जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार १९:५६

लोकतन्त्र फिर्ता गरिछाड्ने एमालेको सङ्कल्प, आवश्यक परे आन्दोलनको तयारी गर्ने घोषणा


काठमाडौं, मंसिर ३ । नेकपा (एमाले) ले लोकतन्त्रको पुनर्बहाली र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आवश्यक परे आन्दोलनमा उत्रिने सङ्कल्प गरेको छ । आज सम्पन्न पार्टीको राष्ट्रिय भेलाले आगामी स्थानीय, प्रदेश र राष्ट्रिय सभा निर्वाचनको पूर्वतयारी गर्ने निर्णयसहित लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने घोषणा गरेको हो ।

काठमाडौंको कार्की बैंक्वेटमा मंसिर २ र ३ गते सम्पन्न एमालेको राष्ट्रिय भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव तथा सङ्कल्प पारित गर्दै यस्तो घोषणा गरेको हो । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न भेलामा देशभर तथा प्रवासबाट ३ हजार ४१४ जना प्रतिनिधि सहभागी भएका थिए ।

भेलाले पारित गरेको विशेष सङ्कल्पमा एमालेले आफूहरूले असंवैधानिक ढङ्गले अपहरित गरि खाेसिएकाे लोकतन्त्र फिर्ता गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेको छ । राष्ट्र, लोकतन्त्र र आन्दोलनको हितका लागि अग्रपङ्क्तिमा उभिएर बलिदान दिनसमेत तयार रहने उल्लेख गर्दै एमालेले पार्टीलाई वैचारिक, साङ्गठनिक र भावनात्मक रूपमा एकताबद्ध तथा सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

एमालेले गत वर्ष व्यहोर्नुपरेको राजनीतिक धक्कालाई चिर्दै पार्टीलाई पुनः निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने घोषणा पनि गरेको छ । सङ्कल्पमा भनिएको छ, ‘हामी एउटा लडाइँमा पराजित भएका हौँ, सिङ्गो युद्ध हारेका होइनौँ । आगामी निर्वाचनमार्फत यस सत्यलाई स्थापित गरिछाड्ने छौँ ।’

बालेन्द्र सरकारमाथि राजनीतिक प्रतिशोधको आरोप

राष्ट्रिय भेलाले पारित गरेको समसामयिक प्रस्तावमा वर्तमान बालेन्द्र सरकारको आठ महिनाको कार्यकाललाई राजनीतिक प्रतिशोध, मौलिक अधिकार हनन, संवैधानिक संस्थामाथिको हस्तक्षेप र स्वेच्छाचारी शासनका रूपमा चित्रण गरिएको छ ।

एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीले शपथ लिएको केही घण्टामै रातारात गिरफ्तार गरिएको घटनालाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भनेको छ । त्यसपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललगायत विभिन्न राजनीतिक दलका नेताहरूलाई अपमानपूर्वक गिरफ्तार गरिएको, प्रतिष्ठित व्यवसायीहरूलाई बिना कसुर पक्राउ गरेर तर्साउने काम भएको आरोप पनि लगाएको छ ।

त्यस्तै, संवैधानिक अङ्गका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा घण्टौँ बन्धक राखेर आतङ्कित पारिएको, राष्ट्रसेवक कर्मचारीलाई धम्क्याएर बदनियतपूर्ण निर्णय गराइएको तथा सञ्चारगृहका समाचार कक्षमा प्रहरी अनधिकृत रूपमा प्रवेश गर्ने र पत्रकारहरूलाई गिरफ्तार गर्ने काम भइरहेको एमालेको दाबी छ ।

स्वतन्त्र सञ्चारमाध्यमलाई विज्ञापनको स्रोत बन्द गरेर निस्तेज पार्न खोजिएको तथा ट्रेड युनियन र स्वतन्त्र विद्यार्थी युनियनमाथि संविधानविपरीत प्रतिबन्ध लगाइएको आरोप लगाउँदै एमालेले सरकारका यस्ता कदमको भर्त्सना गरेको छ ।

भदौ २३ र २४ को घटनाको न्यायिक छानबिन माग

एमालेले २०८२ भदौ २३ र २४ गते भएका घटनासँग सम्बन्धित प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । ती घटनापछाडिका विभिन्न षड्यन्त्रको पर्दा क्रमशः खुल्दै गएको दाबी गर्दै पार्टीले घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ ।

सरकारले छानबिनका प्रतिवेदन लुकाउने, राज्य विध्वंसमा संलग्नलाई संरक्षण गर्ने र राजनीतिक नेतृत्वविरुद्ध बदनियतपूर्ण मुद्दा तथा दुष्प्रचार चलाएर वास्तविकता लुकाउन खोजेको एमालेको आरोप छ ।

संविधान र सङ्घीयताप्रति सरकारको दृष्टिकोणमाथि पनि एमालेले प्रश्न उठाएको छ । सरकारले गठन गरेको कार्यदलले संविधानका २४५ वटा धारा संशोधन गर्न सुझाव दिएको र मन्त्रीहरूले प्रदेश खारेजीसम्बन्धी अभिव्यक्ति दिएको उल्लेख गर्दै एमालेले संविधानका आधारस्तम्भमाथि नै प्रहार गर्न खोजिएको टिप्पणी गरेको छ ।

राष्ट्रपति संस्था, संसद्, राजनीतिक दल, संवैधानिक अङ्ग, निजामती प्रशासन तथा सुरक्षा निकायको मानमर्दन भइरहेको बताउँदै पार्टीले कानुनी संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनाउन माग गरेको छ ।

सुकुम्बासी विस्थापनदेखि महँगीसम्म सरकारको आलोचना

राष्ट्रिय भेलाले सुकुम्बासी बस्तीमा डोजर चलाएर गरिएको विस्थापन, महँगी, कर वृद्धि, बेरोजगारी र आर्थिक सङ्कटलाई पनि प्रमुख मुद्दाका रूपमा उठाएको छ ।

सुकुम्बासी बस्तीमा गरिएको विस्थापनका क्रममा पाँच जनाले आत्महत्या गरेको उल्लेख गर्दै एमालेले अझै उनीहरूको उचित व्यवस्थापन हुन नसकेको जनाएको छ । घरायसी प्रयोजनमा प्रयोग हुने विद्युत्मा लगाइएको कर फिर्ता लिन र महँगी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

गत वर्ष सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय, नेताहरूको निजी सम्पत्ति तथा व्यावसायिक प्रतिष्ठानमा भएको तोडफोड र आगजनीमा संलग्नलाई तत्काल कारबाही गर्न पनि एमालेले माग गरेको छ । व्यवसायीलाई त्रसित पार्ने गतिविधि रोक्दै लगानीमैत्री वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा उठाउन माग

प्रधानमन्त्रीको भारत भ्रमणको सन्दर्भमा पनि एमालेले सरकारलाई राष्ट्रिय हितका विषयमा स्पष्ट अडान राख्न आग्रह गरेको छ ।

सीमा समस्या, असमान सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन, विषम वाणिज्य प्रबन्ध, बढ्दो व्यापार घाटा, हवाई प्रवेश बिन्दुमा भइरहेको असहयोग तथा दशकौँदेखि रोकिएका परियोजनाको कार्यान्वयनलाई भ्रमणका प्रमुख एजेन्डा बनाउनुपर्ने एमालेको प्रस्ताव छ ।

नेपाल–भारत सम्बन्ध सार्वभौम समानता, पारस्परिक लाभ र सम्मानमा आधारित हुनुपर्ने उल्लेख गर्दै यी मुद्दालाई इतिहासको बोझ ठानेर पन्छाउन नहुने एमालेको भनाइ छ । समस्याको समाधानका लागि स्पष्ट समयतालिकासहितको मार्गचित्र तय गर्न पनि पार्टीले माग गरेको छ ।

भोटेकोशी बाढीपीडितको पुनर्स्थापना गर्न माग

भेलाले भोटेकोशीमा आएको विनाशकारी बाढी तथा त्यसपछि बुढीगण्डकी र कालीगण्डकीमा आएका बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

बाढीबाट ठूलो मानवीय र भौतिक क्षति भएको उल्लेख गर्दै एमालेले पीडितहरूको तत्काल र दिगो पुनर्स्थापना गर्न सरकारसँग माग गरेको छ । राहत कोषमा १८ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भए पनि पीडितले न्यूनतम सुविधासमेत पाउन नसकेको एमालेको दाबी छ ।

बाढी प्रभावित बालबालिका, गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने एमालेको माग छ । बाढीबाट क्षतिग्रस्त पुल तथा सडक तत्काल मर्मत गरी यातायात सम्पर्क विच्छेद भएका बस्तीलाई जोड्न र वैज्ञानिक अध्ययनका आधारमा विस्थापित बस्तीको पुनर्निर्माण सुरु गर्न पनि आग्रह गरेको छ ।

भेलाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमप्रति चिन्ता व्यक्त गर्दै जलवायु न्यायका लागि निरन्तर सङ्घर्ष गर्ने सङ्कल्प गरेको छ ।

संविधान र लोकतन्त्रका पक्षधर दलसँग सहकार्यको आह्वान

एमालेले राष्ट्रिय हितको संरक्षण, लोकतन्त्र र संविधानको रक्षा तथा जनसरोकारका विषयमा सार्थक संवाद र सहकार्यका लागि सबै देशभक्त, लोकतन्त्र तथा संविधानका पक्षधर राजनीतिक दल, सचेत नागरिक र बौद्धिक समुदायलाई आह्वान गरेको छ ।

त्यस्तै, बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै सडकको स्तरोन्नति, सवारीसाधनको गुणस्तर, चालकको सीप र अनुशासन कायम गर्न तथा दुर्घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ ।

अन्तर्राष्ट्रिय परिस्थितिबारे धारणा सार्वजनिक गर्दै एमालेले प्यालेस्टाइन, इरान, क्युबा, भेनेजुएला, लेबनान र युक्रेनलगायत मुलुकमा भइरहेको बाह्य हस्तक्षेप, नाकाबन्दी तथा आक्रमणको निन्दा गरेको छ । प्यालेस्टाइनी जनताको स्वतन्त्र राज्यको मागलाई समर्थन गर्दै म्यान्मारमा लोकतन्त्र पुनर्बहालीको मागसमेत गरेको छ ।

पार्टीभित्र शुद्धीकरण र नेतृत्व सुधारको सङ्कल्प

राष्ट्रिय भेलाले पार्टीभित्र देखिएका कमजोरी र विकृतिलाई सच्याउँदै सङ्गठनलाई जनतासँग जोड्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

नेता तथा कार्यकर्तामा देखिएका विलासी शैली, औपचारिकता, जनताबाट टाढिने प्रवृत्ति र यान्त्रिकतालाई अन्त्य गर्ने एमालेको सङ्कल्प छ । आर्थिक तथा आचरणगत विचलन, विकृति र भ्रष्टताप्रति निर्मम हुँदै स्वच्छ, जनसेवी र भरोसायोग्य नेतृत्व स्थापित गर्ने घोषणा गरिएको छ ।

पार्टीका नेता तथा कार्यकर्तालाई जनताको बीचमा गएर सुझाव, गुनासा र आलोचना सुन्न, युवा पुस्तासँग संवाद र सहकार्य गर्न तथा उनीहरूको सहभागिता सुनिश्चित गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, निर्वाचनमा निर्धारित विधि र जनता तथा कार्यकर्ताको भावनाअनुसार स्वस्थ प्रक्रियाबाट उम्मेदवार छनोट गर्ने र पार्टीको निर्णयलाई आत्मसात गर्दै पार्टीका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गुटबन्दी, अस्वस्थ प्रतिस्पर्धा र नकारात्मकता अन्त्य गर्ने, असहमतिलाई सम्मान गर्ने, जिम्मेवारीको उचित बाँडफाँट गर्ने तथा पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सङ्कल्प पनि भेलाले गरेको छ ।

ओलीद्वारा जनताको बीचमा जान निर्देशन

भेलामा अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा सम्बोधन गर्दै पार्टीले व्यहोरेको धक्का चुनावी परिणामबाट मात्र नभई सरकार अपदस्त गरिएदेखि सुरु भएको बताउनुभएको थियो ।

उहाँले लोकतन्त्रको पुनर्बहालीका लागि जनताको पुनर्जागरणको नेतृत्व एमालेले गर्ने बताउँदै भदौ २३ र २४ गतेका घटना तथा पार्टीमाथि भइरहेको घेराबन्दीलाई गम्भीर रूपमा बुझ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।

पुनर्जागरणका लागि पार्टीका सबै नेता तथा कार्यकर्ता जागृत भएर प्रतिबद्धता र सङ्कल्पसहित जनताको बीचमा जानुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

भेलामा वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने विषयमा, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि सङ्कल्प गर्ने विषयमा र उपाध्यक्ष विष्णु पौडेलले एमालेले देश र जनताको पक्षमा गरेका महत्वपूर्ण कार्यबारे प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी महासचिव शंकर पोखरेलले पार्टीको शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीसम्बन्धी प्रशिक्षणमूलक सम्बोधन गर्नुभएको थियो ।

स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले भेलामा समसामयिक प्रस्ताव तथा सङ्कल्प प्रस्तुत गर्नुभएको थियो । भेलाको उद्घाटन तथा बन्दसत्रको सञ्चालन सचिव एवं सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालले गर्नुभएको थियो भने सचिव पद्मा अर्यालले स्वागत गर्नुभएको थियो ।

राष्ट्रिय भेलाबाट पारित प्रस्तावले एमाले आगामी निर्वाचनको तयारीसँगै पार्टीको आन्तरिक पुनर्गठन, सङ्गठन सुदृढीकरण र लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनतासम्बन्धी मुद्दालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि अघि बढाउने दिशामा उन्मुख भएको देखाएको छ ।