बसपार्क निर्माण नगरको दीर्घकालीन योजनाअन्तर्गतको परियोजना भएको उल्लेख गर्दै समयमा गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरलाई व्यवस्थित, समावेशी र आर्थिक केन्द्रको रूपमा विकास गर्ने लक्ष्य अनुसार यो योजना अघि बढाइएको बताउनुभयो।
उपप्रमुख खतिवडाले जनप्रतिनिधिको तर्फबाट परियोजनाको पारदर्शिता, जनसहभागिता र नागरिक अनुगमन सुनिश्चित गरिने बताउनुभयो। उहाँले सार्वजनिक स्रोतको सदुपयोग गर्दै स्थायित्वपूर्ण पूर्वाधार निर्माणमा नगर सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
योजना सम्पन्न भएपछि उर्लाबारी नगरभित्र छरिएर रहेका सवारी व्यवस्थापन र यात्रु सेवा एकीकृत हुने र यसले यात्रुका लागि सहजता मात्रै नभई नगरको आम्दानी र रोजगारी सिर्जनामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्