काठमाडौं, असोज ८ । डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटनामा परेको छ। बिहीबार बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा जहाजको पछाडितर्फ दायाँपट्टिको एउटा पाङ्ग्रा खुस्किएपछि जहाज दुर्घटनामा परेको हो।
डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईंका अनुसार नेपालगञ्जबाट डोल्पा गएको सीता एयरको जहाज अवतरणका क्रममा पाङ्ग्रा खुस्किएर दुर्घटनामा परेको हो।
‘नेपालगञ्जबाट आएको जहाज अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएको हो। जहाजमा सामान्य क्षति भए पनि सबै यात्रु सकुशल रहेका छन्,’ उहाँले भन्नुभयो।
उहाँका अनुसार जहाजमा चालक दलका सदस्यसहित १३ जना यात्रु रहेका थिए। यात्रुमध्ये ११ जना पुरुष र ७ जना विदेशी नागरिक रहेका छन्।
दुर्घटनापछि जहाजको प्राविधिक जाँच भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईंले जानकारी दिनुभयो। प्राविधिक परीक्षणपछि मात्रै दुर्घटनाको थप विवरण खुल्ने जनाइएको छ।












प्रतिक्रिया दिनुहोस्