काठमाडौं, मंसिर ४। निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनको तयारीका सन्दर्भमा आज राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्दै छ।
आयोगले आज बिहान ११ः३० बजे राष्ट्रिय राजनीतिक दलका प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरेको हो। स्थानीय तथा प्रदेश तहको निर्वाचनका विषयमा दलका प्रतिनिधिहरूसँग आवश्यक परामर्श र सुझाव लिन छलफल आयोजना गरिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा पूरा हुँदैछ। कार्यकाल सकिन लागेसँगै आयोगले नयाँ निर्वाचनको मिति घोषणा तथा निर्वाचन सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको हो।
आजको छलफलमा निर्वाचनको मिति निर्धारण, निर्वाचन व्यवस्थापन तथा आवश्यक पूर्वतयारीका विषयमा राजनीतिक दलहरूको सुझाव लिइने आयोगले जनाएको छ।
राष्ट्रिय मान्यता प्राप्त दलहरूसँगको छलफल सम्पन्न भएपछि आयोगले आयोगमा दर्ता भएका अन्य राजनीतिक दलका प्रतिनिधिहरूसँग पनि परामर्श गर्ने कार्यक्रम तय गरेको छ। निर्वाचनलाई समयमै, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले आयोगले राजनीतिक दलहरूसँग छलफल अघि बढाएको हो।













प्रतिक्रिया दिनुहोस्