वीरगन्ज, ६ फागुन । वीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ । वीरगन्जको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौर्की इनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका–१७ निवासी २४ वर्षीय अमित गुरुङ र २४ वर्षीया सुनिता विकलाई १ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सडकमा प्रहरीले बा. ९५ प २३०३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा त्यसमा सवार दुई युवक पनि खैरो हेरोइनसहित पक्राउ परेको थापाले बताउनुभयो ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–५ का २४ बर्षिय सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाँउपालिका–२ का १९ बर्षिय विजय साह रहेका छन् । उनीहरूको साथबाट पनि १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो । खैरो हेरोइनसहित पक्राउ परेका चारै जनाविरुद्ध लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्