जनता टाइम्स

२३ असार २०८२, सोमबार २२:५०

संविधान संशोधनका लागि कार्यदल गठन गर्ने नेपाली कांग्रेसकाे निर्णय


काठमाडौं, २३ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको असार १६ गतेदेखि २३ गतेसम्म चलेको बैठक सम्पन्न भएको छ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको सहकार्य आगामी २०८४ सालसम्म कायम रहने स्पष्ट पारनु भएकाे छ । बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय भएको छ।

बैठकमा सभापति देउवासँगै उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्ना धारणा व्यक्त गर्नु भएकाे थियाे ।

सभापति देउवाले संविधानको सफल कार्यान्वयनका लागि समयसापेक्ष संशोधन आवश्यक भएको उल्लेख गर्दै राष्ट्रियसभामा बहुमत नपुगेकाले संशोधन प्रक्रिया अघि बढ्न नसकेको बताउनुभयाे । उहाँले एमालेसँगको ७ बुँदे सहमतिको स्मरण गराउँदै संविधान सुधारलाई प्राथमिकता दिने विषयमा कांग्रेस दृढ रहेको जनाए।

बैठकले संविधान संशोधन विषयमा पार्टीभित्र गम्भीर बहस सुरु गर्न तथा अन्य दल, विज्ञ र नागरिक समाजसँग संवाद गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। उक्त कार्यदलले संविधान कार्यान्वयनको एक दशकको अनुभवको समीक्षा गर्दै नयाँ प्रस्ताव तयार गर्नेछ।

बैठकमा वर्तमान सरकारले जनअपेक्षा अनुसार प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण पनि गरिएको छ। कांग्रेसले कृषि, उद्योग, विपद् व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सहकारी संकट, सुन वितरण प्रणाली लगायतका विषयमा तत्काल कदम चाल्न सरकारसँग माग गरेको छ।

संसदीय मामिलासम्बन्धी धारणा व्यक्त गर्दै बैठकले संसदको गरिमा जोगाउन कांग्रेस सांसदहरूलाई मर्यादित र जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिएको छ। स्थानीय तहको बजेट, प्रदेश सरकारको समन्वय, निजामती सेवा विधेयकको त्रुटि सच्याउन तथा शिक्षक आन्दोलनको सन्दर्भमा तत्काल संवाद गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

बैठकमा हिमाली क्षेत्रका व्यवसायिक श्रमिकहरूको लागि पेन्सन तथा बीमा कार्यक्रम ल्याउन र जनसम्पर्क समितिको संरचना विस्तार गर्दै स्वर्ण महोत्सव मनाउने निर्णय पनि गरिएको छ।

पार्टी संगठन सुदृढीकरणका लागि भ्रातृ संस्थाहरूको महाधिवेशन प्रक्रिया अगाडि बढाउने, महाधिवेशन तयारीका लागि व्यवस्थापन समिति गठन गर्ने, विभिन्न रिक्त पदहरू भदौ मसान्तभित्र पदपूर्ति गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धी नियमावलीमा संशोधन गरिएको छ।

बैठकले एसईई नतिजा सुधारोन्मुख भए पनि शिक्षा प्रणाली अझ व्यवहारिक र रोजगारीमूलक बनाउन थप सुधार आवश्यक रहेको निष्कर्ष निकालेको छ। चिकित्सक संघको आन्दोलनबारे तत्काल वार्ता गरी समाधान खोज्न सरकारलाई आग्रह गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठकले संसदमा विधेयक पास गरी सुशासनमा केही सुधार भएको स्वीकार गरे पनि अझ धेरै कानुन निर्माणमा ढिलाइ भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

बैठकमा यस अवधिमा दिवंगत भएका नेताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो।