जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार २१:११

एनपीएलको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिमबीच भिडन्त हुने


काठमाडौं, मंसिर ३ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोएल्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको हो । यससँगै लगातार दोस्रो सिजन लुम्बिनी र सुदूरपश्चिमबीच उपाधिका लागि भिडन्त हुने भएको छ ।

यसअघि दोस्रो सिजनको फाइनलमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो ।

यस सिजनको लिग चरणमा लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदा सुदूरपश्चिम १० अंक जोडेर दोस्रो भएको थियो । पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

यस सिजन लिग चरण र पहिलो क्वालिफायर गरी दुई पटक आमनेसामने भएका यी दुवै खेलमा लुम्बिनी विजयी भएको छ । अब फाइनलमा यी दुई टोली तेस्रो पटक भिड्नेछन् ।

पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम यस पटक पहिलो एनपीएल उपाधि जित्ने लक्ष्यमा हुनेछ भने लुम्बिनी लगातार दोस्रो पटक च्याम्पियन बन्ने दाउमा हुनेछ ।