काठमाडौं, असोज ८ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौला (ज्वाला)ले कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सार्वजनिक भएको उक्त अडियोप्रति सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।
सांसद संग्रौलाले कञ्चनपुरका भन्सार अधिकृतले भन्सारमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसँग अत्यन्तै तल्लो स्तरको तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय सार्वजनिक भएको बताउनुभयो।
उहाँका अनुसार ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरी महानिरीक्षक र गृहमन्त्रीलाई समेत धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय अडियोमार्फत सार्वजनिक भएको छ। संग्रौलाले भन्नुभयो, ‘ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र स्वयं गृहमन्त्रीलाई समेत ‘स्वाट्टै हान्छु’ भन्दै कानुन, मर्यादा र चेन अफ कमान्डको धज्जी उडाएका छन्।’
‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयसमेत स्पष्ट हुनुपर्ने बताउँदै उहाँले उक्त विषयमा छानबिन आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यो ‘स्वाट्टै हान्छु’ भनेको के हो ? फोन हान्छु भनेको हो कि ? तिमीलाई भेटेर हान्छु भनेको हो कि ? अथवा तिम्रो पद खान्छु भनेको हो ?’
सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सुरक्षा अधिकारीलाई भन्सार अधिकृतबाटै गैरजिम्मेवार तथा धम्कीपूर्ण भाषा प्रयोग भएको भनिएको विषय गम्भीर रहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘आफ्नो जिम्मेवारी र सीमाभित्र रहेर राजस्व चुहावट नियन्त्रण गर्न खोज्ने सुरक्षा निकायका अधिकारीलाई सीमा क्षेत्रका भन्सार अधिकृतले नै यसरी गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग गर्नु गम्भीर चिन्ताको विषय हो।’
उक्त घटनाले राष्ट्रिय सुरक्षा निकाय, निजामती सेवाको मर्यादा र राज्य संयन्त्रको छविमा असर पार्न सक्ने भन्दै सांसद संग्रौलाले अडियो प्रकरणको सत्यतथ्य तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रिय सुरक्षा र निजामती सेवाको मर्यादामा आघात पुर्याउने उक्त अडियो प्रकरणको तुरुन्त र निष्पक्ष छानबिन होस्, यथाशीघ्र छानबिन होस्।’
मातहतका निकाय तथा उच्च अधिकारीलाई धम्क्याएको पुष्टि भए सम्बन्धित भन्सार अधिकृतमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो।












प्रतिक्रिया दिनुहोस्