जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार २०:३२

बंगलादेशमा फेरि हिंसा भड्कियो, युनुसको पुर्ख्यौली घरमा आगजनी


काठमाडौं, मंसिर ३ । बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकहरूले आह्वान गरेको देशव्यापी बन्दका क्रममा हिंसात्मक घटना भएका छन् । प्रदर्शनकारीले पूर्वअन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसको पुर्ख्यौली घरमा समेत आगजनी गरेका छन् ।

बिहीबार देशका विभिन्न क्षेत्रमा बन्दको प्रभाव देखिएको छ । पछिल्लो १० दिनयता जारी प्रदर्शनका क्रममा कम्तीमा २८ जिल्लामा दर्जनौँ घरेलु बम विस्फोट र सवारीसाधनमा आगजनी भएको प्रहरीले जनाएको छ । घटनामा प्रहरी अधिकारी र सर्वसाधारण घाइते भएका छन् ।

प्रहरीका अनुसार बुधबार राति चट्टोग्राममा रहेको युनुसको पुर्ख्यौली घरमा आगजनी गरिएको हो । प्रयोगमा नरहेको घरको भुइँतलाको एउटा कोठामा ज्वलनशील पदार्थ फ्याँकिएको आशंका गरिएको छ । घरको माथिल्लो तलामा बस्दै आएका युनुसका परिवारका सदस्यहरू भने सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

हसिनाको पार्टी अवामी लिगले डिसेम्बरमा उहाँको प्रस्तावित स्वदेश फिर्तीका लागि समर्थन जुटाउन एक सातासम्म प्रदर्शन र र्‍याली आयोजना गरेको थियो । त्यसैको अन्तिम दिन बिहीबार देशव्यापी बन्द आह्वान गरिएको हो ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता छाडेर भारतमा निर्वासनमा बस्दै आएकी हसिनाले स्वदेश फर्कन सहज बनाउन नयाँ राहदानी र परिचयपत्रका लागि अनुरोध गर्नुभएको थियो । तर सरकारले उहाँको अनुरोध अस्वीकार गरेपछि समर्थकहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

हिंसा नियन्त्रणका लागि बंगलादेश सीमा सुरक्षा बलका ९७ प्लाटुन सात जिल्लामा परिचालन गरिएको छ । हसिनाका समर्थकहरूको उल्लेख्य उपस्थिति रहेका गोपालगन्ज र फरीदपुरसहितका जिल्लामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रदर्शनकै क्रममा मंगलबार राति बीएनपीका एक कार्यकर्ताको हत्या भएको थियो । त्यस्तै, सांस्कृतिक मामिलामन्त्री निताई रोय चौधरीको निवासबाहिर बम विस्फोट भएको र गोपालगन्जमा बीएनपीका एक सांसदको घर तथा पार्टी समर्थकका पसलमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

बुधबार दक्षिणी जिल्ला पिरोजपुरमा दुईवटा बसमा आगजनी हुँदा बस कम्पनीका एक कर्मचारीको जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

यसैबीच, प्रहरीले बिहीबार पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदलाई ढाकास्थित निवासबाट नियन्त्रणमा लिएको छ । सन् २०२४ को प्रदर्शनका क्रममा भएका हत्यासम्बन्धी अभियोग उनीमाथि लागेको प्रहरीले जनाएको छ ।

युनुसले स्थापना गर्नुभएको ग्रामीण बैंकका कम्तीमा ३७ शाखा तथा कार्यालयमा नोभेम्बर १० यता आगजनी वा आगजनीको प्रयास भएको बैंकले जनाएको छ । मंगलबार मध्यरातयता मात्रै थप १४ कार्यालयमा आक्रमण भएको बैंकको भनाइ छ ।

हसिनाविरुद्ध सन् २०२४ को आन्दोलन दबाउन घातक दमनको आदेश दिएको अभियोगमा स्थानीय अदालतले मृत्युदण्डको सजाय सुनाएको एक वर्ष पुगेको छ । बंगलादेश सरकारले हिंसामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने जनाएको छ ।