जनता टाइम्स

७ आश्विन २०८०, आईतवार २०:५३

देउवाले केन्द्रीय सदस्य नै नचिनेपछि


काठमाडौं, असोज ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नै नचिन्नु भएको तथ्य उजागर भएको छ । केन्द्रीय समितिको जारी बैठकमा देउवाले यो मान्छे को हो भनेर महामन्त्रीलाई सोधेपछियो तथ्य उजागर भएको हो ।

आज बोल्ने केन्द्रीय सदस्यको नाम बोलाउँदै गर्दा देउवाले गोविन्द भट्टराई र हरिशरण नेपालीको नाम सँगै लिनुभयो । तत्काल बोल्नेका लागि भट्टराईलाई पालो दिएसँगै ‘यसपछि हरिशरण नेपाली’ भन्नुभयो । भट्टराई बोलीसकेपछि बोल्ने पालो केन्द्रीय सदस्य नेपालीको आयो । नेपालीले साउन २० गतेदेखि ३० गतेसम्म पार्टी संगठन सुदृढीकरणका लागि जिल्ला जाँदा स्थलगत अवस्था बैठकमा राख्नुभयो ।

‘जिल्लामा ज्यादै असन्तुष्टिहरु छन् । तपाईँहरु पहिले सच्चिएर आउनुस् भन्नुभएको छ । जिल्ला एक अर्कासँग कोर्डिनेसन छैन । जिल्लामा बैठक बसाउन पनि धौधौको अवस्था छ,’ सांगठनिक अवस्थाबारे ब्रिफिङ गर्दै नेपालीले जनप्रतिनिधि र पार्टीवीच समन्वय नभएको सुनाउनु भयो । देउवाले धन्यवाद है सकियो भन्दै रोकिन आग्रह गरे तर, नेपाली बोलिरहनु भयो ।

नेपाली नरोकिएपछि देउवाले छेउमै रहनुभएका महामन्त्री विश्वप्रकाश शर्मालाई सोध्नुभयो, ‘को मान्छे हो यो ? देउवाको माइक अन नै थियो, देउवाले सोधेको सबैले सुने । महामन्त्रीले जवाफ दिनुभयो, त्यो बाहिर सुनिएन ।

एक नेताका अनुसार शर्माले हरिशरण नेपाली भएको बताउनु भयो । देउवाले फेरि सोध्नुभयो, कहाँको मान्छे हो यो ? माइक अन नै भएकाले बैठकमा सहभागी सबैले सुने । शर्माले भक्तपुरको नेता भएको बताएपछि देउवाले भन्नुभयो, ‘भयो भयो, सिद्धियो । माफ गर्नुहोला ।’