काठमाडौं, ८ असार । दाङमा ४ सय शय्याको शिक्षण अस्पताल बन्ने भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभाले सो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले शिक्षण अस्पताल निर्माणको काम सुरु गर्ने निर्णय गरेको छ ।
बैठकले शैक्षिक, अनुसन्धानात्मक र व्यवस्थापकीय कार्यक्रमसहित नीति, योजना र बजेट स्वीकृत गर्नुका साथै शिक्षक–कर्मचारी सेवा सर्त नियमावली संशोधन र प्रतिष्ठानको लोगो परिवर्तनसमेत गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले नेपाललाई स्वास्थ्य विज्ञानको आदि भूमि भन्दै प्रतिष्ठानलाई पूर्वाधार र जनशक्ति दुवै हिसाबले सबल बनाउँदै गुणस्तरीय शिक्षा र सेवा दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्य मन्त्री प्रदीप पौडेललगायतको सहभागितामा सम्पन्न बैठकमा उपकुलपति डा विकास लामिछानेले ४ सय शय्याको अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन थालिएको जानकारी दिनुभयो।
सभाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७४ करोड ४१ लाख रुपैँयाको बजेट पनि पारित गरेको छ।
प्रतिक्रिया दिनुहोस्