जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार ०८:३५

नयाँ रंगसहितको १ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा


काठमाडौं, असोज ८ । नेपाल राष्ट्र बैंकले नयाँ रंग र केही नयाँ सुरक्षण विशेषतासहितको १ हजार रुपैयाँ दरको नोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकले साविककै आकारमा ‘सिरिज २०२५’ अंकित नयाँ १ हजार रुपैयाँको नोट प्रचलनमा ल्याएको हो। मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै बिहीबारदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ।

नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागमा सगरमाथाको चित्र तथा लालीगुराँसको पानीछाप राखिएको छ।

दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी नोटको दायाँतर्फको तल्लो भागमा १ हजार रुपैयाँ जनाउने रोमन अक्षर ‘एम’ राखिएको छ।

त्यस्तै, सगरमाथाको बायाँतर्फ र पानीछापको दायाँतर्फ १०/१० वटा तेर्सा रेखा राखिएको छ। नोटको अग्रभागमा सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र भगवतीको चित्रसमेत राखिएको छ।

नयाँ नोटको पछाडिको मुख्य आकर्षणका रूपमा चितवनस्थित सरकारी हात्तीसारका जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ।

नयाँ १ हजार रुपैयाँको नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटको तल्लो भागमा ‘वि.सं. २०८२’ को सिरिज उल्लेख गरिएको छ।

राष्ट्र बैंकका अनुसार नयाँ नोट चलनचल्तीमा आए पनि यसअघि प्रचलनमा रहेका १ हजार रुपैयाँका नोटसमेत कानुनी रूपमा चलनचल्तीमा रहनेछन्।