जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार ०८:२०

एसियन गेम्स पुरुष क्रिकेट आजदेखि सुरु, नेपालको खेल शुक्रबार


काठमाडौं, असोज ८ । २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल आजदेखि जापानमा सुरु भएका छन्।

जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा हुने पुरुष क्रिकेटतर्फ आज दुई खेल हुँदैछन्। समूह ‘ए’ अन्तर्गत बिहान पौने ६ बजे अफगानिस्तान र जापानबीच खेल हुनेछ। समूह ‘बी’ अन्तर्गत पौने ११ बजे हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले भने प्रतियोगितामा आफ्नो पहिलो खेल शुक्रबार खेल्नेछ। नेपाल र अफगानिस्तानबीचको खेल शुक्रबार बिहान पौने ११ बजे सुरु हुनेछ।

नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँगै रहेको छ। तीन टोली रहेको समूहमा नेपालले कम्तीमा एक खेल जित्न सके क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ।

क्वाटरफाइनलमा पुगे नेपालले भारत वा श्रीलंकामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसअघिको एसियाली खेलकुदमा पनि नेपाल क्वाटरफाइनल पुगेको थियो। क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।