जनता टाइम्स

२० कार्तिक २०८०, सोमबार १६:२०

प्रधानाध्यापक मृत्यु प्रकरण : उचित छानबिनको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


सिरहा, २० कात्तिक । सिरहाको गोलबजार नगरपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणको छानबिनगरी दोषीमाथि कारबाहीको माग गर्दै मृतकका परिवार र आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयाको सडकखण्ड अवरुद्ध गरेका छन् ।

मिर्चैया नगरपालिका–७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परिवारजनले उचित न्यायको माग गर्दै मिर्चैयाको कटारीचौकमा टायर बालेर सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन् । प्रहरीले सडक क्लियर गराउने प्रयास भईरहेको जनाएको छ ।

उनीहरुले घटनाको प्रकृति हेर्दा भर्याङ्ग र पासो लागेको कोठामा रगत देखिएकाले हत्या भएको आरोप लगाएको छ । साहका श्रीमती सहितका परिवार र स्थानीयले घटना सूनियोजित भएको आरोप लगाएको छ । आज बिहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीयहरुले सडक जाम गरेर बसेका छन् ।

उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिनुभएको छ । घटनास्थल पुगेका आफन्तले घटनाको प्रकृति हेर्दा त्यहाँका स्थानीयले गरेको व्यवहारले हत्या गरेको आशंका लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘घटनास्थलमा देखिएका रगतका डोभले र पासोको अवस्था हेदा झुड्याएको जस्तो देखिन्छ । यसको उचित छानबि हुनुपर्छ ।’

प्रधानाध्यमपक साह आइतबार बिहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। उनको शव पोष्ट मार्टमकोलागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ । यता प्रहरीले अहिलेसम्मको घटना प्रकृतिले आत्महत्याको सङ्केत गरे पनि अनुसन्धान जारी रहेको बताएको छ । प्रहरीले थप अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केही बताउन सकिने सक्ने बताउनुभयो ।