जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार २०:४२

नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त


काठमाडौं, मंसिर ३ । नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको छ ।

बिहीबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा सेनाले श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको हो ।

नवनियुक्त प्रवक्ता श्रेष्ठले नेपाली सेनाले गर्दै आएका विकास निर्माण, विपद् व्यवस्थापनलगायतका कामबारे आम नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले भ्रामक समाचार तथा सूचनालाई चिर्न पनि आफू जिम्मेवार रहने बताउनुभयो । नेपाली सेना र सञ्चारजगत्बीचको सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ, पारदर्शी र प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ छ ।

सैनिक गतिविधिसम्बन्धी सूचना प्रवाह प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन भूमिका खेल्ने पनि उहाँले बताउनुभयो ।

श्रेष्ठ २०४८ सालमा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गर्नुभएको थियो । उहाँले यसअघि सेनाका विभिन्न विभागमा रहेर जिम्मेवारी सम्हालिसक्नुभएको छ ।