हेटौँडा, मंसिर ३ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सहर केन्द्रित विकासभन्दा पहिले ग्रामीण क्षेत्रलाई स्वास्थ्य, शिक्षा र पूर्वाधारको पहुँचमा जोड दिनुपर्ने बताउनुभएको छ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा आज आयोजित छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै मुख्यमन्त्री थापाले ग्रामीण क्षेत्रको विकास र त्यहाँका नागरिकको जीवनस्तर सुधारलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो। “सहरभन्दा पनि पहिला ग्रामीण क्षेत्रलाई स्वास्थ्य, शिक्षा र पूर्वाधारमा जोड दिनुपर्छ भन्ने मेरो मान्यता हो,” उहाँले भन्नुभयो, “गाउँमा मानिसहरू कसरी टिकाइराख्ने भन्ने विषयमा अहिले बागमती प्रदेश सरकारले काम गरिरहेको छ।”
मुख्यमन्त्री थापाले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्ने जिम्मेवारी स्थानीय तहको भएकाले स्थानीय सरकारले अघि सारेका विकासका दृष्टिकोण र योजनालाई प्रदेश तथा संघीय सरकारले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो। “प्रत्यक्ष जनतासँग जोडिएर काम गर्ने भनेको स्थानीय तहले हो। स्थानीय तहको विकासको दृष्टिकोणलाई प्रदेश र संघीय सरकारले होस्टेमा हैँसे गर्नुपर्छ,” उहाँले भन्नुभयो।
गाउँबाट हुने बसाइसराइ रोक्न तीनवटै तहका जनप्रतिनिधिले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो। ग्रामीण क्षेत्रमा आधारभूत सेवा तथा सुविधाको विस्तार गर्न सके मात्रै नागरिकलाई आफ्नै गाउँमा बस्न सक्ने वातावरण निर्माण गर्न सकिने उहाँले बताउनुभयो।
त्रिपुरासुन्दरी र गंगा-जमुना गाउँपालिकाका ठूला पूर्वाधार योजनालाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै मुख्यमन्त्री थापाले साना योजनाहरूको समेत स्रोत सुनिश्चित गरेर कार्यान्वयन गरिने बताउनुभयो। “त्रिपुरासुन्दरी र गंगा-जमुनाका केही पूर्वाधारका ठूला योजनालाई हामीले बहुवर्षीय योजना बनाउँदै छौँ। साना योजनाहरूलाई स्रोत सुनिश्चितता गरेर काम गर्दै छौँ,” उहाँले स्पष्ट पार्नुभयो।
बागमती प्रदेशका सबै पालिका र वडाको समानुपातिक विकास आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले सडक तथा पूर्वाधारको पहुँचबाट पछाडि परेका स्थानीय तहलाई विशेष प्राथमिकतामा राखेर प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “विकासको सन्दर्भमा प्रदेश सरकार र मैले सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। बागमती प्रदेशका सबै पालिका र वडाहरूको समान विकास गर्ने गरी काम गर्नुपर्ने छ,” उहाँले भन्नुभयो, “पछाडि परेका र पक्की सडक नपुगेका स्थानीय तहलाई फोकस गरेर हामी काम गर्छौँ।”
स्थानीय तहमा कतिपय काम कानुनी प्रक्रियाभन्दा व्यवहारिक अभ्यासका आधारमा भइरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यस्ता कामलाई कानुनी दायराभित्र ल्याएर व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो। कानुनअनुसार काम गर्ने प्रणाली विकास गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो।
स्वास्थ्य क्षेत्रको विकासलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले आफू विगतमा स्वास्थ्य मन्त्री रहँदा समेत यस क्षेत्रका स्वास्थ्य संस्थाको सुधार र सेवा विस्तारका लागि काम गरेको स्मरण गर्नुभयो। उहाँले त्रिपुरासुन्दरी नगर अस्पतालमा चिकित्सक पठाउनेदेखि बजेट व्यवस्थापन गर्नेसम्मका काम प्रदेश सरकारबाट भएको जानकारी दिनुभयो। त्यसै गरी गंगा-जमुना गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि समेत बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो।
ग्रामीण क्षेत्रको समग्र विकास, स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरीय शिक्षा, सडक तथा अन्य पूर्वाधार निर्माण र स्थानीय आवश्यकतामा आधारित योजनाको कार्यान्वयनमार्फत गाउँमै बस्न सक्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री थापाको भनाइ थियो।













प्रतिक्रिया दिनुहोस्