जनता टाइम्स

२१ भाद्र २०७६, शनिबार १२:३७

महेश बस्नेतको घोषणा : भक्तपुरमा भूमाफियाले हडपेको १६० रोपनी जग्गा फिर्ता गराएरै छाडिन्छ


भक्तपुर, भदौ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एजेण्डाविहीन भएको ठोकुवा गर्नुभएको छ । जनताले कांग्रेसलाई भिरबाट लडाइ दिएकाले पछिल्लो समय जे भेट्यो, त्यही मुद्धा समात्ने गरेको निश्कर्षसमेत बस्नेतले सुनाउनु भयो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको एक करोडको लागतमा चाँगुनारायण नगरपालिकाको वडा नं. ६ नगरकोटस्थिती पर्यटकीय वसपार्क निर्माणको सिलान्यास कार्यक्रममा बोल्दै भक्तपुर–२ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता बस्नेतले आलोचनाको खेतीले वास्तविकतलाई छोप्न नसकिने तथ्य राख्नुभयो । ‘आलोचनाको खेतीले वास्तविकतलाई छोप्न सकिँदैन, नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको देश विकास र समृद्धिको वास्तविकता खुल्ला किताव जस्तै छलङ्ग रहेको छ,’ पूर्वमन्त्री बस्नेतले भन्नुभयो । प्रमुख प्रतिपक्षी दलको नजर नै सरकारको आलोचना गर्नेमा मात्र भएको बताउँदै उहाँले अनावश्यक हल्ला फैलाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित हुन्छ भन्ने नसोच्न कांग्रेसलाई सुझाव दिनुभयो ।

‘सरकारको आलोचना गरेर घरको भात पाक्छ भन्ने सपना नदेखे हुन्छ, आलेचना गरेर नै एक गाँस खाना रुच्छ भन्ने सोच्नु भएको छ भने केही भन्नु छैन । वास्तविकता डोकोले छोपेर छोपिन्न । सरकारले जनताको पक्षमा गरेको सम्पूर्ण गतिविधिहरु जनताले प्रष्ट रुपमा बुझेका छन् । त्यसको नतिजा आगामी निर्वाचनमा देखिनेछ,’ बस्नेतले भन्नुभयो, ‘सवै पहेलो धातु सुन हुँदैन, कसीले त्यसलाई जाँचिनेछ । धातुलाई कसीमा जाँचे जसरी जनताले आगामी निर्वाचनमा राजनीतिक दललाई जाँच्नेछन ।’

फाईदाको काम देख्दा आफु अघि सर्ने र केही समस्या आउन खोजे पछि हट्ने र आलोचना गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनु भयो । उहाँले विकासमा राजनीतिक मिसाउनु नहुने धारणा पनि राख्नुभयो । राजनीतिमा प्रतिपर्धा विकासमा ऐक्यवद्धता आवश्यक रहेको बताउँदै बस्नेतले भन्नुभयो, ‘माछा देख्दा दुलोभित्र हात, भ्यागुतो देख्दा दुलो बाहिर हात बनाउनु हुँदैन । समस्यामा भाग्ने, राम्रोमा अघि बढ्ने कार्य गर्नुहुँदैन । चोरको खुट्टा काट भन्दा चोरले आफ्नो खुट्टा तान्छ । राजनीति फाइदाको लागि नभई सामाजिक कार्यमा लाग्नुपर्छ । जनताको समस्यामा जनप्रतिनिधि अघि बढ्नुपर्छ ।’

बतमान सरकारको कारण देशभर अतिक्रम गरेको सार्वजनिक जग्गा फिर्ता हुने क्रममा रहेको बताउँदै उहाँले भक्तपुरका जग्गा चोरहरुलाई पहिलो नंम्बरमा कारवाही गर्नुपर्ने बताउनुभयो । भक्तपुरमा करिव १ सय ६० रोपनीभन्दा बढी सार्वजनिक जग्गा भूमाफियाले कब्जा गरी बेचविखन गरेको बताउँदै उहाँले उक्त जग्गाहरु पुनः सार्वजनिक बनाउने घोषणासमेत गर्नुभयो । भक्तपुरमा हनुमन्ते नदीमा ६४ विमली उपाध्यायको नाममा, मनोहरामा ५४ रोपनी, स्वरस्वतीखेलको बसपार्कलगायतका क्षेत्रमा भएको भूमाफियाले कब्जा गरेको जग्गा फिर्ता हुने क्रममा रहेको जानकारी पनि उहाँले दिनुभयो ।

‘गाउँभरका खसी चोर चाही सफा र टुकुचामा गएर एउटा खसी किन्ने फोहोर भएजस्तो गरी व्याख्या भइरहेको छ । बनले नचिनेको बाघ र बाघले नचिनेको वन हुनु कुनै अर्थ छैन,’ बस्नेतले भन्नुभयो । भक्तपुरको विकास एक अघि बढ्यो दुई अघि बढ्यो कसैले अव रोक्न नसक्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले व्यवस्थित विकासका योजनाहरु शुरु भएसँगै भक्तपुरको विकासमा मुहार नै फेरिएको बताउनुभयो । नगरकोट चाँगुनारायण नगरपालिकाको लागि मात्र नभई भक्तपुरकै महत्वपूर्ण ठाउँ भएको बताउँदै उहाँले भक्तपुरमा पर्यटन, होम स्टे, सामाजिक संस्थाहरु अभियानमा होमिएसँगै भक्तपुरको आर्थिक, सामाजिक, पर्यटकीयलगायतका विकासहरु तिव्र गतिमा अघि बढ्ने समेत बताउनुभयो ।

नगरकोटले भक्तपुरमात्र हैन सिङ्गो नेपाललाई नै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न ठूलो सहयोग गर्ने बताउँदै उहाँले नगरकोट विकास कुनै व्यक्ति, राजनीतिक दल, नगरापलिकालगायतका संघसंस्थाहरुकोमात्र चासोको विषय नभई आम भक्तपुर वासीको चासोको विषय भएको बताउनुभयो । उहाँले टहरा भत्काइएका नागरिकलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै टहरा भत्काइएको विषयलाई नै राजनीति गर्नुपर्ने आवश्यकता नरहेको प्रष्ट पार्नुभयो ।