काठमाडौं, मंसिर ४ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा उनीहरूलाई एकदेखि दुई वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा पर्नेमा जाजरकोटको मालिका बस्नेत निर्माण सेवा, कञ्चनपुरको पञ्चकोटी निर्माण सेवा, बाँकेको आदित्य सप्लायर्स र काठमाडौंको उज्यालो निर्माण सेवा प्रालि रहेका छन् ।
कार्यालयका अनुसार सडक डिभिजन चौरजहारीको सिफारिसमा मालिका बस्नेत निर्माण सेवा र सडक डिभिजन महेन्द्रनगरको सिफारिसमा पञ्चकोटी निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै, तेह्रथुमको लालीगुराँस नगरपालिकाको सिफारिसमा आदित्य सप्लायर्सलाई दुई वर्ष र नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा उज्यालो निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।













प्रतिक्रिया दिनुहोस्