जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार २०:३९

पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं, मंसिर ३ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा आर्थिक अनियमिततासम्बन्धी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौंले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले यसबारे जानकारी दिनुभएको हो ।

यही प्रकरणमा सीआईबीले बुधबार तत्कालीन दुई मन्त्रीसहित छ जना उच्चपदस्थ सरकारी अधिकारीलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल र उमेश ढुङ्गाना तथा उपसचिव निर्मला गुरुङ रहेका छन् ।

मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको आर्थिक अनियमितता र विदेशी मुद्रा अपचलनसम्बन्धी घटनामा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । यसअघि पनि यही प्रकरणमा व्यवसायी कैलाश खड्कासहित चार जना पक्राउ परिसकेका छन् ।