काठमाडौं, मंसिर ४ । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । देशभरका हिन्दू धर्मावलम्बीले तुलसीको पूजा आराधना गरी भगवान् विष्णु अर्थात् दामोदरको तुलसीसँग विधिपूर्वक विवाह गराएर यो पर्व मनाउँदै छन् ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास छ । त्यसैले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्मका चार महिना भगवान् विष्णुका भक्तजनले तुलसीको व्रत र विशेष पूजा आराधना गर्ने परम्परा छ । यही अवधिमा विवाह र व्रतबन्धजस्ता मांगलिक कार्य नगर्ने चलन पनि छ । हरिबोधिनी एकादशीसँगै चतुर्मास समाप्त हुने र मांगलिक कार्य सुरु हुने धार्मिक मान्यता छ ।
आज घरघरमा तुलसीको मठलाई गाईको गोबर र रातो माटोले लिपपोत गरी फूलमालाले सजाएर तुलसी र भगवान् विष्णुको विवाह गरिन्छ । तुलसीलाई भगवान् विष्णुको प्रिय मानिने भएकाले तुलसी विवाहको परम्परा बसेको धर्मशास्त्रविद्हरू बताउँछन् ।
यस दिन भगवान् विष्णुको विशेष पूजा, व्रत, स्नान, दान र जप गर्ने चलन छ । व्रतालुहरूले अन्न नखाई सखरखण्ड, पिँडालु र वनतरुलजस्ता फलाहार सेवन गर्ने परम्परा छ । धार्मिक विश्वासअनुसार आजको व्रतले पुण्य प्राप्त हुने र पापबाट मुक्ति मिल्ने मान्यता छ ।
हरिबोधिनी एकादशीलाई ठूलो एकादशीका रूपमा पनि लिइन्छ । आज काठमाडौं उपत्यकाका चार नारायण—चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशंखुनारायणमा विशेष मेला लाग्ने गर्दछ । त्यस्तै, बूढानीलकण्ठलगायत देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
यस दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने तथा शंख, घण्ट र ढोल बजाएर भगवान् विष्णुलाई जगाउने परम्परा पनि रहेको छ ।













प्रतिक्रिया दिनुहोस्