काठमाडौं, पुस २६ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार अभियोगमा जेल सजाय सुनाइएपछि क्रिकेटर लामिछानेलाई निलम्बन गरेको हो ।
काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा बुधबार ८ वर्ष जेल र ५ लाख जरिवाना सुनाएपछि क्यानले बिहीबार लामिछानेलाई निलम्बन गरेको हो । क्यान अध्यक्ष चतुरबहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको जनाइएको छ ।
पुस १३ गते लामिछानेलाई बलात्कारी ठहर गर्ने न्यायाधीश शिशिरराज ढकालकै बुधबारको इजलासले सजाय निर्धारण गरेको हो । अदालतले लामिछानेलाई सजाय निर्धारण गर्दा पीडितको उमेर, पीडक लामिछानेको उमेर, घटना हुँदाको अवस्था, पीडकको सामाजिक हैसियत र पीडितलाई परेको मानसिक असर जस्ता ५ आधार तय गरेको छ ।
‘प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३.ई) बमोजिम ८ वर्ष कैद र दफा २१९ (३ क, ग) बमोजिम तीन लाख रुपैयाँ जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असरसमेतलाई विचार गरी’ पाँच कारण खुलाएलगत्तै अदालतले जारी गरेको संक्षिप्त फैसलामा भनिएको छ, ‘दफा २२८ बमोजिम प्रतिवादीलाई भएको जरिवाना तीन लाख र दुई लाख रकम क्षतिपूर्तिबापत प्रतिवादी लामिछानेबाट पीडित गौशाला २६ लाई भराई दिने ठहर्छ ।’
प्रतिक्रिया दिनुहोस्