जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार १२:४३

राष्ट्रपति कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन


काठमाडौं, असोज १२ । राष्ट्रपतिको कार्यालयका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको छ । शुक्रबार बिहान राष्ट्रपति कार्यालय, कानुन महाशाखाका सहसचिव शेरजङ्ग कार्कीको निधन भएको हो ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रका अनुसार कार्कीलाई शुक्रबार बिहान सवा ७ बजे अस्पताल ल्याइएको थियो । प्रमुख कार्यकारी अधिकृत मिश्रका अनुसार अस्पताल ल्याउँदा सहसचिव कार्कीमा जीवनको कुनै संकेत थिएन ।

अस्पताल ल्याउनेबित्तिकै कार्कीलाई मृत घोषणा गरिएको मिश्रले जानकारी दिनुभयो । राष्ट्रपति कार्यालयमा कार्यरत एक अधिकृतका अनुसार बिहीबार साँझ नै कार्कीलाई वान्ता भएको र उहाँले शारीरिक अस्वस्थता महसुस गरेका थिए ।

केही महिनाअघि मात्र उहाँ राष्ट्रपति कार्यालय कानुन महाशाखामा सरुवा हुनुभएको थियो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता उपसचिव वसन्तप्रसाद पन्थीका अनुसार कार्की गत असार २० गतेदेखि राष्ट्रपति कार्यालयमा हाजिर हुनुभएको थियो । यसअघि उहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुनुहुन्थ्यो ।

कार्कीकै नेतृत्वमा अख्तियारले पशुपतिको जलहरी प्रकरणको अनुसन्धानसमेत गरेको थियो । ५२ वर्षीय कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन ।