जनता टाइम्स

१४ असार २०८२, शनिबार २३:१९

मदन जयन्तीको अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री उद्धव थापाद्वारा वृक्षारोपण


विराटनगर, १४ असार । जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्वमुख्यमन्त्री उद्धव थापाले संयुक्त रूपमा वृक्षारोपण गर्नुभएको छ।

आज मुख्यमन्त्री निवासको प्राङ्गणमा दुई शीर्ष नेताहरूले संयुक्त रूपमा वृक्षारोपण गर्नुभएको हो। सो अवसरमा मुख्यमन्त्री कार्कीले वृक्षारोपणले वातावरण संरक्षणमा योगदान पुग्ने भन्दै यसलाई दिगो विकाससँग जोडिएको कार्यको रूपमा लिनुपर्ने बताउनुभयो।

मुख्यमन्त्री कार्कीले नेपालको सामाजिक तथा राजनीतिक आन्दोलनमा मदन भण्डारीले पुर्‍याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो। उहाँले नेपालको राजनीतिक परिवर्तनमा भण्डारीले निर्वाह गर्नुभएको भूमिका केवल नेपाली सन्दर्भमा मात्र होइन, विश्वका लागि पनि उदाहरणीय रहेको धारणा राख्नुभयो। ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन उहाँले गरेको योगदान सधैँ स्मरणीय रहन्छ,’ मुख्यमन्त्री कार्कीले भन्नुभयो।

मदन भण्डारीको ७४ औँ जन्मजयन्ती र वृक्षारोपण दिवसको अवसरमा आज कोशी प्रदेशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। पार्टीका संगठनहरू, जनप्रतिनिधि र सर्वसाधारणको सहभागितामा स्मृति सभादेखि वृक्षारोपण र सामाजिक गतिविधिहरू गरिएका छन् ।