जनता टाइम्स

१५ असार २०८२, आईतवार २२:२४

निगाले आलु केन्द्रको स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न, ५० जातका बिउ र परिकार प्रदर्शित


सिन्धुपाल्चोक, १५ असार । राष्ट्रिय आलुवाली विकास केन्द्र, निगाले सिन्धुपाल्चोकले आफ्नो ५० औं वार्षिकोत्सव तथा स्वर्ण जयन्ती कार्यक्रम फार्म डे २०८२ भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता जानुका पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला, राष्ट्रिय आलु, तरकारी तथा मसला वाली विकास केन्द्रका प्रमुख पदमप्रसाद अधिकारी, तरकारी वाली विकास केन्द्र खुमलटारका प्रमुख विजय गिरी, बागवानी विकास केन्द्र प्रमुख विष्णु बोगटी, राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रम खुमलटारका प्रमुख युवराज भुषाल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत सुरक्षा अधिकारीहरु, लिसंखु पाखर गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामा लयालगायत विभिन्न तहका सरकारी अधिकारी, संघसंस्थाका प्रतिनिधिहरू, अगुवा कृषक तथा स्थानीयबासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वर्ण जयन्ती मनाइरहेको साे केन्द्र सन् १९७५ (वि.सं. २०३२) मा स्वीस सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना गरिएको हो । स्थापना पछि केही समय स्वीस सरकारकै व्यवस्थापनमा सञ्चालित केन्द्रलाई नेपाल सरकारले पूर्णरूपमा आफ्नो मातहतमा ल्याई राष्ट्रिय आलुवाली विकास केन्द्रको रूपमा संघीय निकायको जिम्मेवारी दिइएको छ ।

केन्द्रको मुख्य कार्य आलुको गुणस्तरीय बीउ उत्पादन, अनुसन्धान, जात विकास तथा किसानलाई प्रविधि हस्तान्तरण गर्ने रहेको छ । टिस्यू कल्चर प्रविधिबाट स्थानीय तथा विदेशी आलुका जातहरूको नयाँ पुस्ता उत्पादन गरी प्रमाणित बीउ किसानसम्म पुर्याउने कार्य केन्द्रले गर्दै आएको छ ।

चीनका प्राविधिकहरू समेत महिनौँसम्म निगाले केन्द्रमै बसेर अनुसन्धान गर्ने गरेको जानकारी दिइएको छ । केन्द्रमा स्थानीय प्राविधिक तथा अगुवा कृषकलाई लक्षित गरी विविध तालीम कार्यक्रम सञ्चालन गरिन्छ । जसले स्थानीयन स्तरमा सीपयुक्त जनशक्ति उत्पादन गर्न मद्दत पुर्‍याएको छ ।

स्वर्ण जयन्तीको अवसरमा केन्द्र परिसरमा ५० भन्दा बढी जातका आलुका बीउको प्रदर्शनी गरिनुका साथै, ती आलुबाट बनेका ५० परिकारहरूको समेत प्रदर्शनी र स्वाद परीक्षण गरिएकाे थियाे । यसले आलुको उपयोगिता र व्यावसायिक सम्भावनाबारे जनचेतना फैलाउने उद्देश्य राखेको आयोजकको भनाइ थियो ।

कार्यक्रममा केन्द्रमा विगतमा प्रमुखको रूपमा कार्यरत रहँदै योगदान पुर्‍याउने कृषि विज्ञहरू श्यामप्रसाद ढकाल, हिरामणि अधिकारी, तारालाल लामा, विजय गिरी र सुदीप रेग्मीलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो । उनीहरूलाई नेपालको आलु र कृषि विकासमा दीर्घकालीन योगदान पुर्‍याएको सेवकका रूपमा सम्मान गरिएको हो ।

त्यस्तै फार्ममा कार्यरत श्रमिकहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो भने अतिथिहरूलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

केन्द्रले आगामी दिनमा पनि नवीन प्रविधि भित्र्याउने, अन्तर्राष्ट्रिय स्तरमा मान्य बीउ उत्पादन गर्ने, जलवायु परिवर्तनमा प्रतिरोधी जातको विकास गर्ने र किसानसँग प्रत्यक्ष सहकार्य गर्दै आलु उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ । कार्यक्रमले सरकारी निकाय, विज्ञ, कृषक र स्थानीयबासीबीच सहकार्य र समन्वयलाई सुदृढ बनाउन सघाएको सहभागीहरूको धारणा थियो ।