जनता टाइम्स

३ मंसिर २०८३, बिहिबार २१:०९

इनम प्रकरणमा प्रधानमन्त्री सचिवालयमाथि प्रश्नैप्रश्न, रास्वपा भने मौन


काठमाडौं, मंसिर ३ । बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री कार्यालय र सचिवालयका सदस्यहरूमाथि प्रश्न उठ्ने क्रम बढेको छ । प्रहरी अनुसन्धानमा प्रधानमन्त्री सचिवालयका कर्मचारीले चासो देखाएको भिडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालय थप विवादमा परेको हो ।

सार्वजनिक भिडियोमा प्रधानमन्त्री सचिवालयमा कार्यरत सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारीले जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी राजु अधिकारीसँग इनम सापकोटाको अनुसन्धानबारे प्रश्न गरिरहेको देखिन्छ ।

भिडियोमा अधिकारीले इनमको मोबाइल कहाँ छ, अनुसन्धानमा के नयाँ तथ्य फेला परेका छन् र अन्य व्यक्तिसँग उनको सम्बन्ध कस्तो छ भन्ने विषयमा जिज्ञासा राख्नुभएको छ ।

प्रधानमन्त्री सचिवालयका अधिकारी असोज १६ गते जिल्ला प्रहरी परिसर पुगेको बताइएको छ । प्रहरी स्रोतले इनम प्रकरणबारे सोधखोज भएको जनाएको छ । यद्यपि, प्रधानमन्त्री कार्यालय स्रोतले भने नियमित प्रहरी ब्रिफिङ लिन गएको र त्यसक्रममा इनमबारे पनि जानकारी लिइएको दाबी गरेको छ ।

यसअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेञ्जनकार अर्थात् बेनले इनमको मोबाइल आफ्नो घरमा राखेर आफूसँग सम्बन्धित केही एसएमएस मेटाएको आरोपसमेत सार्वजनिक भएको थियो । बरामद मोबाइल फरेन्सिक परीक्षण गर्नुअघि दुई दिनसम्म बेनको घरमा रहेको दाबीसमेत सञ्चारमाध्यममा आएको छ । तर जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानका प्रमाण अन्य व्यक्तिलाई नदिएको भन्दै उक्त समाचारको खण्डन गरेको छ ।

प्रधानमन्त्री सचिवालयका सदस्यहरूमाथि सार्वजनिक रूपमा प्रश्न उठे पनि उनीहरूबाट औपचारिक प्रतिक्रिया आएको छैन । जेनजी मुभमेन्ट नेपालले बेन, विशाल अधिकारी, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र प्रधानमन्त्रीका सूचना प्रविधि परामर्शदाता भनिएका चिराग श्रेष्ठलाई पदबाट हटाएर निष्पक्ष अनुसन्धान गर्न माग गरेको छ ।

यस प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेताहरूले पनि प्रश्न उठाएका छन् । एमाले महासचिव शंकर पोखरेलले अनुसन्धानमा राज्यको अनुचित हस्तक्षेप देखिएको टिप्पणी गर्नुभएको थियो । कांग्रेस महामन्त्री डिला संग्रौलाले पनि प्रधानमन्त्री सचिवालयका व्यक्तिहरूमाथि उठेका प्रश्नबारे सरकार र सत्तारूढ दलले जवाफ दिनुपर्ने बताउनुभएको थियो ।

यता, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी भने यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्न मौन देखिएको छ । पार्टी प्रवक्ता जगदीश खरेलले भने प्रधानमन्त्रीले गर्ने निर्णयमा पार्टीको साथ रहने बताउनुभएको थियो । बेनका विषयमा पार्टीले छुट्टै धारणा नबनाएको उहाँको भनाइ थियो ।

इनम सापकोटा गत असोज १३ गते पक्राउ परेपछि यो प्रकरण विस्तार हुँदै गएको छ । उनीसँग सम्पर्क देखिएको भन्दै लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट र महेश श्रेष्ठ पनि पक्राउ परिसकेका छन् । यसअघि सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पनि इनमसँग जोडिएको विषय सार्वजनिक भएपछि बर्खास्त हुनुभएको थियो ।

इनम प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीश तथा अन्य उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्कसम्बन्धी विषयसमेत चर्चामा आएको छ । प्रहरीले अहिले सापकोटामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।